कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बीपीमा जाँचिएका १९ नमुनामा कोरोना नेगेटिभ

माधव घिमिरे

विराटनगर — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षणका लागि ल्याइएका १९ स्वाब नमुनामा संक्रमण नदेखिएको प्रतिष्ठानले जनाएको छ । आइतबार सुरु गरिएको शंकास्पदहरूको स्वाब परीक्षण मंगलबार पनि जारी रह्यो ।
२३ वटा नमुना लगिएकामा अरूको रिपोर्ट आउन बाँकी रहेको प्रतिष्ठानका सहप्रवक्ता डा. अशोक ऐरले बताए ।

बीपीमा जाँचिएका १९ नमुनामा कोरोना नेगेटिभ

प्रतिष्ठानमा उपकरणको व्यवस्थापछि कोरोना जाँच सुरु गरिएको हो । अहिलेसम्म प्रदेश १ का विभिन्न स्थानका १ सय ४८ वटा ‘स्क्रिनिङ’ गरिएको छ । तीमध्ये संक्रमण आशंकामा क्वारेन्टाइनमा रहेकाहरू छन् । केही भने उपचारपछि घर फर्किसकेको प्रतिष्ठानले जनाएको छ ।

यसअघि सोमबार ४३ जनाको स्वाब नमुना प्रतिष्ठान पुर्‍याइएको थियो । विभिन्न जिल्लामा क्वारेन्टाइनमा बसिरहेकाहरुको स्वाब परीक्षणका लागि पठाउने गरिएको प्रदेश सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए ।

प्रतिष्ठानको माइक्रोबायोलोजी विभागका भाइरससम्बन्धी ‘मोलिकुलर एक्सपर्ट’ चिकित्सकसमेतको सहभागितामा कोरोना जाँच थालिएको हो । सरकारले कोरोना भाइरस परीक्षण गर्ने किट, रसायन, भाइरल ट्रान्स्पोर्ट मिडियम उपलब्ध गराइदिएको छ ।


४६ जनाको नमुना संकलन

प्रदेशबाट कोरोना भाइरस (कोभिड १९) संक्रमण आशंका गरिएका थप ४६ जनाको स्वाब नमुना संकलन गरिएको छ । तिनमा दस महिला रहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले बताए ।

नमुना संकलन गरिएकामा सुनसरीबाट २५, मोरङबाट सात, झापाबाट पाँच, पाँचथरबाट तीन, तेह्रथुम र सोलुखुम्बुबाट दुई–दुई, धनकुटा र उदयपुरबाट एक–एक जना छन् ।

प्रदेश १ मा हालसम्म सात जना आइसोलेसनमा भर्ना भएका छन् । सोलुखुम्बुमा एक, उदयपुरमा दुई, पाँचथरमा तीन र ताप्लेजुङबाट एक जना आइसोलेसनमा रहेकोमा दुई जना डिस्चार्ज भइसकेको प्रवक्ता मेहताले बताए ।

प्रदेशमा हालसम्म ३५ अस्पतालका ३ सय ६१ वटा आइसोलेसन बेड तयार राखिएका छन् । सामाजिक विकास मन्त्रालयले जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा अस्पतालहरूलाई कोरोना नियन्त्रणसम्बन्धी सामग्री पठाइसकिएको जनाएको छ ।


फिबर क्लिनिक सञ्चालन गर्न निर्देशन

यसैबीच विभिन्न स्थानका स्वास्थ्य संस्थाले फिबर क्लिनिक बन्द गरेको भन्दै मन्त्रालयले अविलम्व सञ्चालन गर्न निर्देशन दिएको छ । यसअघि आकस्मिक र फिबर क्लिनिकबाहेकका सेवा मात्र बन्द गर्न निर्देशन दिइएको मन्त्रालयले स्पष्ट पारेको छ ।

प्रकाशित : चैत्र १८, २०७६ १९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?