१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

‘आर्मी हुँ’ भन्दै ठग्‍ने जेल चलान

पर्वत पोर्तेल

काँकडभिट्टा — नेपाली सेनाको जागिरे भन्दै सर्वसाधारणलाई ठगी गर्ने एक व्यक्तिलाई झापा जिल्ला अदालतको शुक्रबारको आदेशबाट जेल चलान गरिएको छ ।

‘आर्मी हुँ’ भन्दै ठग्‍ने जेल चलान

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आफू आर्मी भएको बताउने भद्रपुर–१० मिलनचोक बस्ने रामकुमार राउत भनिने ४६ वर्षीय राजकुमार राउतलाई एक महिनाअघि इलाका प्रहरी कार्यालय काँकडभिट्टाले बजार क्षेत्रबाट पक्राउ गरेको थियो । उनले ब्यारेकको मेसमा कार्यरत रहेको र मेसको सामान सस्तोमा मिलाइदिने भन्दै स्थानीय व्यवसायीलाई प्रलोभनमा परेर रकम असुलेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी महेन्द्र श्रेष्ठका अनुसार राउतले झापा चारआलीका डाकबहादुर राईसहित धुलाबारी, बिर्तामोड र भद्रपुरसम्मका १० जनाभन्दा बढी किराना व्यापारीवाट ५७ लाख ८६ हजार रुपैयाँ ठगी गरेको जाहेरीका आधारमा पक्राउ गरिएको थियो ।

झापा अदालतले शुक्रबार साढे ६२ लाख धरौटी माग गरेको थियो । धरौटी बुझाउन नसक्दा उनलाई कारागार चलान गरिएको हो । राउतले मोरङ, सुनसरी, उदयपुरलगायतका जिल्लाहरुमा समेत ठगी गरेको र उनीविरुद्ध मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

पेशेवर रुपमा ठगी गदै आएका राउतले विभिन्न जिल्लामा अलग अलग नाममा ठगी गरेको खुलेको छ । उनले आफूलाई कहिले प्रदीप कार्की, कहिले राजन कार्की त कहिले दुर्गा कार्की आदि नामबाट ठगी गरेको बुझिएको छ ।

प्रकाशित : वैशाख ६, २०७७ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?