विदेशबाट फर्केकाबारे जानकारी दिनेलाई ५ हजार पुरस्कार

माधव घिमिरे

विराटनगर — सोलुखुम्बुको थुलुङ दूधकोसी गाँपालिकाले कोरोना भाइरसको सम्भावित संक्रमण फैलन नदिन विदेशबाट फर्केर आएकाहरुको निगरानी गर्ने नयाँ जुक्ति निकालेको छ । उक्त गाउँपालिकाले प्रहरी, प्रशासनसहितको संयन्त्रमार्फत विदेशबाट फर्केकाको विवरण संकलन भइरहे पनि थप कोही भए नभएको पत्ता लगाउने उपाय अपनाएको हो ।

विदेशबाट फर्केकाबारे जानकारी दिनेलाई ५ हजार पुरस्कार

गाउँपालिकाले विदेशबाट आएर घरैमा बसिरहेका कोही भए जानकारी दिन आग्रह गर्दै त्यस्तो जानकारी दिनेलाई ५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । संक्रमणको सम्भावित जोखिम हुन नदिन माइकिङ र अरु माध्यमबाट सन्देश प्रवाह गर्ने काम समेत गाउँपालिकाले गरिरहेको छ ।


गाउँपालिका अध्यक्ष असिम राईका अनुसार विदेशबाट आएर घरै बसिरहेका सबैबारे जानकारी नहुन सक्ने भएकाले गाउँले, छरछिमेकले जानकारी दिन सकुन् भनेर पुरस्कारको घोषणा गरिएको हो । उक्त गाउँपालिकामा हालसम्म रोजगारीका लागि विदेशमा भएका तर हालै फर्किएकाको संख्या ५ रहेको पाइएको छ । उनीहरुलाई होम क्वारेन्टाइनमा राखिएको छ ।


सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक टेकुनन्द इवा लिम्बूका अनुसार जिल्लाभर विदेशबाट फर्केकाहरुको खोजी गर्ने काम भइरहेको छ । चैत सुरु भएयता हालसम्म विदेशबाट १८ जना आएको विवरण प्राप्त भएको उनले बताए ।


‘सबैलाई होम क्वारेन्टाइनमा राखिएको छ,’ लिम्बूले फोनमा भने, ‘उनीहरुको सम्पर्क नम्बर राखिएको छ र चिकित्सकहरुले बेला बेलामा स्वास्थ्य अवस्थाबारे जानकारी लिने काम भइरहेको छ ।’ जिल्ला भित्रिएका १८ जनाबाहेक केही विदेशबाट फर्केका सोलुखुम्बुबासी काठमाडौंमा रहेको जानकारी पाएको लिम्बुले बताए ।


उनका अनुसार शंकास्पद दुईजनाको स्वाव परीक्षण गरिसकिएको छ । कतारबाट फर्केका दुवैजनामा कोरोना संक्रमण नभएको रिपोर्ट आएको लिम्बूले बताए । पर्यटकीय क्षेत्र खुम्बु र आसपासबाट हालसम्म ३ सयजना पर्यटकको उद्धार गरी काठमाडौं पठाइएको डिएसपी लिम्बूले बताए ।


सोलुखुम्बुका करिब साढे ३ सय शय्याको क्वारेन्टाइन बनाइएको जिल्ला प्रशासनले जनाएको छ । ४८ शय्याको आइसोलेसन कक्ष स्थापना गरिएको छ । जिल्लाका एक नगर र ७ गाउँपालिकामा पनि क्वारेन्टाइन बनाइएको छ ।


मोरङमा पनि विदेशबाट फर्कनेहरुको खोजी तीव्र पारिएको छ । रोजगारीका लागि विदेशमा रहेका ८ सयभन्दा बढी चैतमा घर फर्केको पाइएको छ । उनीहरुमध्ये ८५ जनालाई सम्बन्धित स्थानीय निकायले टाँडीस्थित नेपाली सेनाको क्वारेन्टाइन र केहीलाई आफैले स्थापना गरेको क्वारेन्टाइनमा राखेर निगरानी गरिरहेका छन् ।


विराटनगर महानगरपालिकामा २ सय ८० र अर्को सीमावर्ती रतुवामाई नगरपालिकामा १ सय २१ जना छन् । तीमध्ये ५१ जनालाई सेनाको टाँडीस्थित क्वारेन्टाइनमा र चारजनालाई महानगरपालिकाको बैजनाथपुर क्वारेन्टाइनमा राखिएको महानगर प्रमुख भीम पराजुलीले बताए ।


प्रदेश १ सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख सुरेश मेहताका अनुसार प्रदेशमा हालसम्ममा ५१ वटा अस्पतालमा २ सय ९७ शय्याभन्दा बढीको आइसोलेसन वार्ड स्थापना गरिएको छ ।

सोमबारसम्ममा शंकास्पद ३१ जनाको स्वाब परीक्षणका लागि पठाइएकामा २५ जनामा नेगेटिभ भेटिएको प्रतिवेदन आएको छ । अन्यको रिपोर्ट आउन बाँकी रहेको उनले बताए ।

प्रकाशित : चैत्र १८, २०७६ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?