१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

कोरोना परीक्षण : स्वाब संकलन गर्दैनन् तोकिएका अस्पताल 

आएजति सबैलाई रिफर गर्दा बीपी प्रतिष्ठानमा भार
प्रदीप मेन्याङ्बो

सुनसरी — सरकारले प्रदेश १ का विभिन्न अस्पताललाई कोरोना भाइरसको उपचार र स्वाब संकलन गर्ने जिम्मेवारी तोकेको छ । तर तिनले शंकास्पद बिरामीलाई सामान्य जाँचसमेत नगरी सोझै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने गरेका छन् । यसले प्रतिष्ठानमा भार बढ्नुका साथै आवश्यक सामग्रीसमेत अभाव हुन थालेको चिकित्सकहरू बताउँछन् ।

कोरोना परीक्षण : स्वाब संकलन गर्दैनन् तोकिएका अस्पताल 

‘कोरोना हो/होइन डाइग्नोसिसको प्रयास नै नगरी सिधै यतै रिफर गर्ने गरेका छन्,’ एक चिकित्सकले भने, ‘सरकारले ती अस्पतालमा पनि स्वाब संकलन गर्न किट, भाइरल ट्रान्सपोर्ट मिडियम (भिटिएम) लगायत सामान उपलब्ध गराएको छ । तर उनीहरू ती सामग्री सञ्चय गर्नतिर लागे । यता प्रतिष्ठानमा अभाव सिर्जना भएको छ ।’

सरकारले विराटनगरमा कोसी, नोबल र विराट अस्पताल तथा झापाका अस्पताललाई पनि स्वाब संकलन केन्द्र तोकेको छ । तिनले ज्वरो, रुघाखोकी र श्वासप्रश्वासका बिरामी आउनासाथ प्रतिष्ठान पठाउने गरेका छन् ।

प्रतिष्ठानको स्त्री तथा प्रसूति विभागका एसिस्टेन्ट प्रोफेसर सूर्यप्रसाद रिमालले मुलुक लकडाउन भएका बेला स्थानीय स्तरमै निदान गर्न सकिने बिरामी पनि रिफर गर्दा प्रसूति र इमर्जेन्सी विभागमा चाप थेग्न गाह्रो भएको बताए । यसरी बिरामीको भिड लाग्दा कोरोना संक्रमणको जोखिमसमेत बढेको उनको भनाइ छ ।


रिपोर्टमाथि नै अविश्वास

प्रतिष्ठानले आफैं कोरोना भाइरसको परीक्षण सुरु गरे पनि सेवाग्राहीहरू विश्वस्त देखिँदैनन् । अहिलेसम्म गरिएका सबै परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएकोमा यसैलाई लिएर उनीहरूले चिकित्सक र ल्याबको क्षमतामाथि नै प्रश्न गर्न थालेका छन् ।


परीक्षणमा कोरोना नदेखिएका व्यक्तिले फोन गरेर आफूसँग शंका व्यक्त गरेको प्रतिष्ठानका प्रवक्ता डा. अशोक ऐरले बताए । ‘रिपोर्ट नेगेटिभ आउनु खुसीको कुरा हो । तर मानिसहरू सबैको नेगेटिभ आयो भनेर उल्टै चिकित्सकलाई थर्काउने र प्रयोगशालामाथि नै शंका गर्न थालेका छन्,’ उनले भने ।

प्रतिष्ठानमा चार दिनयता कोभिड–१९ को परीक्षण हुँदै आएको छ । ३९ जनाको स्वाब नमुना जाँचिएकोमा शुक्रबार अपराह्न ३ बजेसम्म २४ जनाको रिपोर्ट आएको छ । सबैको नेगेटिभ छ ।

‘प्रतिष्ठानको प्रयोगशालाले कोरोनाको टेस्ट रिपोर्ट एक लटमा १२ जनाको मात्र दिन सक्छ । यसका लागि १० देखि १२ घण्टा लाग्छ । यो अरू रगत जाँचेजस्तो सजिलो हुन्न,’ प्रवक्ता ऐरले भने ।

प्रतिष्ठानमा पीसीआर गर्ने माइक्रोबायोलोजीका एक्स्पर्ट चिकित्सकहरू पहिल्यैदेखि छन् । विश्व स्वास्थ्य संगठनले मान्यता दिएको प्रयोगशाला छ । प्रतिष्ठानको माइक्रोबायोलोजी विभागका एडिसनल प्रोफेसर डा. नारायण भट्टराई आफैं एक्स्पर्ट हुन् । ‘हामीले यही विषयमै अध्ययन–अनुसन्धान गर्दै आएकाले काम नै यही हो । तर पहिले पर्याप्त उपकरण, किट, पीपीई, क्याबिन नभएकाले सकिएको थिएन । अहिले कोरोना भाइरसको जोखिम कम गर्न रातदिन खटिरहेका छौं,’ भट्टराईले भने ।

विश्व स्वास्थ्य संगठनले मान्यता दिएको एडभान्स मोलिकुलर प्रविधिमार्फत कोरोना जाँच्ने गरिएकाले रिपोर्टमा शंका नगर्न उनले आग्रह गरे ।

कोसी अस्पतालमा रहेको प्रविधिले राइबो न्युक्लिक एसिड (आरएनए) छुट्याएर शंकास्पद बिरामीको स्वाब प्रतिष्ठान पठाए दैनिक ९० देखि १ सय जनाको रिपोर्ट ३ घण्टामा दिन सकिने पनि उनले बताए ।

प्रतिष्ठानका मानसिक रोग विभागका प्रा. डा. निदेश सापकोटाले युरोप र अमेरिकाले गरेको गल्तीबाट पाठ सिक्दै लकडाउन अवधिभर सेल्फ क्वारेन्टाइनमा बस्नु सबैको दायित्व भएको बताए ।

‘कोरोनाबाट बच्ने एक मात्र उपाय भनेको सोसल डिस्ट्यान्स कायम गर्नु हो । यस्तो पेन्डेमिक अवस्थामा जब मानिसको स्वभाव नियन्त्रण हुँदैन तब सरकार र प्रशासनले हस्तक्षेप गर्नुपर्छ,’ उनले भने ।

कोरोनाका कारण उत्पन्न हुन सक्ने मानसिक तनाब कम गर्न मन विचलित हुन नदिने र काममा बढी ध्यान दिन जरुरी रहेको सापकोटाले औंल्याए । ‘लकडाउनका बेला आत्मविश्वास र इच्छाशक्ति बढाउने पुस्तक पढ्ने, सामाजिक सञ्जालमा कोरोनासम्बन्धी सूचना बढी नहेर्ने, घरमै बसेर दैनिकीलाई सिर्जनशील बनाउने बानी बसाउनुपर्छ,’ उनले भने ।


राहत वितरण वडाबाटै

लकडाउनले समस्यामा परेका विपन्न परिवारलाई वडा कार्यालयबाटै राहत वितरण हुने भएको छ । धरान उपमहानगरले एकद्वार प्रणाली अपनाउन भने पनि त्यसो गर्दा ढिलो हुने भन्दै अध्यक्षहरूले दोहोरो नपर्ने गरी आफैंले राहत बाँड्न माग गरेका थिए ।

उपमहानगरका प्रवक्तासमेत रहेका वडा नं २० का अध्यक्ष मणिराम राईले वडाले विपन्न नागरिकहरू प्रमाणित गरेर दोहोरो नपर्ने गरी वितरण गर्ने निर्णय भएको बताए । यसैबीच उपमहानगरले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोष स्थापना गर्ने निर्णय पनि गरेको छ । राहत समितिको बैठकको निर्णयलाई कार्यपालिका बैठकले अनुमोदन गरेको छ । कोषमा उपमहानगरको आकस्मिक कोषबाट २५ लाख रुपैयाँ राख्ने निर्णय छ । हालसम्म २९ लाख रुपैया जम्मा भएको छ ।

संकलित राहत नेपाल रेडक्रसको सहयोगमा वितरण गर्न धरान सभागृहमा भण्डारण गरी शुक्रबारदेखि प्याकिङ थालिएको छ । शुक्रबारसम्म फुड बैंकमा दाताहरूले दिएको ३ हजार १ सय १० केजी चामल, १ सय ४२ केजी दाल, ४६ लिटर तेल, ४६ केजी नुन संकलन भएको छ । पहिलो चरणमा ३ हजार परिवारलाई राहत वितरण गर्ने योजना रहेको उपमहानगरले जनाएको छ ।

प्रकाशित : चैत्र २२, २०७६ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?