कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तीन दिनयता आइसोलेसनमा नयाँ बिरामी छैनन्

पहिलेदेखि रहेका १० जनाको स्वास्थ्य अवस्था समान्य रहेको छ
देवनारायण साह

मोरङ — प्रदेश १ मा रहेका आइसोलेसन वार्डमा कोरोना भाइरसका नयाँ शंकास्पद बिरामी आउने क्रम रोकिएको छ। १४ वटै जिल्लास्थित अस्पतालहरुमा रहेका आइसोलेसन वार्डमा तीन दिनयता बिरामी थपिएका छैनन्।

हाल आइसोलेसनमा बस्ने बिरामीको संख्या १० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। बिहीबारसम्म २२ जना बिरामी डिस्चार्ज भएका थिए।

कोसी अस्पतालस्थित आइसोलेसन वार्डमा १ महिला र १ पुरुष छन्। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्राले एक जनाको स्वाबको नमुना लिएर परीक्षणका लागि पठाइएको र अर्काको स्वाब लिने प्रक्रियामा रहेको बताइन्। उनका अनुसार दुवैको स्वास्थ्य अवस्था सामान्य छ।


यस्तै, ओखलढुंगामा ४ पुरुष, उदयपुरमा १ पुरुष, ताप्लेजुङमा १ महिला र २ जना पुरुष आइसोलेसन वार्डमा छन्। मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख सुरेश मेहताले उनीहरुको स्वास्थ्य सामान्य अवस्थामा रहेको जानकारी दिए।१४ वटै जिल्लाका ४८ अस्पतालमा ४ सय ३२ शय्याको आइसोलेसन वार्ड र ४ वटा अस्पतालमा ४४ शय्याको आईसियू वार्ड तयार गरिएको छ।


यसैबीच प्रदेश १ मा कोरोना भाइरसको शंकास्पद बिरामीको स्वाबको नमुना संकलनमा वृद्धि भएको छ। मेहताका अनुसार शुक्रबारसम्म ३५ महिला र १ सय ४५ पुरुष गरी १ सय ८० जना शंकास्पद संक्रमितको नमुना संकलन गरिएको छ। १ सय ५२ जनाको रिपोर्ट नेगेटिभ आएको उनले बताए।


प्रदेश १ मा शुक्रबारबाट कोसी अस्पतालमा समेत स्वाबको नमुना परीक्षण सुरु गरिएको छ भने क्वारेन्टाइनहरुमा र्‍यापिड टेस्ट थालिएको छ। यसअघि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै स्वाबको नमुना परीक्षण हुने गरेको थियो।

प्रकाशित : चैत्र २८, २०७६ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?