राहतमा एकद्वार प्रणाली 

रमेशचन्द्र अधिकारी

धनकुटा — लकडाउनका कारण प्रभावित विपन्न, असहाय र दैनिक ज्यालामदुरीमा आश्रितहरूलाई एकद्वार प्रणालीबाट मात्र राहत वितरण गरिने भएको छ ।आफूखुसी राहत बाँड्ने होड देखिएपछि पालिकाहरूले यस्तो रणनीति लिएका हुन् । 

धनकुटा नगरपालिकाको मंगलबार बसेको आकस्मिक बैठकले दैनिक ज्यालादारी मजदुर र संकटमा परेका अन्य परिवारलाई राहत बाँड्ने निर्णय गरेको छ । वडागत विवरण संकलन गरी बुधबारबाट राहत बाँडिँदै छ । ‘धनकुटा नगरक्षेत्रका करिब २५ सय परिवारलाई राहत बाँड्ने योजना छ,’ नगरप्रमुख चिन्तन तामाङले

भने ।


प्रतिपरिवार २५ केजी चामल, २ केजी दाल, १ लिटर तेल, १ केजी नुन र हात धुने एउटा साबुन वितरण गरिँदै छ ।


आफूखुसी राहत संकलन र वितरण गर्ने व्यक्ति तथा संस्थालाई कडाइ गर्ने निर्णय पनि बैठकले गरेको छ । नगरक्षेत्रभित्र राहत संकलन र वितरण गर्दा नगरपालिकासँग अनुमति लिएर एकद्वार प्रणालीमा आउनुपर्ने प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले बताए । जिल्लाका अन्य सातवटै पालिकाले समेत राहतमा एकद्वार प्रणाली अपनाउने जनाएका छन् ।

प्रकाशित : चैत्र १८, २०७६ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्

‘कि त सरकारले दिनुपर्‍यो, नभए हामीले बनाएको पीपीई स्विकार्नुपर्‍यो’

फातिमा बानु, तस्बिर : कविन अधिकारी

काठमाडौँ — कोभिड–१९ का शंकास्पद र संक्रमित बिरामीको नजिक जाने चिकित्सकका लागि अत्यावश्यक मानिएको व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) अभाव हुँदा निजी अस्पतालले आफैं बनारहेका छन् । एकातर्फ सरकारले स्थानीय रुपमा बनेका पीपीई भरपर्दो छैन भनिरहेको छ । अर्कोतर्फ चीनबाट आएका पीपीई हब अस्पताल र ज्वरो क्लिनिक सञ्चालन गर्ने अस्पतालले पाउने हुन् या होइनन् भन्ने अन्योलता छ ।

स्थानीय रुपमा बनेका पीपीई कत्तिको सुरक्षित छन् र यसको प्रयोग किन आवश्यक छ भन्ने सन्दर्भमा ओम अस्पतालका विशेषज्ञ फिजिसियन डा. विश्वनाथ कोइरालासँग इकान्तिपुरका लागि फातिमा बानुले गरेको कुराकानी ।


पीपीई किन र कसले लगाउने ?
जटिलखाले सरुवा रोग अथवा स्वासप्रस्वास र छोएर सर्ने रोगका बिरामीको उपचारमा खटिने चिकित्सक तथा बिरामीको स्याहार गर्ने नर्स लगायत अन्य स्वास्थ्यकर्मीले लगाउने सुरक्षित पोशाकलाई व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) हो ।

यसमा शिरदेखि पाउँसम्म छोप्ने खालका सामग्री हुन्छन् । टोपी, गगल्स वा चस्मा, एन–९५ मास्क, शरीर छोप्ने गाउन, गमबुट, पञ्जा जस्ता सामान यसमा हुन्छन् । कोभिड–१९ मात्रै नभएर कडाखाले जुनसुकै रोगका बिरामी हेर्दा पीपीईको प्रयोग हुन्छ, हुँदै आइरहेको छ । यो लगाएर बिरामीको नजिक जाँदा बिरामीका थुकका छिटा लगायत अन्य तरल पदार्थको सम्पर्कमा आइँदैन । आईसीयू लगायत इन्फ्लुएञ्जा र अन्य भाइरल संक्रमणका बिरामी हेर्दा पनि नेपालमा प्रयोग भइरहेको वस्तु हो । अहिले कोभिडले विश्वव्यापी रुपमा भयाभह स्थिति लिएपछि मेडिकल क्षेत्र बाहेक सर्वसाधारणमा पनि यसको चासो बढेको मात्रै हो ।

स्वास्थ्यकर्मी जोसुकैले प्रयोग गर्ने चिज होइन । एम्बुलेन्स ड्राइभरलाईसम्म दिन सकिन्छ ।


डा. विश्वनाथ कोइराला

स्थानीय रुपमा बनिरहेका पीपीई कत्तिको सुरक्षित छ ?
पीपीई बनाउनका लागि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले छुट्टै मापदण्ड तोकेको छ । अहिले ओम अस्पताल लगायत अन्य अस्पतालमा बनेका कुनैपनि पीपीई डब्लूएचओकै मापदण्डमा बनेका होइनन् र बनाउन सम्भव पनि छैन । सरकारले सय बेडभन्दा माथिका सबै अस्पतालमा ज्वरो क्लिनिक राखेर कोभिड–१९ शंकास्पद बिरामीका लागि आइसोलेसन समेत राख भनेर निर्देशन दिएको छ । तर, ती अस्पताललाई सुरक्षा सामग्री दिइएको छैन ।

आफ्नो बचाउका लागि हामीले स्थानीय पीपीई बनाएको हो । शतप्रतिशत सुरक्षित नभएपनि केही हदसम्म यसले सुरक्षा प्रदान गर्छ । बिरामी आईसीयूमा भर्ना गर्नुपर्‍यो भने त्यस्ता बिरामीको उपचार गर्दा एक मिटरको पनि दुरी कायम गर्न सकिँदैन । भेन्टिलेटर जोड्नुपर्‍यो भने पाइप हाल्नुपर्छ । बिरामी बचाउँदा चिकित्सक नै जोखिममा पर्छन् ।

यस्तो ठाउँमा त डब्लूएचओ मापदण्डकै पीपीई चाहिन्छ नि तर, के गर्ने ? भोलि महामारी फैलियो भने हामीले सुरक्षा सामग्री दिएमात्रै उपचार गर्छौं भन्न मिलेन । अनि आफ्नै हिसाबले तयारी गरेका हौं ।



लगाएर मात्रै हुँदैन, सुरक्षित ढगंले लगाउनुपर्छ भनिन्छ नि ?
सुरक्षित ढंगले लगाउन जानिएन भने बिरामीबाट संक्रमण सजिलै सर्छ । अझ लगाउनुभन्दा पनि फुकाल्न जानिएन भने बढी जोखिम हुन्छ । पीपीई फुकाल्दा होसियार हुनुपर्छ । सकेसम्म विशेषज्ञको निगरानीमै फुकाल्नुपर्छ । किनकी उपचारपछि बिरामीसँग संसर्ग भइसकेको हुन्छ । कपडाभरी किटाणु टाँसिसकेका हुन्छन् । त्यही हातले शरीरको कुनै पनि भागमा झुकिएर मात्रै छोइयो भनेपनि संक्रमण सरिहाल्छ ।

सरकारले स्थानीय स्तरमा बनेका पीपीई भरपर्दो छैन भन्छ त ?
हामीले बनाएको पीपीई भरपर्दो छैन भने भरपर्दो सामान दिनुपर्‍यो नि सरकारले । हामीले उपलब्ध भएको स्थानीय सामग्री प्रयोग गरेर बनाएका हौं । यसमा किटाणु, हावापानी केही छिर्दैन । भरसक किटाणु नछिरोस् भनेर मेडिकल शिक्षाबाट पाएको ज्ञान प्रयोग गरेर बनाएको हो । कारखानामा बनेको जस्तै छ हामीले भनेको पनि छैनौं । कतै केही नपाएपछि हामीले के गर्ने ?

स्थानीय पीपीईले पोजेटिभ बिरामी हेर्न मिल्दैन भनिन्छ नि ?
यो पीपीई फ्रन्टलाइनमा बसेका शंकास्पद बिरामीसम्म हेर्न स्वास्थ्यकर्मीदेखि संक्रमित नै हेर्नका लागि बनाएको हो । हामी महामारीको लडाइँमा छौं । लडाइँमा जाँदा सबैलाई हतियार चाहिन्छ । कसैले बन्दुक, कसैले बम कसैले खुकुरी बोक्छन् । रित्तो हात लडाइँ लड्न सकिँदैन नि, केही हतियार नबोकी लडाइँ लड्छु भन्नु त झन् मुर्खता हो । कि त सरकारले हतियार दिनुपर्‍यो, कि हामीले बनाएको हतियार स्विकार्नुपर्‍यो । हामीले मिलेसम्म प्रयोग गर्न मिल्ने बनाएकाछौं ।

स्थानीय पीपीई लगाएर बिरामी हेर्दा कोही स्वास्थ्यकर्मी संक्रमित भए कसले जिम्मेवारी लिने ?
रोग नै यस्तो छ कि कसैले कसैको जिम्मेवारी लिनसक्ने कुरा होइन । पक्का पीपीई लगाएरै बिरामी हेरेका चिकित्सक र स्वास्थ्यकर्मी पनि संक्रमित भएकै छन् विश्वमा । मृत्यु भएकै छ । यत्तिको नाजुक अवस्थामा सम्बन्धित निकाय आफैंले सोच्ने कि, हामीले बनाएको सामान ठिक छैन भन्दै हिँड्ने ? कारखाना खडा गरेर मापदण्डसहितको सामान बनाउने बेला होइन यो, आफ्नो तर्फबाट जे सकिन्छ गर्ने हो, हर प्रयास गर्ने हो, हामी त्यही गरिरहेका छौं ।


प्रकाशित : चैत्र १८, २०७६ १८:४६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×