१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

चौदण्डीगढीले बनायो ७० लाखको व्यवस्थापन कोष

डिल्लीराम खतिवडा

उदयपुर — चौदण्डीगढी नगरपालिकाले ७० लाख रुपैयाँको कोरोना संक्रमण व्यवस्थापन कोष स्थापना गरेको छ । कोरोना भाइरस (कोभीड–१९) संक्रमणको सम्भावित जोखिम न्यूनीकरण, नियन्त्रण र सर्वसाधरणको उपचारमा खर्च गर्नेगरी कोष स्थापना भएको हो ।

चौदण्डीगढीले बनायो ७० लाखको व्यवस्थापन कोष

नगरपालिकाको समपूरक कोषमा रहेको एक करोड मध्येबाट ७० लाख रुपैयाँ कोरोना संक्रमण व्यवस्थापन कोषमा रकमान्तर गरिएको नगरप्रमुख खगेन्द्र राईले बताए । ‘कोषको परिचालन सार्वजनिक खरिद ऐनअन्तर्गत गरिने छ,’ उनले भने, ‘नगरलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन कोष खडा गरिएको हो ।’


उनका अनुसार ‘लकडाउन’ को समयमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र अति विपन्न परिवारलाई उक्त कोषबाट रकम खर्च गरी राहत उपलब्ध गराइनेछ । ‘वडा कार्यालयबाट आएको सिफारिसको आधारमा मजदुर र विपन्न परिवारलाई कोषबाटै राहत दिइनेछ,’ उनले भने, ‘अहिलेलाई यो राहत १५ दिनका लागि वितरण गरिनेछ ।’ नगरपालिकामा करिब ७ हजारको संख्यामा दैनिक ज्याला मजदुरी गर्ने र अति विपन्न परिवार रहेको उनले जानकारी दिए ।


नगर क्षेत्रभित्रका कोरोना सक्रमणको आशंका गरिएका बिरामीलाई चौबीसै घण्टा नि:शुल्क एम्बुलेन्स सेवासमेत प्रदान गरिनेछ । एम्बुलेन्स चालकले नगरपालिकाको सिफारिसमा धरान र विराटनगरसम्मको लागि तीन सय, काँकडभिट्टासम्मका लागि ६ सय र काठमाडौंसम्मको लागि एक हजार रुपैयाँ प्रोत्साहन भत्ता पाउनेछन् ।


स्वास्थ्यकर्मीको लागि व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) उपलब्ध गराइएको छ । स्वास्थ्यकर्मीलाई कार्यालयमै रहेर जुनसुकै समयमा उपचार तथा परामर्श सेवा दिन सक्नेगरी व्यवस्था मिलाइएको छ ।


उनका अनुसार चौदण्डीगढी अस्पताल र रामप्रसाद राई खेलमैदानमा निर्मित सामाजिक भवनमा चिकित्सकीय र अक्सिजनसहितका सम्पूर्ण सेवा उपलब्ध रहेको १७ बेड क्षमताको आइसोलेसन कक्ष निर्माण गरिएको छ । विभिन्न वडामा गरी ३९ वटा क्वारेन्टाइन बेड तयारी अवस्थामा राखिएको छ ।


प्रकाशित : चैत्र १७, २०७६ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?