१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

लकडाउनले आँखा अस्पतालको बहिरंग सेवा प्रभावित

जितेन्द्र साह

विराटनगर — एक बेन्चमा एउटै बिरामी, सुरक्षा गार्डको निगरानी । चिकित्सक र बिरामीले पूर्व सावधानी अपनाएकै छन् । योसँगै संक्रमणको जोखिमबाट जोगाउन सेवाग्राही र चिकित्सकीय परीक्षण उपकरण बीचको दूरीमा समेत सुरक्षा उपाय अबलम्बन गरिएको छ । लकडाउनमा नागरिकलाई अत्यावश्यक उपचारबाट बञ्चित हुन नदिन नियमित बहिरंग सेवा सञ्चालन गरिरहेको सीमावर्ती रानीस्थित विराटनगर आँखा अस्पतालको दृश्य हो यो । 

लकडाउनले आँखा अस्पतालको बहिरंग सेवा प्रभावित

लकडाउन र सीमा बन्दले अस्पतालको बहिरंग सेवा प्रभावित बनेको छ । दिनहूँ औसतमा २० जना बिरामी मात्र आइरहेको अस्पतालका कार्यक्रम संयोजक सुधीर ठाकुरले बताए । नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित यो अस्पतालमा लकडाउन र नाका बन्द गरिनु अघि दिनहुँ औसत १२ सय सेवाग्राही आउँथे । यसमा ५० प्रतिशत भारतका विभिन्न राज्यका हुने गरेको अस्पतालका प्रवन्धक कुमार पृथुले बताए ।


आँखामा केही परेर, उच्च रक्तचाप एवं मधुमेहले आँखामा समस्या भएर, चोटपटक लागेर, तुरुन्तै शल्यक्रिया गरिनु पर्ने एवं शल्यक्रिया भएकाहरु नियमित फ्लोअपका लागि आउने गरेको उनले बताए ।


भेटेरै गरिनुपर्ने अत्यावश्यक उपचार बाहेक अन्य खाले सल्लाह एवं सुझावका लागि अस्पतालले आफ्नो फेसबुक पृष्ठमा विज्ञ चिकित्सकहरुको सम्पर्क नम्बर समेत राखेको छ ।


लकडाउनका कारण आवागमन प्रभावित भएकोले विराटनगर नजिक रहेको मोरंग, सुनसरी र झापाको गाउँ एवं नगरबाट मात्र बिरामी आइरहेको ठाकुरले बताए । अस्पतालमा आँखाका सबै खाले विज्ञसहित २५० जना जनशक्ति छन् । बिरामीको चाप कम भएकोले सातै दिन सेवामा खटिने गरी यी मध्ये अहिले दैनिक ४० जनशक्ति ड्युटिमा रहने गरेको अस्पताले जनाएको छ ।

विषम परिस्थितिमा बिहान १० देखि बेलुकी ५ बजेसम्म मात्र खुलिरहेको अस्पतालले जनाएको छ।

प्रकाशित : चैत्र २६, २०७६ १४:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?