लकडाउनमा तस्करी बढ्यो 

भरत जर्घामगर

सिरहा — लकडाउनको मौका छोपी सिरहाको वनक्षेत्र र खोलाबाट रातको समयमा गिट्टी, बालुवा, ढुंगा, काठ तस्करी हुन थालेपछि सुरक्षाकर्मीले निगरानी सुरु गरेका छन् । लहानस्थित खुट्टी खोलाबाट गिट्टी, बालुवा ओसार्दै गरेको अवस्थामा प्रहरीले सातवटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ ।

नदी क्षेत्रबाट रातको समयमा गिट्टी, बालुवा ओसारपसार हुन थालेपछि सुरक्षा गस्ती बढाइएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरद थापा क्षेत्रीले जानकारी दिए । जिल्लाका झिरहरी, सर्रे, गागन, खुट्टी, कमलालगायत खोलाका केही क्षेत्रलाई वनले निषेधित घोषणा गरेको छ ।

लकडाउनमा उत्तरवर्ती चुरेक्षेत्रका सामुदायिक र राष्ट्रिय वनक्षेत्रबाट पनि काठ, ढुंगा तस्करी हुन थालेको छ । कृष्ण सामुदायिक वनक्षेत्र आसपासबाट रातको समयमा सखुवा प्रजातिको रूख काटी तस्करी हुन थालेपछि उपभोक्ता समितिले वनलाई जानकारी गराएको थियो ।

डिभिजन वन कार्यालय सिरहाका डिभिजनल वन अधिकृत सुभाषचन्द्र दासले लकडाउनमा काठ तस्करी हुन थालेपछि गस्ती सुरु गरिएको बताए ।

लागूऔषध र मदिरा बरामद

लकडाउनको समयमा लागूऔषध ओसारपसारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सिरहा नगरपालिका–१५ का बमशंकर कुमार यादव र सोही नगरपालिका–१६ का १८ वर्षीय गोविन्द कुमार यादव लागूऔषध डाइलेक्स ४५ बोतलसहित पक्राउ परेका हुन् ।

गस्ती टोलीले उनीहरूलाई विष्णुपुर गाउँपालिका–१ भोलाबाबा चौकमा फेला पारेको हो । यसै गरी सशस्त्र प्रहरीले सिरहाको कुसुन्डीस्थित दशगजाबाट तस्करहरूले भारततर्फ लैजाँदै गरेको ३६ कार्टुन सोफी मदिरा बरामद गरेको छ ।

प्रकाशित : वैशाख ९, २०७७ १४:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?