कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

धरानमा ४ हजार अतिविपन्‍न परिवारलाई खाद्यान्‍न वितरण

इटहरी उपमहानगरपालिकाले भने राहत वितरण र कोरोना रोकथामका लागि ८० लाख रुपैयाँको कोष खडा गरेको छ।
प्रदीप मेन्याङ्बो

सुनसरी — धरान उपमहानगरपालिकाले शनिबार ४ हजार अतिविपन्न परिवारलाई राहत वितरण गरेको छ। उपमहानगरपालिकाले वडा कार्यालयमार्फत राहत वितरण भएको हो। लकडाउनका बेला सबै क्षेत्र ठप्प भएकाले दैनिक ज्यालादारी गर्ने, बेरोजगारी र खाद्य सामग्री भण्डारण गर्न नसक्ने परिवारलाई राहत वितरण गरिएको राहत संकलन समितिका संयोजक समेत रहेका प्रमुख तिलक राईले बताए ।

धरानमा ४ हजार अतिविपन्‍न परिवारलाई खाद्यान्‍न वितरण

उपमहानगरले धरान क्षेत्रभरिमा करिब ८ हजार घरपरिवार अतिविपन्न भएको अनुमान गरेको थियो। तर २० वटा वडाबाट आएको तथ्यांकले ११ हजार भएको देखाएको छ। पहिलो चरणमा नदोहोरिने गरी ४ हजार परिवारलाई दिएपछि अर्को चरणमा बाँकी विपन्न परिवारलाई राहत दिने तयारीमा जुटेको प्रमुख राईले बताए।


चार जनाको परिवारलाई १० किलो चामल, ४ किलो आलु, १ लिटर खानेतेल, १ किलो दाल, १ किलो नुन र साबुन उपलब्ध गराइएको छ भने पाँचभन्दा बढी परिवारलाई १५ किलो चामल दिइएको प्रमुख राईले बताए।


उपमहानगरपालिकाले वितरण गरेका राहत सामग्रीहरु स्थानीय उद्योगी, व्यापारी, मनकारी दाता र संघसंस्थाबाट संकलन गरिएको हो। पहिचान भएका ११ हजार परिवारलाई पहिलो चरणमा राहत वितरण गर्न कम्तीमा १ हजार ३ सय २० क्विन्टल चामल, करिब ५ सय केजी आलु, करिब १२ हजार लिटर खानेतेल, १२ हजार किलो दाल आवश्यक पर्छ।


यसैबीच राहत संकलनमा सहभागी राहत वितरण समिति सदस्य पूर्व नगरप्रमुख मनोज मेन्याङ्बोले वडामा रहेको टोल विकास समितिले अति विपन्नको लागत संकलन गरेर उपमहानगरपालिकामा पठाएको संख्यामा केही त्रुटि रहेको हुनसक्ने बताएका छन्। ‘राहत भन्नासाथ जो कोहीले नाम टिपाउने र टिप्ने गरेमा राहत संकलन र वितरणमै समस्या आउन सक्छ,' उनले भने।


उता इटहरी उपमहानगरले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा शनिबार विभिन्न दाताहरुले सहयोगको घोषणा गरेका छन्। यसअघि श्री कृष्ण प्रणामी प्रतिष्ठान इटहरीले एक लाख एक हजार रुपैयाँको चेक प्रदान गरिसकेको छ।


राहत वितरण र कोरोना भाइरस रोकथाम गर्न उपमहानगरले ८० लाख रुपैयाँको कोष खडा गरेको छ।


प्रकाशित : चैत्र २२, २०७६ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?