कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

दुग्ध आयोजनालाई पाउडर बनाउन भ्याइनभ्याइ

देवनारायण साह

मोरङ — लकडाउनले निजी डेरी उद्योगहरु बन्द भएपछि यहाँस्थित दुग्ध विकास संस्थानअन्तर्गतको विराटनगर दूध वितरण आयोजनालाई दूधको पाउडर बनाउन भ्याइनभ्याइ छ । आयोजनाले पूर्व क्षेत्रमा मिल्क होलीडे हुन नदिन निजी डेरी उद्योगको दूधको पनि पाउडर बनाइदिन थालेको छ । 

दुग्ध आयोजनालाई पाउडर बनाउन भ्याइनभ्याइ

लकडाउनका कारण कर्मचारी आउन छाडेकाले निजी डेरी उद्योगहरु बन्द भएको विराटनगर दूध बितरण आयोजनाका प्रमुख गणेशकुमार यादवले बताए । ‘निजी डेरी उद्योग बन्द भए पनि किसानको दूध खेर जान नदिनका लागि उत्पादन शुल्क लिएर पाउडर बनाइदिने गरेका छौं,’ उनले भने, ‘अहिले ७२ देखि ७५ हजार लिटर दूधको दैनिक ६ हजार किलो पाउडर उत्पादन भइरहेको छ ।’


परियोजनाले सामान्य अवस्थामा नियमित यस सिजनमा दैनिक संकलन गर्दै आएको दूधको परिमाण २८ हजार लिटरबाट बढेर अहिले ५० हजारभन्दा बढी लिटर संकलन भइरहेको यादवको भनाई छ । आइतबार मात्रै ५० हजार ७३ लिटर दूध संकलन गरेको आयोजनाको तथ्यांक छ ।


‘आयोजनामा नियमित संकलन भइरहेको दूधबाट दैनिक ४२ देखि ४५ हजार लिटर दूधको पाउडर बनाउँ छौं,’ उनले भने, ‘ निजी डेरीको ५ देखि ८ हजार, सप्तरीको महुलीस्थित दुग्ध संस्थाको ४ देखि ८ हजार, बुटबल दुध परियोजनाबाट ६ देखि १० हजार र हेटौडा दूध परियोजनाबाट १२ देखि २० हजार लिटरसम्म पाउडर बनाउनका लागि दैनिक दूध आउने गरेको छ ।’


निजी क्षेत्रको दुधबाट पाउडर बनाउनका लागि आयोजनाले प्रतिकिलो १ सय १५ रुपैयाँ शुल्क लिने गरेको छ । लडकडाउनले पाउडर दूध अत्यधिक उत्पादन हुँदा आयोजनाको गोदाम भरिदै गएकाले गोदामको समेत अभाव भएको यादवले सुनाए । आयोजनाले अहिले दैनिक दुई हजार किलो घ्यू समेत उत्पादन गरिरहेको छ ।


आयोजनाले अहिले दैनिक ५ हजार ५ सय लिटर दूध, १ हजार ५ लिटरको दही, १ हजार ५ सय लिटर दूधको पनिर उत्पादन गरेर विराटनगर, धरान, इटहरी, इनर्बा, विराट चोकसम्म पुर्‍याउने गरेको यादवले बताए । उनले किसानको दूध खरिद गर्दा गाईको दुधमा फ्याट हेरेर सरदर ४०/४२ र भैंसीको दूध ५०/५५ रुपैयाँ प्रतिलिटरको दरमा खरिद गर्दै आएको बताए । आयोजनाले प्रतिलिटर स्ट्यार्ण्ड दूध ६८, क्रिम दूध ९२ र चिया दूध ६४ रुपैयाँ लिटर, दही १ सय १० रुपैयाँ किलो र पनिर प्रतिकिलो ६ सय रुपैयाँ बजारमा बिक्री गर्दै आएको छ ।

सरकारले २५ जनाभन्दा बढी व्यक्तिलाई एक ठाउँ भेला नहुन भनेकाले प्रशासन र लेखा शाखाका २५ जना कर्मचारीलाई आवश्यकता परेको बेला सातामा एक पटक मात्रै कार्यालयमा पालै पालो बोलाएर काममा लगाउने गरेको छ । तर, किसानको दुध खेर जान नदिनका लागि आयोजनाको दूध प्लाण्टमा दैनिक ८० जना कर्मचारीले जोखिम मोलेर भएपनि काम गरिरहेका छन् । आयोजनाको इलाम, पाँचथर, तेह्रथुम र धनकुट्टास्थित चिसियान केन्द्रमा पनि ३० जना कर्मचारीले दैनिक दूध संकलनको काम गर्दै आएको यादवले सुनाए ।


आयोजना सञ्चालनका लागि लकडाउनले दुध तताउनका लागि बोइलर चलाउनका लागि भुसको अभाव भइरहेको प्रमुख यादवको भनाई छ । ‘यसअघि भुस आपुर्तिका ठेक्का पाएका ठेक्केदारले धनुषाको महेन्द्रनगर, सिरहा, सप्तरीस्थित राइस मिलबाट ल्याएर धानको भुस आपुर्ति गर्दै आएको थियो,’ उनले भने, ‘प्रहरीले भुस अत्यावश्यकीय बस्तुमा नपरेको भन्दै ल्याउन अवरोध गरिरहेकाले समस्या भएको छ ।’ प्रदेश १ मा वार्षिक ५ लाख ६१ हजार १ सय ५० टन दूध उत्पादन भइरहेको छ ।

प्रकाशित : चैत्र २४, २०७६ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?