नेपालमा लकडाउन : उर्लाबारीमा भाटा अभियान !

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले एक साताका लागि लकडाउन जारी गरेको छ । कतिपय जिल्लाहरुमा लकडाउन अवज्ञा गरी सर्वसाधरण सडक, चोकमा निस्केपछि सेनासमेत परिचालन गरिएको छ । 

मोरङको उर्लाबारीमा भने लकडाउन उल्ल‌ंघन गर्नेलाई प्रहरीले भाटा हानेको छ। उर्लावारी नगरपालिकाको अगुवाईमा नगर प्रहरी र इलाका प्रहरी कार्यालयले 'भाटा अभियान' सुरु गरेको हो। सरकारी निर्णय अवज्ञा गर्दै सर्वसाधरणाहरु बाहिर निस्कन थालेपछि नगरपालिका मेयर खड्‍ग फागो सडकमै उत्रिए ।


'हाम्रो देशमा विश्‍वस्तरीय स्वास्थ्य सेवा पनि छैन। सरकारले लकडाउन घोषणा गरेर सर्वसाधरणाहरुलाई घरमै बस्‍न आग्रह गरेको छ,' मेयर फागोले भने,' सरकारी निर्णयको अवज्ञा गर्दै भेटघाट गर्ने, सडक जाम गरेर केही नै नभएजसरी बाहिर निस्कन थालेपछि नगर प्रहरीसहित भाटा बोकेर म सडकमै आएको हुँ।'


उनले एक दुई जनाका कारण धेरैको स्वास्थ्य जोखिममा पर्ने भएकाले यो अभियान सुरु गरिएको बताए । उनले भने, 'लातको भूत बातले मान्दैन भनेपछि के गर्नु? एक दुई जनालाई स्थानीय तहले भाटा हानेजसो गरेपछि त सचेत हुन्छन् नि ! 'अत्यावश्यक काममा भने सर्वसाधरणहरु बाहिर निस्किरहेको उनले बताए।


यस्तै उर्लाबारीनगरपालिकाले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सामग्रीहरु वितरण गरिरहेको उनले जानकारी दिए । लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर काम गर्ने श्रमिकहरुलाई नगरपालिकाले निःशुल्क खाद्यान्‍‍न उपलब्ध गराउने भएको छ। दैनिक काम नगरी गाँसबास नै उठ्न सक्‍ने नगरभित्रका श्रमिकहरुलाई खाद्यन्‍न वितरण गर्ने तयारी भइरहेको उनले जानकारी दिए।


श्रम नगरी जीविकोपार्जन नहुनेको संख्‍या नगरपालिकामा १६ देखि १७ सयको हाराहारीमा हुन सक्‍‍ने उनले बताए।
प्रकाशित : चैत्र १२, २०७६ १७:३४

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

उपत्यकामा ८ सय ९१ सवारीसाधन नियन्त्रणमा 

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ । 

अटेर गरी लकडाउन उल्लंघन गरी सञ्चालन गरेका ७ सय ७० मोटरसाइकल र १ सय २१ चारपांग्रे सवारी गरी ८ सय ९१ सवारी साधनलाई विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महाशाखाका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले बताए । अनावश्यक रुपमा घरबाट सडकमा निस्किएका सर्वसाधारणलाई समेत सम्झाइ–बुझाइ गरी घरमा फर्काइएको उनले बताए ।
अत्यावश्यक सेवा र पासका सवारी साधनमात्रै चल्न पाउने, अन्य सवारी साधनलाई नचलाउन र सर्वसाधारणलाई घरबाट ननिस्कन प्रहरी, स्थानीय तहलगायतले माइकिङ्ग गरेर घरभित्रै बस्न आग्रह गर्दै आएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) मुलुकमा फैलिन नदिन सरकारले मङ्गलबारदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि ‘लकडाउन’ गरेको छ ।

प्रकाशित : चैत्र १२, २०७६ १७:३१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×