१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

क्वारेन्टाइनमा रहेका भारतीय श्रमिक भन्छन् : आलोपालो पकाउँछौं, खान्छौं

पर्वत पोर्तेल

बाहुनडाँगी,झापा — भारतको कटिहार, विहारका ६० वर्षीय असारु ऋषि होली मनाए लगत्तै श्रमका लागि नेपाल छिरेका थिए । श्रीमती र छोराछोरीलाई ‘दिवालीमा आउँछु’ भनेर हिँडेका उनी अहिले नेपालको क्वारेन्टाइनमा छन् । विहारको यो गाउँका अधिकांश युवा रोजगारीका लागि नेपाल आउँछन् ।

क्वारेन्टाइनमा रहेका भारतीय श्रमिक भन्छन् : आलोपालो पकाउँछौं, खान्छौं


वृद्ध उमेरका असारु पनि युवाको साथ लागेर कमाउन नेपाल छिरेका थिए । ‘हाम्रो गाउँमा कतार, दुबई जान सक्ने हैसियत कसैको छैन’, असारु बोले,‘नेपाल नै नजिकको र सस्तो श्रम गन्तव्य हो ।’


कोरोना भाइरस संक्रमण हुन सक्ने त्रासले नाकामा सतर्कता सुरु भइसकेको थियो । असारुसहितका ३९ युवा पूर्वी नाकाबाटै प्रवेश गरेका थिए, तीन साता अघि । झापा बुधबारेको एक घर निर्माणमा जुटिसकेका थिए । तर, लकडाउन भयो । सीमा नाका ठप्प भयो । काम बन्द भयो ।


लकडाउनमा यता नबस्ने बरु ‘देश’ फर्किने सुर कसे । ‘आएको ४, ५ दिन मात्रै भएको थियो’, असारुले सुनाए, ‘काम बन्द भएपछि घरै फर्किने निर्णय लियौं ।’


३९ जनाको हुल बाँधेर उनीहरु राजमार्ग उत्तरको बाटो हुँदै भारत फर्किदै थिए । हुल देखेर बाहुनडाँगीका स्थानीयले प्रहरीलाई खबर गरिदिए । त्यसपछि घर फर्किने यिनीहरुको सपना तुहियो । त्यो बेला स्थानीय जनप्रतिनिधि र प्रहरीले भने, ‘तपाईंहरु पारी गएपनि क्वारेन्टाइनमै बस्नु पर्ने हुन्छ, बरु यतै बस्नुस् खाने बस्ने व्यवस्था हामी मिलाउँछौ ।’ यसो भनेपछि उनीहरु राजी हुनुको विकल्प थिएन । युवा निताई रायले भने, ‘हुन त हामीलाई आफ्नै देश फर्किने इच्छा थियो । तर, भारतमा समेत लकडाउन थियो, जान नमिल्ने भएर बस्यांै ।’


लकडाउनसँगै सीमा नाका समेत ठप्प भइसकेको स्थितिमा उनीहरुलाई पारी पठाउनु उचित नहुने ठानेर यतै राखिएको मेचीनगरका कार्यपालिका सदस्य टिकाराम मंग्रातीले बताए । भने,‘सरकारले समेत आउजाउमा प्रतिवन्ध लगाएको र यथास्थानमै व्यवस्थापन गर्न निर्देशन गरेकाले भारतीहरुलाई यतै व्यवस्थापन गरेर राखेका हाैं।’

उनीहरुलाई बाहुनडागीको मेची जनसाधारण माविका तीन कोठामा राखिएको छ । एउटा कोठामा १९ र बाँकी दुई कोठामा १०/१० जनाका दरले राखिएको छ । खानाको व्यवस्था सहारा नेपालले उपलव्ध गराएको छ । दुई समय खाना र दिउँसो चिया खाजाको व्यवस्था मिलाइएको कार्यपालिका सदस्य मंग्रातीले बताए ।

‘हामी आलोपालो गरेर खाना पकाउँछौ र खान्छाैं’, भारतीय श्रमिक युवा सुरज ऋषिले भने । क्वारेन्टाइनमा इन्टरनेटको समेत प्रबन्ध गरिएको छ । जसले उनीहरुलाई दिन काट्न सहज भएको छ । ‘श्रीमती र छोरा छोरीसँग कुराकानी भइरहेको छ,’ निताईले सुनाए, ‘घर नगएर ठिकै गरिएछ जस्तो लागेको छ ।’ उनका अनुसार गाउँमा पनि भारत सरकारले क्वारेन्टाइन बनाएको छ । खासगरी नेपालवाट फर्किएका युवाहरु क्वारेन्टाइनमा राखिएको छ ।

‘क्वारेन्टाइनमा अधिकांश नेपालबाट फर्किएका युवा छन् रे’, उनले थपे,‘गएको भए हाम्रो पनि १४ दिन त्यही बास हुने रहेछ ।’


प्रकाशित : चैत्र २५, २०७६ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?