२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

क्यामेरा भिरेर ‘फिल्ड’मा प्रहरी

काँकडभिट्टा — इलाका प्रहरी कार्यालय काँकडभिट्टाको क्विक रेस्पोन्स टिमका प्रहरी जवानहरू धर्मध्वज कार्की र दिपक खनालले छातीमा क्यामेरा (गोप्रो प्रविधिको) भिरेका छन् । नगर क्षेत्रमा हुने आपराधिक गतिविधिको खबर पाउनासाथ मोटरसाइकलमा हुइँकिन्छन् । घटनास्थल पुगेर क्यामेरामा गतिविधि कैद गर्छन् ।

‘यसले घटनाको अडियो र भिडियो प्रमाण जुटाउन सहयोग पुगेको छ,’ कार्कीले भने । पूर्वी नाका सुरक्षाका दृष्टिकोणले संवेदनशील छ । त्यही भएर अर्को क्यामेरा नाकाको ड्युटीमा खट्ने प्रहरीले आलोपालो प्रयोग गर्छन् । नाकामा हुने गतिविधि क्यामेरामा कैद हुन्छ । ‘आपराधिक गतिविधि रोक्न गोप्रो प्रभावकारी बनेको छ,’ काँकडभिट्टास्थित इलाका प्रहरीका नायब उपरीक्षक राजेन्द्र पोख्रेलले भने । प्रदेश १ सरकारले झापामा प्रहरीलाई २० थान यस्तो क्यामेरा दिएको छ । यसले अपराध अनुसन्धानमा सहज भएको झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए ।


अपराध अनुसन्धान र शान्ति सुरक्षासँग सम्बन्धित १५ बुँदे प्राथमिकतामा उनले प्रविधिको विकास र प्रयोगलाई आत्मसाथ गरे मात्रै अनुसन्धान प्रभावकारी हुने उल्लेख गरे । भीड नियन्त्रण र अरु बेला पनि फिल्डमा खटिने प्रहरी कर्मचारीले गोप्रो क्यामेरा प्रयोग गर्नेछन् । क्यामेरा प्रयोगले प्रहरी र सेवाग्राही दुवैलाई जिम्मेवार बनाउने प्रहरीको अपेक्षा छ ।


प्रहरी नायब उपरीक्षकले नेतृत्व गर्ने ‘क’ श्रेणीका इलाका प्रहरी कार्यालयहरू काँकडभिट्टा, बिर्तामोड, र दमकमा २/२ वटा क्यामेरा दिइएको छ । प्रहरी निरीक्षकको नेतृत्वका ‘ख’ श्रेणीका प्रहरी कार्यालयहरू धुलाबारी, झिलझिले, गौरीगन्ज र वडा प्रहरी कार्यालय भद्रपुरलाई १/१ वटा दिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई ५ वटा क्यामेरा उपलब्ध छन् । जिल्ला प्रहरीमा बेग्लै ५ वटा क्यामेरा छन् । जिल्ला प्रहरी कार्यालय र मातहतका अरू कार्यालयमा सीसीक्यामेरा पनि राखिएको छ ।


प्रकाशित : चैत्र १०, २०७६ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?