कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाहिरबाट आएकाहरू क्वारेन्टाइनमा नबसी गाउँमा

डम्बरसिं राई

खोटाङ — जिल्लामा पछिल्ला दिन विभिन्न ठाउँबाट मानिसहरू आइरहे पनि उनीहरूलाई क्वारेन्टाइनमा राख्न कसैले चासो दिएका छैनन् । यसरी मानिसहरू सोझै गाउँ पुग्दा कोरोना संक्रमणको जोखिम बढेको भन्दै स्थानीय त्रस्त छन् ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा विभिन्न सहरबाट दिनहुँजसो मानिसहरू आइरहेका छन् । स्थानीय सरकारलाई पटक–पटक अनुरोध गर्दा बेवास्ता गरिएको वडा नम्बर १ का बासिन्दा कांग्रेस जिल्ला सचिव ज्ञानेन्द्र जोशीले बताए । ‘दिक्तेल आउने मान्छेलाई क्वारेन्टाइनमा राख्न पटक–पटक अनुरोध गरियो,’ उनले भने, ‘तर हाम्रो कुरा वास्ता गरिएन ।’

चैत २८ गते कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका संयोजक बबी चाम्लिङको अध्यक्षतामा बैठकले जिल्लाबाहिरबाट आएकालाई सिधै क्वारेन्टाइनमा पठाउने निर्णय गरेको थियो । सीमामा खटिएका सुरक्षाकर्मीले सम्बन्धित पालिकासँग समन्वयमा क्वारेन्टाइनमा पठाउने निर्णय भए पनि प्रहरी प्रशासनले काम नगरेको गुनासो छ ।

प्रहरी नायब उपरीक्षक वामदेव गौतमले भने पास लिएर आएपछि भित्रन दिइएको बताए । ‘यो काम प्रहरी प्रशासनको होइन, स्थानीय सरकारको हो,’ उनले भने, ‘फेरि पास लिएर आएपछि भित्रन दिनै पर्‍यो नि ।’

समिति संयोजक चाम्लिङले भने बैठकले प्रहरी प्रशासन र स्थानीय सरकारलाई जिम्मेवारी दिएको बताए । बराहपोखरी, दिप्रुङ चुइचुम्मा र खोटेहाङ गाउँपालिकामा भने काठमाडौंबाट आएका १६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । बराहपोखरी–४ स्थित फाक्टाङको बालकन्या मावि क्वारेन्टाइनमा तीन जनालाई राखिएको छ । दिप्रुङ चुइचुम्मा–१ याम्खास्थित स्वास्थ्य चौकीको क्वारेन्टाइनमा ६ जना र वडा नं ५ सप्तेश्वर छितापोखरीको जनचेतना प्राविको क्वारेन्टाइनमा ६ जना छन् । खोटेहाङ–७ खोटाङबजारस्थित स्वास्थ्य चौकीमा पनि काठमाडौंबाट आएका एक युवकलाई क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए ।

प्रकाशित : वैशाख ४, २०७७ १५:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?