१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

रामनवमीमा सुनसान हलेसी

डम्बरसिं राई

खोटाङ — रामनवमीको दिन बिहीबार हलेसीमा पहिलेजस्तो तामझाम थिएन । बाजागाजासहितको हजारौं तीर्थालुको लस्कर पनि थिएन । थिए त केवल बालपूजारीहरु र थोरै लब्ध प्रतिष्ठितहरु । 

रामनवमीमा सुनसान हलेसी

यो वर्षको रामनवमी मेलाको अवसरमा हलेसी तुवाचुङ नगरपालिका, हलेसी विकास समिति, हलेसी मन्दिर व्यवस्थापन समिति, प्रहरी लगायतका प्रतिनिधिहरु मात्र पूजाआराधनामा सामेल थिए । रामनवमीको अवसरमा शिव–पार्वतीलाई गहना पहिराएर पूजाआराधना गर्ने परम्परा अनुसार थोरै मान्छे मात्र प्रवेश गराइएको नगरप्रमुख इवन राईले बताए ।


‘कोरोना भाइरसका कारण सर्वसाधारणलाई पूजाआराधनामा रोक लगाइएको छ,’ नगरप्रमुख राईले भने, ‘यो वर्षको रामनवमीमा चाहिँ पराम्परागत पूजाआराधना मात्र गरिएको छ ।’ अरु बेला हजारौं तीर्थालु सहित बाजागाजाका साथ गहना पहिराउने परम्परा रहेको उनले बताए । रामनवमी, शिवरात्री, बालाचतुर्दशी लगायतमा पनि शिव–पार्वतीलाई गहनाले पहिराएर पूजाआराधना गर्ने चलन छ ।


हिन्दू, बौद्ध र किराती संस्कृति सहित त्रिधार्मिक स्थलको रुपमा प्रख्यात हलेसीमा महादेव, बसाहा, पञ्चवती, ककनी, भैरवथान, कालिकाथान, मुरधुम गुफा, मारतीका गुम्बा लगायत तीर्थालुका लागि आकर्षणको केन्द्रविन्दु मानिन्छ । हलेसी गैरीगुठका बाघवंशी राईले शिकार खेल्ने क्रममा महादेवगुफा पत्ता लगाएको बूढापाकाहरुको भनाइ छ ।


विक्रम सम्वत् १८६१ सालमा गीर्वाणयुद्ध विक्रम शाहले हलेसीका मनोहर गिरीलाई ताम्रापत्रमा लेखी महन्त पूजारीको जिम्मेवारी दिएको पाइन्छ । यसबाहक गौतमबुद्धले यही गुफामा तपस्या गरेकाले विश्वका बुद्धमार्गीहरु समेत विद्या प्राप्तिका लागि आउने गरेका छन् ।

प्रकाशित : चैत्र २०, २०७६ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?