१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

समाचार संकलनमा अवरोध

रमेशचन्द्र अधिकारी

धनकुटा — स्वास्थ्य सामग्री हस्तान्तरणबारे समाचार संकलनका लागि पुगेका पत्रकारलाई मंगलबार स्थानीय प्रशासनले अवरोध गरेको छ । सूर्यबहादुर थापा प्रतिष्ठानले जिल्लाका स्वास्थ्य संस्थाका लागि पठाएको सामग्री जिल्ला विपत् व्यवस्थापन समितिलाई हस्तान्तरण गर्ने कार्यक्रममा पत्रकारलाई रोक लगाइएको नेपाल पत्रकार महासंघ धनकुटाले जनाएको छ । 

समाचार संकलनमा अवरोध

महासंघका जिल्ला उपाध्यक्ष नगेन्द्र राई, द हिमालय टाइम्सका खगेन्द्र घिमिरे, हिमालय टेलिभिजनका कविराज घिमिरे, अन्नपूर्ण पोस्ट् दैनिकका हरिबहादुर लम्जेल र रेडियो भेडेटारका स्टेसन म्यानेजर पूर्णकुमार चौधरीलाई दुर्व्यवहार गरिएको जनाइएको छ ।


प्रतिष्ठानले सामग्री हस्तान्तरण कार्यक्रममा जिल्लास्थित पत्रकारलाई समाचार संकलनको लागि डाकेको थियो । तर जिल्ला प्रशासन कार्यालय पुगेका पत्रकार खगेन्द्र घिमिरे र कविराज घिमिरेलाई कार्यक्रमस्थलबाटै निष्कासन गरिएको थियो । आफूहरूलाई प्रशासन कार्यालय परिसरबाट प्रहरीले अपमानजनक ढंगले निकालिएको उनीहरूले बताए । अन्य चार जनालाई मुख्य मन्त्रीको सम्पर्क कार्यालयबाहिर सडकमा प्रहरीले रोकेका थिए । ‘कार्यक्रममा बोलाएर अपमानजनक व्यवहार गरियो,’ खगेन्द्र घिमिरेले भने, ‘हामी सुरक्षित भएर गएका थियौं, तर समाचार संकलन र तस्बिर खिच्न नदिई दुर्व्यवहार गरियो ।’


बाटोमा रोकिएका पत्रकारलाई पनि प्रहरीले फोटो–भिडियो मेट्न दबाब दिएका थिए ।

घटनापछि महासंघले विज्ञप्तिमा पत्रकारितामार्फत जनताको सुसूचित हुने अधिकार हनन गरिएको भन्दै त्यस्ता कार्य बन्द आग्रह गरेको छ ।

दुर्व्यवहार गरिएको होइन : प्रशासन

प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले सूचना संकलनमा अवरोध नगरिने भन्दै पत्रकारलाई अपमानजनक व्यवहार नगरिएको दाबी गरेका छन् । प्रतिष्ठानले पत्रकारलाई निम्ता गरेको जानकारी नहुँदा भिडभाड हुन नदिन पत्रकार र अन्यलाई बाहिर बस्न अनुरोध गरिएको उनको भनाइ छ । त्यसै गरी जिल्ला प्रहरी प्रमुख एसपी सुदर्शन कोइरालाले सामग्री हस्तान्तरण कार्यमा पत्रकारको आवश्यकता नभएको ठानेर रोक लगाइएको बताए ।

प्रकाशित : चैत्र २५, २०७६ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?