कोरोना परीक्षणका लागि नाम लेखाउने बढे

प्रशासन, प्रहरी र जनप्रतिनिधिमार्फत शंकास्पद बिरामीको स्वाब नमुना संकलन गरी परीक्षणका लागि पठाइँदै
माधव घिमिरे

विराटनगर — धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस (कोभिड- १९) संक्रमण परीक्षण गर्न थालिएयता प्रदेशका विभिन्न जिल्लाबाट बिरामीको ‘स्वाब’ संकलन भइरहेको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण ज्वरो आउने र खोकी लाग्ने भएकाहरूले परीक्षणका लागि नाम लेखाउने क्रम पनि बढ्दै गएको छ ।

कोरोना परीक्षणका लागि नाम लेखाउने बढे

बिहीबार साँझसम्म परीक्षण गराउन नाम लेखाउनेको संख्या १ सय ८८ पुगेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले स्थानीय प्रशासन, प्रहरी र जनप्रतिनिधिमार्फत शंकास्पद बिरामीको स्वाब नमुना संकलन गरी परीक्षणका लागि पठाउने गरेको जनाएको छ । गत आइतबारदेखि वीपी प्रतिष्ठानमा कोरोना भए नभएको परीक्षण गर्न थालिएको हो ।

पछिल्लो पटक बिहीबार शंकास्पद ५ जना बिरामीको नमुना संकलन गरिएको छ । ओखलढुंगाका २ र सोलुखुम्वुका ३ जना शंकास्पद व्यक्तिको नमूना संकलन गरिएको सामाजिक विकास मन्त्रालययका प्रवक्ता डा. सुरेश मेहताले जानकारी दिए ।

प्रदेश १ मा बिहीबारसम्म ५९ जनाको नमुना संकलन गरिएको छ । तीमध्ये ४५ जना पुरुष र १४ जना महिला छन् । संकलन गरिएकामध्ये ४२ जनाको रिपोर्ट आइसकेको मेहताले बताए । ती सबैको रिपोर्ट कोरोना नेगेटिभ आएको छ ।

उनका अनुसार झापाबाट ५, मोरङबाट ९, सुनसरीबाट २५, धनकुटाबाट १, तेह्रथुमबाट २, संखुवासभाबाट १, भोजपुरबाट २, सोलुखुम्बुबाट ५, ओखलढुंगाबाट २, उदयपुरबाट ४ र पाँचथरबाट ३ जना शंकास्पद व्यक्तिको स्वाब संकलन भइसकेको छ ।

कोरोना भाइरसका शंकास्पद १ सय ८८ जना बिरामीले अस्पतालमा नाम दर्ता गराएका छन् । सुनसरीबाट १ सय ६९, मोरङ, झापा र सोलखम्बुबाट ५-५ जना र उदयपुर र पाँचथर २-२ जनाले नाम दर्ता गराएको डा. मेहताले बताए ।

प्रदेश १ मा बिहीबारसम्म आइसोलेसनमा ११ जना भर्ना भएका छन् । भर्ना भएकामध्ये ६ जना पुरुष र ५ जना महिला छन् । आइसोलेसनमा बस्नेमा सुनसरीबाट १, ओखलढुंगा र उदयपुरबाट २-२ जना महिला रहेका छन् । यस्तै मोरङबाट ४, ताप्लेजुङ र पाँचथरका १-१ जना पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

आइसोलेसनमा रहेर उपचार र रेखदेखपछि निको भएर ४ जना डिस्चार्ज भएका छन् । प्रदेश १ का ४३ अस्पतालले ४ सय १ आइसोलेसन बेड तयारी अवस्थामा राखेका छन् । प्रदेशभरमा ३ सय ९७ वटा फिबर क्लिनिक सञ्चालनमा छन् । फिबर क्लिनिकमा बिहीबार मात्रै जाँचका लागि १ हजार ९ सय ४१ जना बिरामी आएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले प्रदेशका विभिन्न जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा अस्पतालहरूलाई चिकित्सकका लागि चाहिने ६ सय ७६ वटा व्यक्तिगत सुरक्षा सामग्री वितरण गरेको छ ।

प्रकाशित : चैत्र २१, २०७६ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?