अस्पतालमै खाने बस्ने व्यवस्था गर्न स्वास्थ्यकर्मीको माग

देवनारायण साह

मोरङ — यहाँका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले कोभिड–१९ (कोरोना भाइरस)का बिरामीको उपचारमा खटिनका लागि व्यक्तिगत सुरक्षा सामग्री र परीक्षणका लागि स्वाब लिने किटको अभावमा समस्या भएको बताएका छन् । उनीहरुले चिकित्सकलगायत स्वास्थ्यकर्मीहरु बिरामीको उपचारमा खटिएकाले कोरोना संक्रमणको उच्च जोखिम भएकाे र घरमा जाँदा परिवारका अन्य सदस्यहरु पनि त्यसको जोखिममा पर्ने भएकाले अस्पतालमै २४ सै घन्टा बस्ने व्यवस्था गर्न माग गरेका हुन् ।


विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत स्वास्थ्कर्मीहरु कोभिड–१९का शंकास्पद बिरामी उपचारमा र आइसोलेसनमा खटिँदा व्यक्तिगत सुरक्षात्मक सामग्री नभएको भन्दै आन्दोलनमा उत्रेका छन् ।

उनीहरुले बिरामीको उपचारमा खटिँदा अस्पताल प्रशासनले एउटा मास्कसम्म उपलब्ध गराउन नसकेको अवस्थामा काम गर्न नसकिने भन्दै आन्दोलनमा उत्रेका हुन् । बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले अस्पतालमै खान, बस्नेसहितको क्वारेन्टाइनको व्यवस्था गर्न माग गरेका छन् ।


स्टाफ नर्स बिन्दु शिवाकोटीले अस्पतालमा बिरामीको स्वास्थ्यो उपचारमा खटिएका स्वास्थ्यमर्कीहरु नै कोरोना भाइरसको संक्रमणको उच्च जोखिममा भएको बताइन् । ‘अस्पतालमा दैनिक ३० जना बढी उच्च ज्वरोका र रुघाखोकीका बिरामी उपचारका लागि आउने गरेका छन्,’ उनले भनिन्, ‘बिरामीसँग आएका कुरुवालगायतका परिवारजनहरु त्यत्तिकै अस्पतालमा डुलिरहने गर्छन् ।’ एकजना पनि कोरोनाको संक्रमित बिरामी फेला परे यस अस्पतालका सबैमा फैलिने उच्च जोखिम रहने उनले बताइन् ।


कोशी अस्पतालमा कोरोना भाइरसका बिरामीको उपचारका संलग्न चिकित्सकको नेतृत्व गरिरहेका डा. लक्ष्मीनारायण यादवले आफूहरुलाई अस्पतालमै २४ सै घण्टा बस्ने व्यवस्था गर्नुपर्ने माग गरे । उनले कोरोना संक्रमणको उच्च जोखिम रहेका आफूहरुले परिवारका अन्य सदस्यलाई पनि जोखिममा नपार्नका लागि अस्पतालमै बस्न चाहेको बताए ।

प्रकाशित : चैत्र १२, २०७६ १५:५८
प्रतिक्रिया
पठाउनुहोस्

इटालीमा कोरोना संक्रमित घरबाट बाहिर निस्किए ५ वर्षसम्म जेल सजाय हुने

एजेन्सी

रोम — कोरोना भाइरस (कोभिड–१९) को प्रकोपले आक्रान्त इटालीले क्वारेन्टाइनमा नबस्नेलाई जेल सजाय हुने आदेश जारी गरेको छ । इटालीले कोभिड–१९ संक्रमण भएका व्यक्तिले क्वारेन्टाइनमा बस्न अटेर गरे निश्चित समयका लागि जेल हालिने आदेश जारी गरेको हो ।

मंगलबार राति जारी गरिएको नयाँ आदेशमा स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरस पोजिटिभ देखिएका व्यक्ति घरबाहिर निस्किए एक वर्षदेखि पाँच वर्षसम्म जेल सजाय हुने व्यवस्था गरिएको सीएनएनले जनाएको छ ।

त्यस्तै क्वारेन्टाइनबाट बाहिर निस्केमा ३ हजार युरोसम्म जरिवाना तिराइने पनि नयाँ आदेशमा उल्लेख छ । पहिले क्वारेन्टाइनबाट बाहिर निस्केमा ४ सय युरो मात्रै तिराउने नियम थियो । त्यस्तै सरकारले जारी गरेको निर्देशन नमान्ने व्यापारिक प्रतिष्ठान र पसलहरु एक महिनासम्मका लागि बन्द गरिने पनि नयाँ आदेशमा उल्लेख छ ।
अहिले बनाइएको कानुनको प्रत्येक महिना पुनरावलोकन हुने र यसलाई अझ कडा बनाउन सक्ने पनि इटालीका अधिकारीहरुले जनाएका छन् ।

कोभिड–१९ को नयाँ इपिसेन्टर मानिएको इटालीमा बुधबार दिउँसोसम्ममा करिब ७० हजार संक्रमित भएका छन् भने करिब ७ हजारको मृत्यु भएको छ । इटालीमा मंगलबार मात्रै ७ सय ४३ जनाको मृत्यु भएको थियो ।

प्रकाशित : चैत्र १२, २०७६ १५:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×