प्रदेश १ का आइसोलेसनमा ९ जना र क्‍वारेन्टाइनमा १०३ जना

देवनारायण साह

मोरङ — कोभिड–१९ को आशंकामा प्रदेश १ स्थित विभिन्न अस्पतालमा रहेका आइसोलेसन वार्डमा ९ जना बिरामीको उपचार भइरहेको छ ।


विराटनगरस्थित कोशी अस्पतालमा ३, झापाको मेची अञ्चल अस्पतालमा १ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ५ जनाको उपचार भइरहेको प्रदेश १ को सामाजिक विकास मन्त्रालयलको तथ्यांकले जनाएको छ।

यस्तै, कोरोनाको शंकास्पद १ सय ३ जनालाई प्रदेशस्थित विभिन्न क्वारेन्टाइनमा राखिएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख सुरेश मेहताले बताए। प्रदेशमा हालसम्ममा २ सय ३ जनालाई होम क्वारेन्टाइनमा राखिएको उनले सुनाए। शंकास्पद २० जना बिरामीको स्वाब परीक्षणका लागि पठाइएको मेहताको भनाइ थियो।


प्रदेशभरमा हालसम्ममा १ हजार ४ सय ६४ शय्याको क्वारेन्टाइन र २ सय ७४ शय्याको आइसोलेसन वार्ड तयार भएको मेहताले बताए।


लकडाउन उल्लंघन गर्ने ८८ सवारी नियन्त्रणमा


मोरङमा बिहीबार लकडाउन उल्लघंन गरेर चलाइएका ८८ वटा सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ। मोटरसाइकल ७० र ट्याक्टर २, सिटी रिक्सा र टेम्पो ५, स्कुटर २ र साइकल ९ वटा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी मानबहादुर राईले बताए।


प्रकाशित : चैत्र १३, २०७६ १९:०२

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

७ दिने लकडाउनलाई ७ फिल्म– ३

यज्ञश

काठमाडौँ — लकडाउनको तेस्रो दिन । देशभरीबाट आज आएका समाचारहरुमा खासै हलचल छैन । सीमा बन्द भएकाले भागदौड पनि छैन ।

काखमा स-साना बच्चा च्यापेर हतास मुद्रामा बसिरहेका महिलाहरु आजका तस्बिरमा देखिएका छैनन्। हिजोसम्म यस्ता फोटोहरु अनलाइनहरुमा आइरहेका थिए।

कतै पुग्ने अनिश्चय, कतै के हुने हो भन्ने अनिश्चिता र व्यग्र प्रतीक्षा। समय बल्छीमा अड्किएको माछाजस्तो भएको छ। कतिखेर कसले बल्छी तान्ने हो र कसको फुर्लुङमा पुगेर अन्त्य हुने हो जस्तो।

काठमाडौं सहर मौन छ। लाग्छ, सहर साधनामा छ। हरेक सहरको आफ्नो मौलिक रंग र आवाज हुन्छ भन्छन्। काठमाडाैंको रंग गेरुवा हो भनेर केही वर्षअघि मसँगको अन्तर्वार्तामा प्रसिद्ध चित्रकार लक्ष्मण श्रेष्ठले भनेका थिए। पशुपतिदेखि स्वयम्भूसम्मलाई हेर्दा उनको भनाइ सत्य लाग्छ। भिक्षुको गाउनदेखि घरमा पोत्ने माटो र इँटाले रंग पनि त्यस्तै छन्।

अनि आवाज नि? काठमान्डुको स्वर के हो? अध्यात्मले के भन्छ थाहा छैन। दैनिक जीवनको हिसाबले हेर्ने हो भने काठमाडाैंका मुख्य दुई आवाज छन्– एउटा, गाडीको। र, अर्को सटरको।

कवि विप्लव प्रतीक भन्छन्– यदि काठमाडौंमा भएका सबै सटर एकैपटक खोल्ने र बन्द गर्ने हो भने पृथ्वीमा भुइँचालो आउनेछ। कोरोना–कहरले काठमाडौंको यो आवाज बन्द गरिदिएको छ।

यसका साथै एउटा डरले भने घन्टी बजाइरहेको छ। संसारभर फैलिएको यो महामारीसँग जुध्न सबभन्दा ठूलो आवश्यकता देखिएको छ, मानिसहरुको धैर्य। मन स्थीर र धीर हुनका लागि शान्ति चाहिन्छ।

लकडाउनको तेस्रो दिन मैले सिफारिस गर्न लागेको फिल्म त्यसमा सहायक हुनसक्छ। ७ दिनमा सात एसियाली फिल्मका ७ फिल्मको यो तेस्रो श्रृंखलामा पालो आएको छ, कोरियाको।

आजको फिल्म
स्प्रिङ, समर, फल, विन्टर ...एन्ड स्प्रिङ (२००३, कोरिया)
भनिन्छ, सबभन्दा ठूलो कोलाहल मान्छेको मनमा हुन्छ। जसलाई कसैले सुन्न सक्दैन। जसले त्यसलाई सुन्न सक्छ र बुझ्न सक्छ, त्यो साधु वा सिद्ध हुन्छ।

सिनेमाले मानिसलाई जीवनमा यस्ता कुराहरुको अनुभवहरु गर्ने मौका दिन्छ, जुन वास्तविक जीवनमा सम्‍भव छैन। तपाईं अन्तरिक्षमा नगइकन ‘ग्रयाभिटी’मा त्यसको अनुभव गर्न सक्नुहुन्छ। एक हजार वर्षअघि पृथ्वीमा मानिसको जीवन कस्तो थियो भन्ने ‘१०००० बीसी’मा देख्न सक्नुहुन्छ। दोस्रो विश्वयुद्ध कति भयानक थियो भन्ने जान्नलाई त सयौं फिल्म छन्।

किम कि दुक नामक प्रख्यात कोरियाली निर्देशक ‘स्प्रिङ, समर, फल, विन्टर ... एन्ड स्प्रिङ’ले चाहिँ तपाईंलाई आफ्नो मनभित्र हेर्न सिकाउँछ।

यो कथा हो, एउटा गुम्बा (मोनेस्ट्री)को। जंगलको बीचमा, तालको माझमा छ एउटा गुम्बा। यहाँ बाँचिरहेका छन्, दुई जीव। एउटा गुरु, अर्को चेला।

सानैमा परिवारले ल्याएर छोडेको (एक किसिमको परित्यक्त) चेलाको जीवनका पाँच चरणलाई निर्देशकले समयका पाँच चक्रका रुपमा पेस गरेका छन्। यी हरेक चक्रको कथा झन्डै १० वर्षजतिको अन्तरालका छन्।

सुरुको भागमा निकै कलिलो बालक छ। उसका बालसुलभ चञ्चलता छन्। त्यसपछिको भागमा केटो किशोर छ। उमेरको अर्को खुड्किलोमा पुग्दा स्त्री संसर्गको कथा यसमा छ। तेस्रो भागको कथा युवकको हो। युवकका रीस, आवेग, सफलता र असफलताका कुरा छन्। चौथो भागमा आइपुग्दा त्यो बालक एक समझदार, संसारलाई अर्कै नजरले हेर्ने मानिस भइसकेको छ। जो, आफ्नो जीवनलाई फर्केर हेर्न सक्छ र आफ्ना गल्तीहरु खुट्याउन सक्छ। फिल्मको अन्तिम भागमा नयाँ शिष्यको प्रवेश हुन्छ। यो भागले तपाईंको कमलो मनलाई पगाल्दिन सक्छ।

फिल्ममा बुद्धलाई एउटा बिम्बका रुपमा प्रयोग गरिएको छ। बौद्ध दर्शनलाई पनि यसले कतै छुन्छ। तर, यसलाई निर्देशकको जीवनप्रतिको आफ्नो बुझाइका रुपमा नै बुझ्नु उचित हुन्छ।

‘स्प्रिङ, समर...’ खासमा लेखेर बताउने भन्दा पनि हेरेर महसुस गर्ने फिल्म हो। यसले तपाईंलाई हरेक पटक सोच्ने ठाउँ दिन्छ। सास फेर्ने ठाउँ दिन्छ। यसैले म यसका बारे धेरै कुरा लेख्दिनँ, दुइटा कुरामात्रै थप्छु।

पहिलो- फिल्मको पहिलो भागमा एउटा प्रसंग छ। यसमा छन्- माछा, भ्यागुता र सर्प। जीवनको गम्भीर दर्शनको दृश्यमा कसरी वर्णन गर्ने भन्नेमा यो जत्तिको राम्रो दृश्य मैले कुनै देखेको छैन।

दोस्रो- मानिसको परिवपक्वता भनेको आफ्ना गल्ती आफैंले देख्न सक्ने स्थितिमा पुग्नु हो। यसको उमेरसँग खासै साइनो छैन। फिल्मको चौथो भागमा कथा जब पश्चातापमा पुग्छ, तब तपाईंलाई आफ्नो जीवन फर्किएर हेर्न मन लाग्नसक्छ।

किम कि दुक कोरियाका नामी निर्देशक हुन्। उनले बनाएका ‘टाइम’, ‘ब्रेथ’, ‘थ्री आइरन’, 'पियता', ‘ब्याड गाइ’जस्ता थुप्रै फिल्म चर्चित फिल्म छन्। साथमा एउटा अर्को कुरा पनि थपिदिउँ। निकै सुन्दर सिनेमा बनाउने यी निर्देशकलाई २०१७ मा एक अभिनेत्रीले शारीरिक हिंसाको आरोप लगाइन्। यो उनको करिअरको एउटा धब्बाको रुपमा रहेको छ।

वैकल्पिक फिल्म -ओक्जा (२०१७)

यस वर्ष ‘प्यारासाइट’बाट ओस्कर र कान्स जितेपछि बोङ जोन हु सबैले चिन्ने निर्देशक बनेका छन्। ‘प्यारसाइट’बारे चर्चा पनि निकै धेरै भइसकेको छ। यसैले मैले यहाँ विकल्पका रुपमा हुकै २०१७ को फिल्म ‘ओक्जा’ प्रस्तुत गरेको छु।

यो नेटफ्लिक्स फिल्मले तपाईंलाई यथार्थ, भविष्य र कल्पनाको फ्युजनवाला दुनियाँमा पुर्‍याउने छ। मानिसहरुले भोगिरहेको समस्या र प्रविधिलाई नै सबैथोक ठानेर चल्दा प्रकृतिमाथि हुने अन्यायको कथा यसले सुनाउने छ।

यो पनि हेर्नुहोस्

प्रकाशित : चैत्र १३, २०७६ १८:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×