१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

घर खाँचो टार्न रकम सापटी

अर्जुन राजवंशी

बिर्तामोड — लकडाउनको समयमा घर खाँचो टार्न सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई निर्ब्याजी रकम सापटी दिने निर्णय गरेको छ ।

सहकारीले आफ्ना १५ हजार विपन्न तथा लघुवित्त सदस्यलाई दुई महिनासम्म चलाउन पाउनेगरी रकम सापटी दिने निर्णय गरेको हो । एक जना सदस्यलाई बढीमा ५ हजारसम्मका दरले रकम सापटी दिन ७ करोड रुपैयाँ विनियोजन गरिएको सहकारीका प्रमुख कार्यकारी महेन्द्र गिरीले जानकारी दिए ।


सहकारीले कोरोना भाइरस (कोभिड १९) को विपदमा ५० लाख रुपैयाँको राहत प्याकेज समेत सार्वजनिक गरेको छ । शुक्रबारदेखि सहकारी २५ औं वर्षमा प्रवेश गरेको अवसरमा राहत प्याकेजको निर्णय गरेको गिरीले बताए ।


उनका अनुसार उक्त रकममध्ये ५ लाख प्रधानमन्त्री राहत कोषमा, ४ लाख प्रदेश सरकारले विराटनगरमा निर्माण गरेको कोरोना विशेष अस्पताललाई, ११ लाख झापा, मोरङ, सुनसरी, इलाम र उदयपुरका क्वारेन्टाइनलाई, ४ लाख पाँच जिल्लाका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पीपीई खरिदका लागि, ६ लाख एक हजार भुटानी शरणार्थीको खाद्यन्नका लागि र २० लाख रुपैयाँ स्थानीय तहहरुसंगको सहकार्यमा अतिविपन्न परिवारलाई खाद्यन्न सहयोग वितरण गरिने गिरीले बताए ।


सहकारीले सदस्यहरुलाई चैत मसान्तभित्र बुझाउनुपर्ने सावाँ र ब्याज वैशाख मसान्तभित्र बुझाउन सकिने निर्णय गरेको छ । उक्त अवधिको हर्जाना छुट दिने निर्णय समेत गरेको उनले बताए । एक लाख ४७ हजार शेयर सदस्य रहेको सहकारीमा एक लाख २८ हजार सदस्य विपन्न परिवारका रहेको गिरीले बताए ।

प्रकाशित : चैत्र २१, २०७६ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?