खोटाङबाट गर्भवतीको हवाई उद्धार

काठमाडौँ — लकडाउनले गर्दा देश ठप्प भएको बेला खोटाङ ऐंसेलुखर्क गाउँपालिका ३ की गर्भवती २२ वर्षीया सिर्जना तामाङको शनिबार नि:शुल्क हवाई उद्धार गरिएको छ । अत्यधिक रक्तश्रावका कारण स्वास्थ्य जोखिममा परेपछि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान शाखाले नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी थापाथली प्रसूतिगृहमा उपचारका लागि ल्याएको हो ।

खोटाङबाट गर्भवतीको हवाई उद्धार

पाँच महिनाको गर्भवती तामाङलाई केही दिनयता रक्तश्राव सुरु भएको थियो । शुक्रबार साँझले रक्तस्राव बढेपछि परिवारले शनिबार बिहानै ऐंसेलुखर्कस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगेका थिए । स्वास्थ्य केन्द्रकी अहेब निर्मला शर्माका अनुसार तामाङको पाठेघरको मुख खुलेको, रक्तस्राव नरोकिएपछि उपचार सम्भव नभएपछि काठमाडौं रिफर गर्नुपरेको थियो ।


उनीहरुले बिहान १० बजेतिर मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाई प्रमुख अञ्जु ढुंगानालाई गर्भवती उद्धार गर्नका लागि फोन गरेका थिए । ढुंगानाले खोटाङका प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मासँग उद्धार गर्नुपर्ने यकिन गरेपछि हेलिकप्टरका लागि सेनासँग समन्वय गरिन् । लगत्तै खोटाङ उडेको हेलिकप्टरले गर्भवती उद्धार गरी प्रसूतिगृहमा उपचार भइरहेको इकाई प्रमुख ढुंगानाले बताइन् । योसँगै मन्त्रालयले हालसम्म जोखिममा परेका ९१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरेको छ । मन्त्रालयले ०७५ पुस ६ बाट उद्धार सुरु गरेको थियो ।


प्रकाशित : चैत्र १५, २०७६ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?