१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रदेश १ मा ५० शय्याको कोरोना अस्पताल सञ्चालन

देवनारायण साह

मोरङ — प्रदेश १ सरकार र विराटनगर महनगरपालिकाको संयूक्त लगानीमा शुक्रबारदेखि विराटनगरमा कोरोना अस्पताल उपचार केन्द्र सञ्चालन भएको छ । विराटनगर १० स्थित नेशनल ट्रेडिङको भवनलाई मर्मत सम्भार गरी १० वटा भेन्टिलेटरसहितको ५० शय्याको कोरोना अस्पताल सञ्चालन गरिएको हो ।

प्रदेश १ मा ५० शय्याको कोरोना अस्पताल सञ्चालन

मुख्यमन्त्री शेरधन राईले अस्पतालको उदघाटन गरे । मुख्यमन्त्री राईले प्रदेशमा कोरोना संक्रमणबारे सचेतता अपनाएर तयारी अवस्थामा बस्नु पर्ने आवश्यकता ठान्दै अस्पताल निर्माण गरिएको बताए । ‘यस अस्पतालमा अहिले कोराना संक्रमितलाई मात्रै उपचार गर्ने व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘कोरोनाको संक्रमण हुन नदिन लकडाउनलाई सफल बनाउन र घर बाहिर ननिस्कन प्रदेशवासीलाई आग्रह छ ।’

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले अस्पतालमा स्वास्थ्यकर्मी, चिकित्सक, कर्मचारी खटाएर सञ्चालन गर्ने जिम्मेवारी कोशी अस्पताललाई दिइएको बताए । ‘यस अस्पतालभित्र कोरोना संक्रमित बिरामी र स्वास्थ्यकमी, चिकित्सक तथा कर्मचारी मात्रै प्रवेश गर्न पाउने छन्,’ उनले भने, ‘अस्पताल परिसरको मूल गेटको टेण्टमा सञ्चालन भएको अस्पतालको कार्यालयसम्म मात्रै जो कोही पनि आउन पाउने व्यवस्था गरिएको छ ।’


उपचारमा संलग्न चिकित्सकहरुको बिमा, संक्रमित भएको अबस्थामा निःशुल्क उपचार र अतिरिक्त भत्ताको प्रदेश सरकारले व्यवस्था गरेको मन्त्री घिमिरेले बताए । अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीलाई खाने र बस्ने व्यवस्था अस्पताल भित्रै गरिएको उनले बताए । स्वास्थ्यकर्मी, चिकित्सकहरुको सुरक्षात्मक सामग्रीको प्रदेश सरकारले परिपूर्ति गर्ने घिमिरेले प्रतिबद्धता जनाए ।

कोशी अस्पतालका मेडिकल सुपरिडेण्टेण्ट डा. संगिता मिश्रले ६/६ घण्टाको डियूटी बनाएर २४ सै घण्टा चिकित्सक, स्वास्थ्यकर्मी परिचालन गर्ने व्यवस्था गरेको बताइन् । अस्पतालमा ४० शय्या जनरल वार्ड र १० शय्या आइसियूका लागि छुट्टयाइएको छ । हरेक वार्डमा सीसी क्यामेरा जडान गरिएकाले कन्ट्रोल रुमबाट बिरामीको निगरानी गरिने व्यवस्था अस्पतालमा गरिएको छ ।


अस्पतालमा अहिले ५० शय्याको व्यवस्था गरिए पनि बिरामीको चाप बढेपछि ७० शय्यासम्म बिस्तार गर्न सकिने अस्पतालले जनाएको छ । प्रदेश सरकारले चैत ७ गते नेशनल ट्रेडिङ भवनमा कोरोना अस्पताल ७ दिनभित्र निर्माण गरी सञ्चालनमा ल्याउने घोषणा गरेको थियो । अस्पताललाई पछि शिक्षण अस्पतालको रुपमा सञ्चालन गर्ने मन्त्री घिमिरेले बताए ।

प्रकाशित : चैत्र २१, २०७६ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?