कुखुरा व्यावसायी भन्छन् : दाना छैन, कुखुरा पनि बिक्दैन

डम्बरसिं राई

खोटाङ — दानाको अभाव र कुखुराको बिक्री नहुँदा खोटाङका कुखुरा व्यावसायी मारमा परेका छन् । कुखुरा फर्मबाट उत्पादित अण्डा समेत बिक्री हुनसकेको छैन । दाना अभावमा केही व्यावसायीले सित्तैमा कुखुरा बाँडेका छन् । 

कुखुरा व्यावसायी भन्छन् : दाना छैन, कुखुरा पनि बिक्दैन

‘लकडाउनले १६ लाखको हाराहारीमा घाटा भयो’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का कुखुरा व्यावसायी सुवाश जोशीले भने, ‘अब कसरी उक्सनले भन्ने चिन्ताले सताएको छ ।’ जोशीले सञ्चालन गरेको फर्मले उत्पादन गरेको बोइलर कुखुरा र अण्डा विक्री नभएपछि उनी चिन्तामा डुबेका छन् ।


बोइलर कुखुरालाई दानामा मात्र दैनिक ३४–३५ हजार खर्च भइरहेको जोशीले बताए । उनले दैनिक दुई हजारका दरले उत्पादन हुने अण्डा समेत विक्री नभए जनाए । उनले दैनिक एक सय बीस केजी मासु बिक्री गर्थे । ‘अहिले बोइलर कुखुराको मासु विक्री पूरै ठप्प छ ’ जोशीले भने, ‘अण्डा पनि विक्री नभएर कुहिने अवस्थामा पुगेको छ ।’


जोशी मात्र होइन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ आचार्यगाउँ कोलेबारीमा फर्म सञ्चालक हिरण्य मगरको पनि अवस्था उस्तै छ । उनले पनि लकडाउनको मार ब्यहोरेका छन् । दानाको घाटा ब्यहोर्नु भन्दा सित्तैमा वितरण गर्नु नै उचित देखिएपछि वितरण गरेको मगरले सुनाए । ‘घाटा ब्यहोर्नु भन्दा वितरण गर्नु नै राम्रो लाग्यो ’ उनले भने, ‘दुई सय कुखुरा वितरण गरियो ।’


दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ आचार्यगाउँ कोलेबारीमै कुखुरा फर्म सञ्चालन गर्ने रघुनन्द राईको पनि पीडा उस्तै छ । उनले पनि घाटा ब्यहोरेको सुनाए । उनले पनि दुई सय कुखुरा सित्तैमा वितरण गरेको सुनाए । ‘व्यवसाय त्यति फापेन ’ राईले भने, ‘विक्री हुने बेलामा कोरोनाको प्रभावले पूरै डुबायो ।’


खोटाङमा करिब डेढ सय बोइलर कुखुरा फार्म छन् । अधिकांश व्यावसायीहरुले घाटा ब्यहोरेको पोल्ट्री व्यवसायी संघ खोटाङका अध्यक्ष सुवाश जोशीले बताए । उनका अनुसार दैनिक सात सय केजी बोइलर मासु विक्री हुनु पर्नेमा व्यापार शून्य भएपछि घाटा ब्यहोर्नु परेको छ ।


करिब ४० देखि ६०–७० दिन भित्रमा बिक्री गरिसक्नु पर्ने बोइलरलाई दाना खुवाउँदै राख्नु पर्ने वाध्यताले दिनदिनै घाटा बढ्दै गइरहेको जोशीले सुनाए । उनका अनुसार जिल्लामा १० वटा लेयर्स कुखुरा फर्मबाट दैनिक आठ हजार अण्डा उत्पादन हुने गरेको छ । अण्डाको समेत बजार शून्य भएकाले बोइलरको मासु र लेयर्स अण्डा सहित करिब चार करोड जति घाटा हुने अनुमान छ ।


दिक्तेल, हलेसी, ऐसेलुखर्क, बाक्सिला, जालपा, मानेभन्ज्याङ, पञ्चमी, सिम्पानी, खोटाङबजार, चिसापानी लगायतका बजारहरुका मासु पसलहरु पूर्ण रुपले बन्द हुनु, कोरोना भाइरस प्रकोपमा बोइलरको मासु तथा अण्डा खान नहुने भन्ने प्रचार लगायतका कारण ठूलो घाटा ब्यहोर्नु परेको जोशीले बताए ।

ग्रामीण क्षेत्रमा लघुवित्त लगायत अन्य बैंकहरुबाट समेत ऋण लिएर कुखुरा फर्म सञ्चालन गरेकाले दोहोरो घाटा ब्यहोर्नु परेको जोशी बताउँछन् । कतिपयले घरबारी धितो राखेर फर्म सञ्चालन गरेकाले लिलाम हुन सक्ने खतरा बढेको जोशीले सुनाए । यसबारेमा सरकारको सहयोग आवश्यक परेको जोशीले बताए ।

प्रकाशित : चैत्र २६, २०७६ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?