२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

वीपीमा परीक्षण गरिएका सबैजसोको रिपोर्ट  ‘नेगेटिभ’

माधव घिमिरे

विराटनगर — धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षा गरिएका प्रदेश १ का विभिन्न जिल्लाका कोरोना संक्रमणको शंकास्पद बिरामीमा संक्रमण नभएको पाइएको छ । गत आइतबारदेखि प्रतिष्ठानमा यस्तो जाँच सुरु गरिएको हो ।

वीपीमा परीक्षण गरिएका सबैजसोको रिपोर्ट  ‘नेगेटिभ’

त्यसयता बुधबारसम्म ५४ भन्दा बढीको ‘थ्रोट स्वाब’ नमुना परीक्षण गरिएको छ । तीमध्ये ४२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । नमुना प्रयोगशालामा पुर्‍याइएका अरुको रिपोर्ट आउन बाँकी छ ।


प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताका अनुसार मोरङ, झापालगायत जिल्लाका शंकास्पद बिरामीको नमुना परीक्षण गरिएको हो । सुनसरीका २५, मोरङका ९, झापाका ५, उदयपुरका ४, पाँचथरका ३, सोलुखुम्बु र भोजपुरका २/२, तेह्रथुमका २, धनकुटा र संखुवासभाका १/१ जनाको नमुना परीक्षण गरिएको मेहताले बताए ।


धरानमा कोरोना संक्रमण भए नभएको परीक्षण सुरु गरिएपछि विभिन्न जिल्लास्थित प्रशासन कार्यालय र स्थानीय तहको सक्रियतामा शंकास्पद बिरामीको नमुना पठाउन सुरु गरिएको हो । यो क्रम आइतबारयता दिनहुँ भइरहेको छ ।


वीपी प्रतिष्ठानमा आफैं गएर जाँच्नेहरु पनि उल्लेख्य देखिएका छन् । परीक्षणका लागि बुधबार अपरान्हसम्म सयभन्दा बढीले आफूलाई संक्रमण भए, नभएको परीक्षण गर्नका लागि नाम लेखाएका छन् ।


प्रदेश १ का बिभिन्न जिल्लामा करिब ४ सयजनालाई क्वारेन्टाइनमा राखिएको प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ । प्रदेशभर दुई सयभन्दा बढी स्थानमा करिब ३ हजार शय्याको क्वारेन्टाइन स्थापना गरिएको छ । देशमा हालसम्ममा ५१ वटा अस्पतालमा तीन सयभन्दा बढी शय्याको आइसोलेसन वार्ड स्थापना गरिएको छ ।

प्रकाशित : चैत्र १९, २०७६ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?