कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आन्दोलनमा उत्रिने कोसी अस्पतालका स्वास्थ्यकर्मीलाई प्रशासनद्वारा स्पष्टीकरण माग

देवनारायण साह

मोरङ — विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले बुधबार आन्दोलन गरेको विषयमा अस्पताल प्रशासनले बिहीबार स्पष्टीकरण मागेको छ ।

आन्दोलनमा उत्रिने कोसी अस्पतालका स्वास्थ्यकर्मीलाई प्रशासनद्वारा स्पष्टीकरण माग

अस्पतालका मेट्रोन मञ्जु यादवले आन्दोलनमा उत्रेका स्वास्थ्यकर्मीहरुलाई आफ्ना समस्या अस्पताल प्रशासनलाई केही नभनी सञ्चारकर्मी र सामाजिक सञ्जालमा किन लेखेको र लेखाएको भन्दै बिहीबार कार्यालय समयभित्रै स्पष्टीकरण पेस गर्न र स्पष्टीकरण पेस नगरे कानुन बमोजिम कारबाही भइजाने चेतावनी दिएको छ ।


अस्पतालमै खाने बस्ने व्यवस्था गर्न स्वास्थ्यकर्मीको माग


स्वास्थ्यर्मीहरुले व्यक्तिगत सुरक्षा सामग्रीका साथै अस्पतालमै खाने र बस्ने व्यवस्थाको माग गर्दै आन्दोलनमा उत्रेपछि अस्पताल प्रशासन र प्रदेश १ का सामाजिक विकास मन्त्रालयले माग पूरा गर्ने प्रतिबद्धता जनाएको थियो ।

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट संगिता मिश्राले आन्दोलनमा उत्रिने स्वास्थ्कर्मीहरु प्रसूति विभागको रहेको र उनीहरु बिरामीको उपचारमा समेत नखटिएको अवस्थामा आन्दोलनमा उत्रेकाले आश्चर्यचकित भएको बताइन् ।

‘आन्दोलनमा उत्रेका स्वास्थ्कर्मी माथिका मेट्रोनले स्पष्टीकरण सोधेको हुन सक्छ तर स्वास्थकर्मीहरुलाई अस्पतालमा समस्या भएको अस्पताल प्रशासनलाई जानकारी नै नगराई मिडियाबाजी गर्नुको पछाडि केही कारण हुन सक्छ,’ उनले भनिन्, ‘आकस्मिक कक्षमा र आइसोलेसनमा खटिने स्वास्थ्यकर्मी र चिकित्सक केही नबोली आफ्ना काममा खटिरहेका बेला उनीहरुले किन आन्दोलनमा उत्रेको रहस्यपूर्ण छ ।’

प्रदेश सरकारले नेसनल ट्रेडिङ भवनमा निर्माण गरिरहेको आइसोलेसन अस्पतालमा उनीहरुलाई खटिनुपर्ने जानकारी गराइएको र त्यहाँ खट्न नचाहेर स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएको हुन सक्ने मिश्राको भनाइ थियो । उनले अहिलेको विपतको बेलामा एकजुट भएर त्योसँग लड्नुको साटो आन्दोलनमा उत्रिनु उचित नभएको बताइन् ।

मुलुकमा भएको तीन तहको सरकारले कोरोना भाइरसको संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मी र चिकित्सकलगायतलाई सुविधा दिन तयार रहेको अवस्थामा आफ्ना समस्याको बारेमा कुनै जानकारी नगराई आन्दोलनमा जानु पछाडि गलत मनसाय रहेको हुनसक्ने मिश्राको भनाइ छ ।

प्रकाशित : चैत्र १३, २०७६ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?