कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

भोजपुरबाट उद्धार गरिएकाकाे स्वास्थ्य परीक्षण भएन

रमेशचन्द्र अधिकारी

धनकुटा — कोरोना भाइरसको उच्च जोखिममा रहेका क्षेत्रबाट भोजपुर जिल्लाका विभिन्न स्थानमा पुगेका ६८ जना व्यक्तिको स्वास्थ्य परीक्षण हुन सकेको छैन । यसबाट जोखिम बढ्न सक्ने स्थानीयको गुनासो छ ।

भोजपुरबाट उद्धार गरिएकाकाे स्वास्थ्य परीक्षण भएन

सप्तरी, उदयपुर, सुनसरीबाट धनकुटाको सहिदभूमि गाउँपालिकास्थित त्रिवेणी हुँदै भोजपुरका विभिन्न स्थानमा उनीहरु पुगेको हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । उनीहरु लकडाउनका कारण धनकुटा, सुनसरी, उदयपुर र भोजपुरको सीमावर्ती त्रिवेणीमा पैदल हिँडेर पुगेका थिए । अलपत्र परेकामध्ये ४४ जनालाई गत बिहिबार र थप २२ लाई शुक्रबार राति उद्धार गरिएको सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले बताए । उनीहरु सुनसरीको बराहा नगरपालिका तथा उदयपुरको बेलका नगरपालिका नाका हुँदै पुगेका थिए । उक्त नाकामा कडाइ नगरिएका कारण जोखिम बढ्ने अवस्था रहेको स्थानीय शिक्षक भानुभक्त राईको गुनासो छ।

उद्धार गरिएका अधिकांश भोजपुरको हतुवागढी, आमचोक र रामप्रसाद राई गाउँपालिकाका सर्वसाधारण रहेको जनाइएको छ । उनीहरुलाई भोजपुरको हसनपुरस्थित विद्यालयमा तयार गरिएको क्वारेन्टाइनमा एक दिन राखेर घर पठाइएको थियो । जोखिमपूर्ण स्थानबाट आएकाको स्वास्थ्य परीक्षणमा ढिलाई भएको हतुवागढी गाउँपालिकाका अध्यक्ष राईले बताए । स्वास्थ्य जाँच गर्ने प्रविधि पुऱ्याउन ढिला भएको राईको भनाइ छ । बिहीबार मात्र हतुवागढी ६ होम्ताङका एक युवामा कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि उक्त क्षेत्रमा लकडाउनमा कडाइ गरिएको अध्यक्ष राईले उल्लेख गरे ।

प्रकाशित : वैशाख १२, २०७७ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?