कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बीपी प्रतिष्ठानमा सय शय्याको कोरोना उपचार केन्द्र बन्दै 

प्रदीप मेन्याङ्बो

सुनसरी — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० आईसीयूसहितको कोभिड–१९ उपचार केन्द्रको निर्माण तीव्र पारिएको छ । सय शय्याको केन्द्र वैशाख १२ देखि सञ्चालनमा ल्याउने तयारी छ ।

बीपी प्रतिष्ठानमा सय शय्याको कोरोना उपचार केन्द्र बन्दै 

कोरोना संक्रमित अझ बढ्न सक्ने जोखिमलाई ध्यानमा राखी आवश्यक उपकरणसहितको छुट्टै उपचार केन्द्र बनाउन लागिएको हो । प्रतिष्ठानका अनुसार यहाँ लेभल ३ को कोराना उपचार केन्द्र संचालन हुनेछ । सरकारले मेची अस्पताल र कोसी अस्पताललाई लेभल १ र २ सम्मको उपचार गर्ने केन्द्रका रूपमा अघि सारेको छ ।

थप संवेदनशील अवस्थामा पुगेका संक्रमितलाई प्रतिष्ठानमा उपचार गरिने उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले बताए । उक्त केन्द्रको लागत १२ करोड ५० लाख रुपैयाँ छ । ‘निर्माणाधीन केन्द्रमा १० आईसीयू बेड जडानका लागि डिजाइनअनुसार काम भइरहेको छ । आगामी वैशाख १२ देखि सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको छ,’ गिरीले भने । उनका अनुसार यहाँ सिटिस्क्यान, एमआरआई, अप्रेसन थिएटर, प्रयोगशाला र एक्सरे मेसिनहरू जडान गरिनेछन् ।

चार वर्षअघि ७ करोड रुपैयाँमा लागतमा निर्मित द्वन्द्वपीडित पुनःस्थापना केन्द्रको भवनलाई कोरोना उपचारमा प्रयोगमा ल्याइन लागेको हो । उक्त भवन प्रतिष्ठानको हाडजोर्नी विभाग मातहत थियो ।


कोरोना उपचार केन्द्र सञ्चालनमा ल्याउन तीव्र गतिमा काम भइरहेको अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहले बताए । उनका अनुसार अहिले कोरोना उपचारलाई लक्षित गरी फिवर क्लिनिक, हेल्प डेस्क र २० बेडको आइसोलेसन वार्ड सञ्चालनमा छ ।

प्रतिष्ठानको माइक्रोबायोलोजी विभागले मोलिकुलर पोलिमर चेन रिएक्सन (पीसीआर) विधिबाट थ्रोट स्वाब परीक्षण गरिरहेको छ । डा. साहले भने, ‘ओपीडीबाहेक मुख्य आकस्मिक कक्ष, बालरोग र स्त्री तथा प्रसूतिको आकस्मिक कक्ष, वार्डका बिरामीको उपचार सेवा जारी छ ।’ कोरोना उपचार केन्द्र सञ्चालनसँगै वैशाख १३ देखि अनलाइनबाटै पुर्जी काट्ने, बिल पेमेन्ट गर्ने र रिपोर्ट हेर्न मोबाइल एप्स तयार भइरहेको प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित : वैशाख ८, २०७७ १५:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?