२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

स्काई ट्रकले ल्यायो एक हजार थान पीपीई 

अन्य सामान गाडीबाट आउँदै
देवनारायण साह

मोरङ — संघीय सरकारले चीनबाट खरिद गरेर ल्याएका एक हजार थान पीपीई सोमबार अपरान्ह नेपाली सेनाको एनए ०६३ स्काई ट्रकबाट विराटनगर आइपुगेको छ । 

स्काई ट्रकले ल्यायो एक हजार थान पीपीई 

संघीय सरकारका प्रतिनिधिले उक्त पीपीई प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई हस्तान्तरण गरेको छ । अन्य सामग्री प्राविधिक कारणले स्काई ट्रकमा ल्याउन नसकिएकाले मालबाहक ट्रकमा आइरहेको घिमिरेले जानकारी दिए ।


उक्त पीपीई आजै कोरोना संक्रमणको आशंकामा भर्ना भएका बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई वितरण गरिने उनले बताए । ‘एक हजार थान पीपीइमध्ये कोसी अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई १५० वटाका दरले दिने, नेसनल ट्रेडिङको भवनमा बुधबारबाट सञ्चालन हुने कोरोना अस्पतालमा दुई सय र मेची अस्पतालका लागि ४६ थान प्रदान गर्ने नीति लिएका छौं,’ उनले भने, ‘बाँकी पीपीई प्रदेशस्थित १४ वटै जिल्ला स्वास्थ्य कार्यालयमध्ये मोरङमा ३४, सुनसरीमा २४, धनकुटामा १४, तेह्रथुममा १२, संखुवासभामा २०, भोजपुरमा १८, सोलुखुम्बुमा १६, उदयपुरमा १६, खोटाङमा २०, पाँचथरमा १६, ताप्लेजुङमा १८ र इलाममा २० वटा वितरण गर्छौं ।’


एक हजार थान पीपीई निकै थोरै भएको तर अहिले जोखिम मोलेर कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि निकै ठूलो राहत भएको मन्त्री घिमिरेले बताए ।


बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीको ज्यान जोखिममा पर्न नदिन प्रदेश सरकार सचेत रहेको र उनीहरुका लागि संघीय सरकारले भत्ताको व्यवस्था गरेसँगै प्रदेश सरकारले पनि बिमालगायतको भत्ताको व्यवस्था गरेको उनले सुनाए ।


कोरोना संक्रमणको आशंकामा सोमबारसम्म प्रदेश १ को विभिन्न जिल्लामा ३ सय ८१ जनालाई क्वारेन्टाइनमा र १३ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ । क्वारेन्टाइनमा राखिएका ८९ जनामा कुनै लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अधिकृत क्षितिज भट्टराईले बताए । यस प्रदेशमा हालसम्ममा १ सय ८७ स्थानमा ३ हजार १३ शय्याको क्वारेन्टाइन स्थापना गरिएको छ ।

प्रकाशित : चैत्र १७, २०७६ १६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?