२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

क्‍वारेन्टाइनमा बसेकालाई बस रिजर्भ गरी घर पठाइयो 

अर्जुन राजवंशी

बिर्तामोड — र्‍यापीड डाइग्नोष्टिक टेस्ट (आरडीटी) परीक्षणमा कोभिड–१९ नेगेटिभ देखिएपछि झापाका दुइटा क्वारेन्टाइनमा १४ दिन बिताएकालाई घर पठाइएको छ । 

क्‍वारेन्टाइनमा बसेकालाई बस रिजर्भ गरी घर पठाइयो 

जिल्ला प्रशासन कार्यालयको समन्वयमा बसमार्फत मंगलबार बिहान १७ जनालाई विभिन्न जिल्लास्थित घर पठाएको भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले जनाए । लकडाउनको समयमा भारतको विभिन्न स्थानबाट हिडेर पूर्वी नाका काँकडभिट्टा र भद्रपुर हुँदै नेपाल प्रवेश गरेका उनीहरुलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको थियो ।

१७ जना सबैलाई भद्रपुर नगरपालिका १० कलवलगुडीस्थित क्वारेन्टाइनमा राखिएको थियो । घर पठाइएकामा सिरहाको धनगढी नगरपालिकाका ६, गोलबजार नगरपालिकाका २ र बरियापट्टी गाउँपालिकाका १ जना छन् । उदयपुरको चौदण्डी नगरपालिकाका ३, त्रियुगा नगरपालिकाका २ र ताप्ले नगरपालिकाका १ जना छन् ।

खोटाङको रुपाकोट नगरपालिका र सप्तरीको महुली नगरपालिकाका एक/एक जना छन् । उनीहरुलाई बसमार्फत सप्तरी, सिरहा र उदयपुरसम्म पुर्‍याउने व्यवस्था मिलाएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत युवराज कट्टेलले जनाए ।

मंगलबार नै थप १५ जनालाई क्वारेन्टाइनबाट घर पठाउने तयारी भइरहेको कट्टेलले जानकारी दिए । कलवलगुडी र झापा गाउँपालिकास्थित डिल्लीराज माविको क्वारेन्टाइनमा १४ दिन बिताएका सुर्खेतका १०, कैलालीका ३ र दैलेखका २ जनालाई घर पठाउने तयारी गरिएको हो । उनीहरु सबैको आरडीटी परीक्षणमा कोभिड–१९ नेगेटीभ देखिएको मेयर श्रेष्ठले बताए ।

उनीहरु सबैलाई ७ दिनसम्म अनिवार्य सेल्फ क्वारेन्टिनमा बस्नुपर्ने शर्तसहित घर पठाएको कट्टेलले बताए । जिल्ला प्रशासन झापाले घर फर्किएका सबै मानिसका जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखी घर फर्किएकाहरुको स्थानीय तहसंग समन्वयमा निगरानी गर्ने व्यवस्था मिलाउन आग्रह समेत गरेको छ ।

प्रकाशित : वैशाख २, २०७७ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?