३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

क्‍वारेन्टाइनबाट एक युवक भागे

माधव घिमिरे

विराटनगर — अस्पतालको क्वारेन्टाइनमा निगरानीमा रहेका एक युवक भागेका छन् ।  इलाम नगरपालिका वडा ३ स्थित डा. मेघबहादुर पराजुली सामुदायिक अस्पतालमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएका भारतबाट आएका ती युवक सोमबार राति अस्पतालबाटै भागेका हुन् ।

कोरोनाको प्रभाव देखिएको स्थानबाट आएकाले उनमा संक्रमण भएको हुन सक्ने आशंका गर्दै निगरानीमा राखिएको थियो । भारतको सिलिगुडीबाट आएका इलामकै सन्दकपुर गाउँपालिका वडा नम्बर-३ का ती युवक झ्यालबाट भागेको इलाम नगरपालिकाका अधिकृत रामकुमार साहले बताए ।


भारतबाट आएपछि उनी इलाम ५ बिब्ल्याँटेस्थित नातेदारको घरमा बसिरहेका थिए । उनको जिल्ला अस्पतालमा स्वास्थ्य जाँच गरिएको थियो । चिकित्सकले उनलाई उपचार र रेखदेख गर्नुपर्ने सुझाव दिएपछि क्वारेन्टाइनमा राखिएको थियो । त्यही सुझाव नुसार चैत २३ गते क्वारेन्टाइनमा राखिएको थियो ।


डा. मेघबहादुर पराजुली सामुदायिक अस्पताल, क्वारेन्टाइन वार्डका इन्चार्ज दीपक पौडेलका अनुसार उनको स्वाब नमुना परीक्षणका लागि पठाइएको छ । तर रिपोर्ट आउन भने बाँकी छ ।

कोरोना संक्रमण प्रभावित क्षेत्रबाट आएकाले उनलाई खोजतलास गरी पुनः क्वारेन्टाइनमा नराखे जोखिम हुने पौडेलले बताए । इलाम नगरपालिकाका मेयर महेश बस्नेतले भागेका ती युवकलाई कसैले कतै देखेमा तत्काल खबर गर्न सूचना जारी गरेका छन् ।


कतै देखिए नजिकको वडाध्यक्ष, वडा सदस्य, महिला स्वास्थ्य स्वयम्सेविका वा प्रहरीमा खबर गरी सहयोग गर्न उनले आग्रह गरेका छन् । जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक हीरा पाण्डेका अनुसार उनको तीव्र रुपमा खोजी भइरहेको छ ।

प्रकाशित : चैत्र २५, २०७६ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?