लकडाउनको पाँचौं दिनमा यस्तो छ विराटनगरको हाल [तस्बिरहरु]

जितेन्द्र साह

विराटनगर महानगरपालिकाको तीनपैनी चोकको एक घरको अघिल्तिरको पर्खालमा कोरोना भाइरस संक्रमण विरुद्धको सचेतना पोस्टर टाँसिएको छ । वरिपरी सरसफाइ गरी चिटिक्क पारिएको देखिन्छ । तर घरको मूल ढोका र प्रवेश द्वार बन्द गरिएको छ ।

लकडाउनको पाँचौं दिनमा यस्तो छ विराटनगरको हाल [तस्बिरहरु]

अत्यावश्यक काम परेमा मास्क लगाएर परिवारका एक सदस्य मात्र बाहिर निस्कन्छन् । फर्कँदा नुहाएर मात्र कोठामा प्रवेश गर्छन् । जरुरी कामले कोही आगन्तुक आएमा घर बाहिरै राखेर परिवारजनले टाढाबाटै कुराकानी गर्छन् ।

यो परिवार झै अहिले अधिकांश महानगरबासीले आफन्त, मित्रजन र छिमेकीलाई समेत सकेसम्म प्रत्यक्ष भेटघाटको साटो मोबाइल, ह्वाट्सएप र म्यासेन्जरमा गफ गर्न भनिरहेका छन् ।

सबैभन्दा बढी भीड हुने विराटनगरको प्रमुख तरकारी मण्डी गुद्री बजारलाई नगर प्रहरीले वरिपरीबाट घेरा हालेर बन्द गरेको छ । पूर्वसावधानी एवं सुरक्षा अपनाएर बजार सञ्चालन गर्न महानगरपालिका कार्यालयले पटकपटक दिएको सुझावलाई अटेरी गर्दा यो बजार पूर्णतया लकडाउनमा परेको हो । सीमावर्ती बजारको यो मण्डीमा नेपाल र भारतका व्यापारीसहित सहरबासीको ठूलो घुँइचो हुन्थ्यो ।

सरसफाइको कडा प्रबन्धसहित अतिआवश्यक बस्तुको फाट्टफुट्ट पसल खुलेका छन् । तर, अन्य मुलुकमा कोरोना भाइरस संक्रमण बढेकाले यहाँको बजार एवं सडकमा स्थानीयको उपस्थिति न्यून छ । खुल्ला रहेका मल र पसलले पनि उपभोक्ताबीच तीन फिटको दुरी राख्न लगाएर मात्र सामान बेचिरहेका छन् । यी व्यावसायिक थलोमा एक पटकमा पाँच जनालाई मात्र प्रवेशको अनुमति छ ।

खाद्यान, दुध एवं औषधि व्यवसायीहरूले हात धुन लगाएर मात्र उपभोक्तासँग व्यवहार गरिरहेका छन् । फुटपाथमा निकै दुरी राखेर मात्र स्थानीय व्यवसायीहरूले तरकारी पसल सञ्चालन गरिरहेका छन् । संक्रणको डरले उनीहरू पनि चाँडो बेचेर पसल बन्द गरी घर जाने हतारोमा हुन्छन् ।

पर्याप्त दुरी राखेर किनमेल भइरहेको छ । विराटनगर प्रवेशका मुख्य नाका एवं सडकलाई बन्द गरिएको छ । सडकमा आउजाउ गर्नेको प्रहरीले सम्पूर्ण जानकारी लिइरहेको छ । दैनिक आवश्यकताका सामग्री बोकेर आएका वाहन चालकलाई समेत कहाँ जान लागेको र फर्कन कति समय लाग्ने भन्‍नेबारे प्रहरीले सोधपुछ गरिरहेको देखिन्छ ।

प्रकाशित : चैत्र १५, २०७६ १३:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?