सिरिजंघा गाउँपालिका नै लकडाउन

अब यो गाउँपालिकामा कोही पनि प्रवेश गर्न र बाहिर जान पाउनेछैनन्
आनन्द गौतम

ताप्लेजुङ — सिरिजंघा गाउँपालिकाले शनिबारदेखि पूरै लकडाउन भएको छ। अब यो गाउँपालिकामा कसैले पनि प्रवेश गर्न र बाहिर जान पाउनेछैनन्। नेपाल सरकारले देशभर लकडाउन गर्दासम्म यो निर्णय लागू हुने गाउँपालिका अध्यक्ष टीका गुरुङले बताए।  

लकडाउन सुरु भएपछि काठमाडौंबाट आएका दुई जना र मकवानपुरवाट ६ जना आएपछि गाउँपालिकाले कडाइ गरेको हो। उनीहरुलाई तेल्लोकको क्वारेन्टाइनमा राखिएको छ। काठमाडौंबाट आएका व्यक्तिले क्वारेन्टाइनमा बस्न अस्विकार गर्दै दलका नेतालाई फोन गराउन थालेपछि गाउँपालिकाले कडाइ गरेको हो।


यसै विषयमा निर्णय गर्न शनिबार कार्यपालिकाको बैठक बोलाइएको थियो। उनीहरु जहाँ छन्, त्यहीँको क्वारेन्टाइनमा १४ दिनसम्म बस्नुपर्ने निर्णय भएको प्रवक्ता लालकृष्ण चौहानले बताए।


गाउँपालिकाले स्वास्थ्यकर्मीको मनोबल बढाउन प्रोत्साहन भत्ता दिने निर्णय पनि गरेको छ। क्वारेन्टाइनमा खटिनेका लागि खाना र खाजा खर्चबापत दैनिक पाँच सय, गाउँपालिकाका अन्य स्वास्थ्य संस्थाका लागि दैनिक दुई सय र स्वास्थ्य चौकीका इन्चार्जलाई सञ्चार खर्च मासिक एक हजार रुपैयाँ दिने निर्णय भएको हो।


गाउँपालिकाभित्रका असंगठित क्षेत्रमा कार्यरत श्रमिक तथा असहायलाई उपलब्ध गराउने राहतसम्बन्धी मापदण्ड संशोधनसहित पारित गरेको पालिकाले जनाएको छ।

गाउँपालिकाले विपद् व्यवस्थापन कोष पनि स्थापना गरेको छ। कोषमा जनप्रतिनिधले एक महिनाको पारिश्रमिक बराबरको ४ लाख ८८ हजार ५ सय रुपैयाँ जम्मा गरेको अध्यक्ष गुरुङले बताए। पालिकाका अधिकृत स्तरका कर्मचारीले पाँच र सहायक स्तर तथा श्रेणीविहीनले पनि तीन दिनको तलब कोषमा जम्मा गर्ने भएका छन्।

प्रकाशित : चैत्र २२, २०७६ २१:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?