१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

एपेन्डिसाइटिसको बिरामीले शल्यक्रिया कक्षभित्र खोकेपछि कोरोना भन्दै रिफर

विनोद भण्डारी

विराटनगर — नोबेल अस्पतालले चैत १९ गते राति एक वृद्धाको एपेन्डिसाइटिसको शल्यक्रिया गर्न सबै प्रक्रिया पुरा गरेर शल्यक्रिया कक्षमा लगेर सुतायो । ती वृद्धालाई चिकित्सकले बेहोस पार्न औषधि प्रयोग गर्ने तयारी गरिरहेका थिए । त्यसैबेला वृद्धाले अचानक खोकिन् ।

एपेन्डिसाइटिसको बिरामीले शल्यक्रिया कक्षभित्र खोकेपछि कोरोना भन्दै रिफर

त्यसपछि उनको शल्यक्रिया गर्न हातमा औजार लिएर तयारी अवस्थामा बसेका चिकित्सकहरुले सबै औजार थन्‍काएर उनलाई आकस्मिक कक्षको शय्यामा पठाए ।

त्यसपछि उनीहरुले ती वृद्धमा कोरोना भइरसको लक्षण हुनसक्ने भन्दै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरे ।

अपरेसन थिएटर लैजानुअघि ल्याब टेस्ट, छातीको एक्सरे र भिडियो एक्सरे सबै गरिएको थियो । टेस्टबाटै एपेन्डिसाइटिस भएको देखिएको थियो । ज्वरो, निमोनिया, रुघा खोकी र रक्तचापको घटबढ केहीको पनि लक्षण नदेखिएपछि चिकित्सकले शल्यक्रियाको तयारी गरेको उनका आफन्तको भनाइ छ ।

एपेन्डिक्सको दुखाइले वृद्धा इन्तु न चिन्तु भइरहेको अवस्थामा उनका आफन्तले चैत २० गते धरान पुर्‍याए । वीपीका चिकित्सकले पनि उनलाई एपेन्डिसाइटिस नै भएको र फुट्ने अवस्थामा पुगेको भन्दै तत्काल शल्यक्रिया गरे । त्यहाँका चिकित्सकले कोरोनाको कुनै संकेत नरहेको बताएका थिए । अहिले ती वृद्धा सामान्य अवस्थामा छिन् ।

उनी हुन मोरङको पथरी शनिश्चरे नगरपालिका-५ कि ७० वर्षीया कृष्णमाया घिमिरे । उनका छोरा हेमचन्द्रले भने, ‘नोबल मेडिकल कलेजका चिकित्सकले आमाको सबै जाँचपडताल गरेर एपेन्डिसाइटिस भएको पुष्टि गर्दै शल्यक्रिया गर्न अपरेसन थिएटरमा सुताएपछि कोरोनाको शंका गर्दै वीपी रिफर गर्‍यो । तर वीपीका चिकित्सकले आमामा एपेन्डिसाइटिस बाहेक अन्य कुनै रोग र भाइरसको शंका नगरी तत्काल शल्यक्रिया गरेर आमालाई बचाइ दिए ।’

वीपीका चिकित्सकले आमालाई कोरोना भाइरसको कुनै लक्षण नभएको र फुट्ने अवस्थामा पुगेकाले एपेन्डिसाइटिसको शल्यक्रिया तुरुन्त नगरे जोखिम हुने भनेको उनले बताए ।

‘आमाले अपरेसन थिएटरमा अचानक ख्वाक्क खोक्दा नोबेलका चिकित्सकले कोरोनाको शंका गरेर वीपी रिफर गरिदिए’ हेमचन्द्रले भने, ‘यो कस्तो उपचारको तरिका हो, हावाका भरमा जे गरे पनि हुने देखियो, आमाको ज्यान गएको भए के हुन्थ्यो ?’

नोबेलले आमाको शल्यक्रिया गर्ने तयारी गरेपछि चैत १९ गते राति आफैंले आमालाई अपरेसन थिएटरमा पुर्‍याएर बाहिर ढोकामा आमाको अवस्था बुझ्न कुरेर बसेको उनले सुनाए । ‘तर एक घण्टापछि भित्रबाट अहिले अपरेसन नहुने भन्ने खबर आयो,’ हेमचन्द्रले भने, ‘ज्वरो पनि छ, खोकी पनि रहेछ भनेर शल्यक्रिया नै रोकिदिए ।’

भोलिपल्ट अरु डाक्टरले हेर्ने भनिएकाले पर्खें । अपराह्न ४ बजेपछि कोरोनाको शंका छ, वीपी लैजानु भनेपछि आत्तिएर आमालाई धरान पुर्‍याएको उनले बताए । ‘अब यहाँ उपचार हुँदैन भन्दै हतार हतार डिस्चार्जको पुर्जा थमाए,’ हेमचन्द्रले भने, ‘धरानका डाक्टरले ज्वरो वा कोरोनाको कुनै लक्षण नभएको बताएपछि छक्क पर्यौं ।’

नोबेलका सञ्चालक सुनील शर्माले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण देखिएपछि चिकित्सकले वीपी रिफर गरेको बताए । धेरै ज्वरो आएको अनि फोक्सोमा पनि खराबी देखिएपछि वीपी पठाइएको उनले दाबी गरे ।

प्रकाशित : चैत्र २६, २०७६ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?