सीमानाकाबाट आवागमन रोक्न थप सुरक्षाकर्मी परिचालन

माधव घिमिरे

विराटनगर — कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न प्रदेश १ का सीमावर्ती नाकाहरुबाट आवागमन पुरै नियन्त्रण गर्न प्रदेश प्रहरी कार्यालयले निगरानी बढाएको छ । सरकारले लागू गरेको लकडाउनको अवस्थामा नेपाल–भारत सीमा क्षेत्रबाट छिटफुट आवागमन भइरहेको पाइएकाले प्रहरीले निगरानी बढाएर कडाइ गर्ने भएको हो ।

सीमानाकाबाट आवागमन रोक्न थप सुरक्षाकर्मी परिचालन

प्रदेश १ प्रहरी कार्यालयका अनुसार नाकाहरुबाट आवागमन नियन्त्रण गर्नुका साथै लकडाउनको मौका छोपेर हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न विशेष टोली परिचालन गरेको जनाएको छ । नाकाहरुबाट हुने अवैध चोरी निकासी नियन्त्रणमा पनि परिचालित टोलीले काम गर्ने जनाइएको छ ।

प्रदेश १ का तराईका जिल्लाहरु झापा, मोरङ र सुनसरीका सीमा नाका र आसपास क्षेत्रलाई सेक्टरमा विभाजन गरी वरिष्ठ प्रहरी अधिकृतसहितको थप जनशक्ति खटाइएको उक्त कार्यालयले जनाएको छ ।

लकडाउन प्रभावकारी बनाउन र सीमामा निगरानी गर्न थप जनशक्ति परिचालन गरिएको छ । भारतसँगको सीमावर्ती नाकामा निगरानी गर्नका लागि १ सय ३५ जना, मोरङका लागि ८० र सुनसरीका लागि १ सय १२ जना थप जनशक्ति खटाएर अस्थायी प्रहरी बेस स्थापना गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी प्रदेश २ बाट आउने सवारी साधन र मानिसहरुलाई प्रदेश १ प्रवेशमा रोक लगाइएको छ । यसका लागि सुनसरीको कोसी ब्यारेज, चतरा पुल र उदयपुरको रामपुर ठोक्सिलामा चेक प्वाइन्ट राखेर चौबीसै घन्टा निगरानी भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेशभरका जिल्लाहरुमा लकडाउन कार्यान्वयनको अवस्था अनुगमन गर्न सशस्त्र प्रहरी गण रानी, दंगा नियन्त्रण प्रहरी गण दुहबी र प्रदेश १ प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक तथा प्रहरी नायब उपरीक्षकको कमान्डमा अनुगमन टोली परिचालन गरिएको छ ।

यसैगरी प्रदेशभर रहेका २ सय २४ वटा क्वारेन्टाइन सेन्टरमा सुरक्षा व्यवस्था मिलाउन समेत टोली परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत स्थानीय टोल समितिहरुलाई सक्रिय गराएर ‘प्रहरीको सहयोगी म’ अभियानमार्फत् स्थानीय युवालाई परिचालन गरी लकडाउन पालना र सचेतना बढाउने काम भइरहेको जनाइएको छ ।

यसैबीच, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले संक्रमण भित्रन नदिन भारतीय सीमा नाकामा कडाइ गर्नैपर्ने भन्दै त्यसैअनुसार काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रबार भएको सुरक्षा परामर्श समितिको बैठकमा सहभागी सुरक्षा निकायका प्रमुखहरुलाई यस्तो निर्देशन दिएका हुन् ।

प्रकाशित : चैत्र २९, २०७६ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?