१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

प्रहरीले स्वास्थ्यकर्मी कुटेपछि आधा दिन काम ठप्प

प्रदीप मेन्याङ्बो

सुनसरी — प्रहरीले स्वास्थ्यकर्मीलाई कुटपिट गरेपछि बिहीबार आधा दिनसम्म धरान उपमहानगरभरिका स्वास्थ्य संस्था ठप्प भए । धरान–६ पानबारीस्थित एक बिरामीलाई उपचार गर्न गइरहेका विष्णुपादुका स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट चन्द्रप्रकाश खनालमाथि कुटपिट भएपछि विरोधमा उपमहानगरभरिका स्वास्थ्यकर्मीले काम बन्द गरेका हुन् ।

खनाललाई लकडाउन उल्लंघन गरेको भन्दै पानबारी प्रहरी चौकीका सइ बीबी राउतले कुटपिट गरेका हुन् । स्वास्थ्यकर्मी भएको परिचयपत्र देखाउँदा पनि राउतले सीडीओ कार्यालयले दिएको परिचयपत्र चाहिने भन्दै मरणासन्न हुने गरी कुटपिट गरेको खनालको आरोप छ । उक्त घटनापछि सुरक्षाको माग गर्दै स्वास्थ्यकर्मीहरू उपमहानगर कार्यालयको प्रांगणमा भेला भएका थिए ।

धरानमा आधारभूत स्वास्थ्य केन्द्र, सहरी स्वास्थ्य प्रवर्धन केन्द्र, स्वास्थ्य चौकीलगायतमा जनस्वास्थ्य अधिकृत, अहेव, हेल्थ असिस्टेन्ट, नर्स, स्वास्थ्य स्वयंसेविकालगायत डेढ सयभन्दा बढी कार्यरत छन् ।

लकडाउनका बेला पटकपटक बसेको बैठकमा स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारीलाई निर्बाध काम गर्न दिने सहमति भएको थियो । यस्तो बेला स्वास्थ्यकर्मीमाथि नै प्रहरीबाट कुटपिट हुनु दुर्भाग्य भएको धरान उपमहानगरका स्वास्थ्य महाशाखाका प्रमुख उमेश राउतले बताए । उनका अनुसार घटनापछि धरान उपमहानगरका प्रमुख तिलक राई र जिल्ला प्रशासन प्रमुख राजेश पौडेलबीच फोन वार्ता भएको थियो । प्रहरीले स्वास्थ्यकर्मीलाई आइन्दा यस्तो व्यवहार नगर्ने सहमति भएपछि काममा फर्किएको राउतले बताए ।

प्रकाशित : वैशाख ४, २०७७ १३:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?