कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चामल उद्योगलाई धान र मजदुर अभाव 

विनोद भण्डारी

विराटनगर — सुनसरी मोरङ औद्योगिक करिडोरका खाद्य उद्योगहरुले धान र मजदुर अभावमा बजारमा माग अनुसारको चामल उत्पादन गर्न नसकेको जनाएका छन् । 

सरकारले लकडाउनमै खाद्य लगायत अन्य अति आवश्यकीय उद्योग नियमित सञ्चालन गर्न निर्देशन दिएपनि स्थानीय संयन्त्रको अवरोधका कारण मिलसम्म धान आउन नसक्दा समस्या भएको उनीहरु बताउँछन् । त्यस्तै प्रहरीले खाद्य उद्योगको परिचय पत्र देखाउँदा पनि मजदुरलाई लकडाउनको अवज्ञा गरेको भन्दै कुटपीट गर्ने गरेकोले मिलमा कामदार आउन नमानेको उद्योगीहरुको भनाई छ ।

औद्योगिक करिडोरमा चामल उत्पादन गर्ने ठूला र साना गरी झण्डै पाँच दर्जन मिल छन । ती मध्ये अधिकांश बन्द छन् । चलेका मिलले पनि क्षमताको आधा मात्र चामल उत्पादन गर्दै आएका छन ।


सामान्य अवस्थामा दैनिक १५–१६ टन चामल उत्पादन गर्दै आएको चन्द्रशिव राइस मिलले अहिले मजदुरको समस्या भएको जनाउँदै दैनिक सरदर ७–८ टन मात्र चामल उत्पादन र प्याकिङ गर्दै आएको छ । मिल सञ्चालक नरेश राठीले भने ‘सामान्य अवस्थाको भन्दा डेढा बढी ज्याला दिँदा पनि मजदुर काममा नआउँदा माग अनुसारको चामल उत्पादन गर्न सकिएको छैन ।’


उनका अनुसार मुस्किलले काममा आउन खोज्ने मजदुरललाई खाद्य उद्योगको परिचय पत्र देखाउँदा पनि प्रहरीले सडकमै रोकेर कुटपीट गरेपछि आउनै छाडेका छन् । ‘स्थानीय प्रशासनले खाद्य उद्योगमा काम गर्ने मजदुरलाई लकडाउनमा आउजाउ गर्न पास दिएको छैन ’ उनले भने, ‘उद्योगले दिएको पास देखाउँदा प्रहरीले लाठी वर्षाउछ । यस्तो भएपछि मजदुर काममा आउने कुरै भएन । उता सरकार खाद्य उद्योग नियमित खोल भन्छ ।’


उनका अनुसार प्रदेश सरकार, स्थानीय निकाय र विभिन्न संघ संस्थाले राहत वितरणका लागि अहिले दैनिक सरदर १२–१५ टन चामल माग गर्दै आएका छन । खाद्यान्न बोकेका ढुवानीका साधनलाई लकडाउनमा निर्वाध रुपमा चल्न दिने सरकारले वताएपनि धान बोकेका ढुवानीका साधनलाई प्रहरीले गुडन नदिँदा मिललाई धानको अभाव सुरु भएको राठीले बताए ।


दैनिक २५ टन चामल उत्पादन गर्दै आएको राधाकृष्ण खाद्य उद्योग मजदुर अभावकै कारण बन्द छ । उद्योगका अपरेटर सबै भारतीय थिए । उनीहरु घर फर्किए । मिलका सञ्चालक सुशिल अग्रवालले भने, ‘स्थानीय मजदुर पनि काममा नआउँदा दुई सातादेखि मिल बन्द छ । मिलमा स्टक रहेको चामल अहिले सरदर दैनिक ८ टन बाहिर गइरहेको छ । मिलमा अब जम्मा ३० टन चामल मौज्जाद छ । त्यो सकिएपछि मिलको विक्री कक्षपनि बन्द गर्छौ ।’


विराटनगर महानगर प्रमुख भीम पराजुलीले भने अधिकांश खाद्य उद्योग बन्द हुँदा र चलेका उद्योगले पनि क्षमता अनुसारको उत्पादन नगर्दा राहत वितरणका लागि चाहिने आवश्यक परिमाणको चामल बजारमा एकमुष्ट पाउने स्थिति छैन ।


भारतमा लकडाउन कायमै रहेपनि जोगबनी नाकाबाट लकडाउनको दुईसातामा १३६ टन चामल, २६९ टन धान, ६२ टन गहुँ र २ हजार ४६७ टन मकै आयात भएको विराटनगर भन्सारको तथ्याङक छ । चामल आयातकर्ता राजु अग्रवालका अनुसार सामान्य अवस्थाको तुलनामा अहिले भारतबाट आयात हुने चामलको परिमाण न्यून छ । ‘अहिले चामलको माग बढेको छ । माग अनुसारको आपूर्ति गर्न सकिएको छैन ’ अग्रवालले भने ।

प्रकाशित : चैत्र २४, २०७६ १५:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?