कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

मोरङमा विदेशबाट ८ सय फर्किए

विनोद भण्डारी

विराटनगर — कोरोना संक्रमणको त्रास बढेसँगै अहिले विदेशबाट फर्कनेहरुको खोजी कार्य भइरहेको छ । मोरङमा रोजगारीका लागि विदेशमा रहेका ८ सय भन्दाबढी चैतमा घर फर्केको पाइएको छ । 

उनीहरु मध्ये ८५ जनालाई सम्बन्धीत स्थानीय निकायले टाँडीमा रहेको नेपाली सेनाको क्वारेन्टाइन र केहीलाई आफैले स्थापना गरेको क्वारेन्टाइनमा राखेर निगरानी गरेका छन । उनीहरु मध्ये अधिकांश क्वारेन्टाइनको अवधी पार गर्दा कुनै संकेत देखा नपरेपछि घर फर्किएका छन् ।


यो अवधिमा विदेशबाट घर फर्कनेमा सबै भन्दाबढी सीमावर्ती विराटनगर महानगरपालिकामा २ सय ८० र अर्को सीमावर्ती रतुवामाई नगरपालिकामा १ सय २१ जना छन् ।


विराटनगरमा विदेशबाट फर्केका मध्ये ५१ जनालाई सेनाको टाँडीस्थित क्वारेन्टाइनमा र चार जनालाई महानगरपालिकाको बैजनाथपुर क्वारेन्टाइनमा राखिएको महानगर प्रमुख भीम पराजुलीले बताए । उनका अनुसार टाडीमा राखिएका ५१ मध्ये अधिकांशमा निश्चित अवधिमा कोरोनाको कुनै पनि लक्षण देखा नपरेपछि घर फर्किएका छन् ।


सीमावर्ती रतुवामाईमा फर्कने मध्ये सयजना भारतबाट र अन्य २१ जना विदेशबाट आएका छन् । नगर प्रमुख रविन राईका अनुसार उनीहरुलाई स्वास्थ्यकर्मीको निगरानीसहित सबै होम क्वारैन्टाइनमा छन् ।


बेलवारी नगरपालिकामा ८५ जना विदेशबाट आएका छन् । ती मध्ये एक भारतीय र एक चिनियाँ नागरिक छन् । भारतीयलाई सेनाको क्वारेन्टाइन र चिनियाँलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखेर स्वास्थ्य परीक्षण गर्दा उनमा कोरोनाको कुनै संकेत देखा नपरेको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । उनका अनुसार बाँकी सबै होम क्वारेन्टाइनमा छन् ।


केराबारी गाउँपालिकामा ५० विदेशबाट घर फर्केका छन । उनीहरु सबै घरमै रहेको पालिका प्रमुख रोहित कार्कीले बताए । पथरी नगरपालिकामा विदेशबाट फर्केका २० जना मध्ये १० जनालाई सेनाको क्वारेन्टाइनमा राखिएको र अरु घरमै रहेको नगर प्रमुख दिलिप राईको भनाइ छ ।


उर्लावारी नगरपालिकामा अहिले सम्म विदेशवाट फर्कनेमा ७ जना फेला परेको नगरप्रमुख खड्ग फागोले बताए । उनका अनुसार विदेशबाट फर्केका दुइसहित स्थानीय ३ जनालाई सेनाको क्वारेन्टाइनमा राखेर परीक्षण गर्दा कसैमा पनि कोरोनाको लक्षण देखिएन ।


सीमावर्ती कटहरी गाउँपालिकामा ४७, जहदामा १५, धनपालथानमा २४, रंगेली नगरपालिकामा ४, सुनवर्सी नगरमा १३ जना स्थानीयवासी भारत लगायत अन्य मुलुकवाट फर्किएको पाइएको छ ।


उनीहरु सबै स्वास्थ्यकर्मीको निगरानीमा आफ्नै घरको क्वारेन्टाइनमा रहेको सम्बन्धीत स्थानीय तह प्रमुखले बताएका छन् ।


भारतको केरलाबाट चारजना रंगेली फर्किएको पाइयो । उनीहरुको स्वास्थ्य परीक्षण पछि घरकै क्वारेन्टाइनमा स्वास्थ्यकर्मी र सुरक्षा निकायको निगरानीमा राखिएको नगर प्रमुख दिलिप बगोडियाले बताए ।


त्यसैगरी बुढीगंगा गाउँपालिकामा २३, ग्रामथानमा १७ सुन्दर हरैचा नगरमा २७ जना स्थानीय नागरिक विदेशबाट फर्किएर आएको पाइएको छ । उनीहरु सबैको स्वास्थ्य परीक्षण पछि होम क्वारेन्टाइनमा छन् ।

प्रकाशित : चैत्र १७, २०७६ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?