संक्रमितबारे जानकारी दिन किन ढिलाइ ?

जितेन्द्र साह

विराटनगर — भरपर्दो मानिने स्वाब परीक्षणमा एकैपटक १२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि बिहान विराटनगरस्थित कोसी अस्पतालको कोरोना वार्डका चिकित्सक एवं स्वास्थ्यकर्मी अचम्मित भएका थिए ।

संक्रमितबारे जानकारी दिन किन ढिलाइ ?

यहाँ कोरोना परीक्षण प्रयोगशाला सञ्चालनमा आएदेखि खटिएका चार प्राविधिक एवं सहयोगीलाई घर जान नदिइ विराटनगरको एक होटेलमा राखिएको छ ।

‘यो अघिसम्म सबै परीक्षणहरुको रिपोर्ट नेगेटिभ आएकाले मुलुकभरमै प्रदेश १ सबैभन्दा सुरक्षित लागेको थियो,’ वार्ड प्रमुख डा. लक्ष्मीनारायण यादवले भने, ‘एक/दुईजना संक्रमित भएको भए उति साह्रो हुन्न थियो होला, एकैपटक १२ जनामा देखियो, भुइँचालो गएजस्तो भएको थियो, विश्वास गर्ने कठिन भइरहेको थियो ।’

आफूहरुका लागि पनि यो नयाँ एवं अप्रत्यासित अनुभव भएकाले शतप्रतिशत पक्का हुनलाई पुन: परीक्षण गर्ने मनस्थितिमा पुगेको उनले बताए । तुलनात्मक रुपमा काठमाडौंको परीक्षण प्रयोगशाला मुलुकको अन्य भागको भन्दा स्तरीय छ ।

चेन अफ कमाण्डमा रहेर आफूले माथिल्लो तहमा यसबारे तुरुन्तै विस्तृत जानकारी गराएको डा.यादवले बताए । ‘आपसी छलफलपछि थप पुष्टि गर्न पुन: परीक्षणका लागि काठमाडौं पठाउने निर्णय भयो,’ उनले भने, ‘अचानक यो सूचना बाहिरिँदा जनमानस र अस्पतालकै कर्मचारीमा त्रास फैलिन सकिने हुनाले अन्तिम रिपोर्ट नआउन्जेलसम्मका लागि यसबारे हल्लीखल्ली हुन नदिने प्रयासमा रह्यौं ।’

यही कारणले आधिकारिक सूचना सार्वजनिक हुन २४ घण्टाभन्दा बढी लागेको डा.यादवले बताए । सामाजिक मन्त्रालयको गाडीबाट बिहीबार राति १ बजे पुन: परीक्षणकालागि स्वाब काठमाडौं पुरयाइएको थियो । ‘काठमाडौंमा पनि दुई पटकको परीक्षणमा समेत पोजिटिभ देखिएको प्रदेश १ सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख डा.सुरेश मेहताले बताए ।

तर यो लुक्ने विषयवस्तु नभएकाले सञ्चारमाध्यमले बिहीबार दिउँसोसम्म थाहा पाइसकेको थियो । ‘जसजसले फोन गर्नुभयो, उनीहरुलाई काठमाडौंको रिपोर्ट कुर्न अनुरोध गरेको थिएँ,’ डा. यादवले भने, ‘तर, आ–आफ्नो ढंगले सबैले लेख्न थाल्नुभयो ।’ उनका अनुसार यो अलिक संवेदनशील देखिएकाले पहिलो पटक पुन: पुष्टिका लागि काठमाडौं पठाइएको हो । ‘अब यहीँ परीक्षण गर्छौं,’ उनले भने ।

वीरगञ्जमा संक्रमित देखिएका तीन र यी १२ जना मोरङ हुँदै धेरैतिर पुगेकाले उनीहरुको सम्पर्कमा आएका सबैको ‘कन्ट्रयाक्ट ट्रेसिङ’ गरी उपचारको दायरामा ल्याउने काम भइरहेको डा.मेहताले बताए ।

‘उनीहरु पुगेका मस्जिदमा बसेकाहरु र उनीहरुको पनि सम्पर्कमा आएकाको परीक्षण भइरहेको छ,’उनले भने, ‘सुनसरीका लगभग सबै मस्जिदमा बस्नेको परीक्षण सकिएको छ ।’ डा.मेहताले शनिबारदेखि सबै मस्जिद मदरसामा परीक्षण सुरु गरिएको बताए ।

उता संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विज्ञ डा.रोशन पोखरेलले दिल्ली र वीरगंजको घटना सार्वजनिक हुनेबित्तिकै सरकारले कन्ट्रयाक्ट ट्रेसिङ सुरु गरिसकेका हुनाले त्रसित हुनुपर्ने अवस्था नरहेको बताए । ‘संक्रमित, सम्भावित संक्रमित र सम्पर्कमा आइरहेको द्रुत पहिचान एवं परीक्षण भइरहेको छ,’ उनले भने ।

प्रकाशित : वैशाख ७, २०७७ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?