१० जना क्वारेन्टाइनमा
भोजपुर — वैदेशिक रोजगारीबाट घर फर्किएका र अलपत्र कामदारहरुलाई क्वारेन्टाइनमा राखिएको छ । कोरोना भाइरस संक्रमणको त्रासका कारण साल्पासिलिछो गाउँपालिकाको कुलुङस्थित ९ जना र रामप्रसाद राई गाउँपालिकामा १ जनालाई क्वारेन्टाइनमा राखिएको हो ।
लकडाउनपछि खाँदबारीबाट भोजपुर छिरेका निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनामा काम गर्दै आएका ९ जनालाई संक्रमणबाट बचाउन क्वारेन्टाइनमा राखिएको साल्पासिलिछो गाउँपालिका अध्यक्ष महेश राईले बताए । ती मजदुरहरुलाई खानबस्न छुट्टै व्यवस्था मिलाइएको छ । दुबईबाट घर आएका रामप्रसादराई गाउँपालिकाका एक जनालाई पनि क्वारेन्टाइनमा राखिएको छ । उनको अवस्था सामान्य छ ।
त्यसैगरी रामप्रसादराई गाउँपालिकाले लकडाउनको समयमा मदिरा बिक्री वितरणमा कडाइ गरेको छ । गाउँपालिका अध्यक्ष बिजय राईले मदिराको बिक्री वितरण र सेवन बन्द गराउन प्रहरी, जनप्रतिनिधि र कर्मचारी परिचालन गर्ने निर्णयसहित सूचना जारी गरिएको बताए ।
संक्रमण जोखिम बढेकाले गाउँपालिका प्रवेश गर्ने सबै नाकाहरू बन्द गर्ने र जरुरी काम परे गाउँपालिकाको पास अनिवार्य गराइएको उपाध्यक्ष सम्झना राईले बताइन् ।