परीक्षण गरिएका ६९ जनामा संक्रमण देखिएन

संक्रमणको आशंका गरिएका र आइसोलेसनमा राखिएका ११ जना उपचारपछि घर फर्किए
माधव घिमिरे

विराटनगर — प्रदेश १ मा कोरोना शंकास्पद ६९ जनाको स्वाब नमुना परीक्षण गर्दा कसैमा पनि संक्रमण नभएको पाइएको छ।

प्रदेश १ का विभिन्न जिल्लाबाट संकलित नमुनामध्ये ८५ जनाको परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो। अरुको परीक्षण रिपोर्ट आउन बाँकी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।


अघिल्लो आइतबारदेखि प्रतिष्ठानमा कोरोना संक्रमण भए/नभएको परीक्षण गर्न थालिएपछि नमुना संकलनको काम तीव्र पारिएको छ। हालसम्म १८ महिला र ५१ जनाको नमुना परीक्षण गरिएको छ।


यसैबीच, संक्रमण भएको आशंका गरिएका र आइसोलेसनमा राखिएका ११ जना उपचारपछि घर फर्केका छन्। अब आइसोलेसनमा १५ जनाको उपचार र रेखदेख भइरहेको छ। प्रदेशका विभिन्न जिल्लामा रहेका अस्पताल र अन्य स्थानमा गरी ४ सय ३८ आइसोलेसन शय्या छन्।


४ हजार ३७ वटा शय्या रहेको क्वारेन्टाइन तयारी अवस्थामा छ। हालसम्म ६ सय १० जनालाई क्वारेन्टाइनमा राखिएको छ। भारतलगायत मुलुकबाट आएका झन्डै तीन हजार जना होम क्वारेन्टाइनमा बसिरहेको जनाइएको छ। मन्त्रिपरिषद् कार्यालयका अनुसार सम्भावित संक्रमितलाई राखेर उपचार गर्नका लागि आइसीयूसहितको ४४ वटा शय्या तयार छ।


मन्त्रिपरिषद् कार्यालयका अनुसार संघीय सरकारबाट प्रदेश १ का लागि स्वास्थ्यकर्मीलाई चाहिने सुरक्षा सामग्री ५ सय ५३ वटा आएको छ। आईआर थर्मोमिटर २७ वटा, मास्क ४२ हजार १ सय, एक्जामिनेसन ग्लोब्स ८० हजार ५ सय आएको जनाइएको छ।


यसैगरी ह्यान्ड सेनिटाइजर २ हजार १ सय ३९, पीपीई गाउन १ हजार ८ सय ९६, नेबुलाइजन ४०, सर्जिकल ग्लोब्स ८ सय, एन९५ मास्क ४ सय ८० वटा आएको छ। ती सामग्री विभिन्न जिल्लाका स्वास्थ्यकर्मीका लागि पठाइएको प्रदेश सरकारले जनाएको छ।

प्रकाशित : चैत्र २४, २०७६ २०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?