क्‍वारेन्टाइन नबनेपछि भारतीय ४ बिरामीलाई अस्पतालले घर पठायो

दीपेन्द्र शाक्य

संखुवासभा — संखुवासभा बिरामी भएर जिल्ला अस्पताल आएका चार भारतीयलाई होम क्‍वारेन्टाइनमा फर्काइएको छ । २२० केभिएको कोसी करिडोरमा काम गर्न भारतबाट यहाँ आइपुगेका ती कामदारलाई ज्वरो र रुघाखोकी लागेको थियो । त्यसपछि उनीहरु सोमबार साँझ उपचारका लागि जिल्ला अस्पताल खाँदबारी आइपुगेका थिए । 

क्‍वारेन्टाइन नबनेपछि भारतीय ४ बिरामीलाई अस्पतालले घर पठायो

सदरमुकाम खाँदबारीमा २ दिन लगाएर निर्माण गरिएको ४० बेड क्षमताको क्‍वारेन्टाइनको तयारी पूरा नभएपछि उनीहरुलाई होम क्‍वारेन्टाइनमा बस्नु भनेर फर्काइएको हो । सँगै बसेका अन्य १५ जनामा पनि ज्वरो र रुघाखोकी रहेको उनीहरुले बताए ।


'कोरोना भाइरस संक्रमण हुन सक्ने भन्दै क्‍वारेन्टाइनमा राख्ने भनिए पनि तयारी पूरा नहुँदा उनीहरुलाई होम क्‍वारेन्टाइनमै पठाइएको छ,' अस्पताल विकास समिति अध्यक्ष सुमन शाक्यले भने, 'ज्वरो र रुघाखोकी लागेका एक जना भारतीयलाई भने अस्पतालले छुट्टै कोठाको व्यवस्था गरेको थियो ।' सुरक्षा समितिले क्‍वारेन्टाइनको तयारी पूरा नभएको भन्ने जवाफ दिएपछि होम क्‍वारेन्टाइनमा पठाएको उनले बताए ।

बरुण क्याम्पसमा ४० बेडको क्‍वारेनटाइन बने पनि तयारी पूरा नभएपछि उनीहरुलाई सुरक्षाकर्मीको निगरानीमा डेरामै बस्ने गरी पठाइएको उनले बताए । 'अस्पताल आएकामध्ये १ बिरामीको ज्वरो घट्दो अवस्थामा देखियो,' उनले भने, 'बाँकी ३ जनामा खासै केही देखिएन । उनीहरुसँग बस्दै आएका अरु १५ जनालाई पनि डेरामा सुरक्षित बस्ने गरी तुम्लिङटार पठाइएको छ ।'

उनीहरु निर्माणाधीन २ सय २० केभिएको कोसी करिडोरको काम गर्न १५ दिनअघि नेपाल आएका थिए । क्‍वारेन्टाइन नबनेकाले तत्काल कसैलाई राख्न नसकिने प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए । प्रजिअ दुलालले भने बुधबारमात्र सबै काम पूरा हुने बताए ।

प्रकाशित : चैत्र ११, २०७६ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?