ठाउँ–ठाउँमा क्‍वारेन्टाइन 

कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न प्रदेशभर सतर्कता 
नाका बन्द गर्न स्थानीयको सुझाव, साप्ताहिक हाटबजार बन्द,   मास्क अभाव
प्रदेश ब्युरो

विराटनगर — छिमेकी भारतसहित विभिन्न मुलुकमा कोरोना भाइरसको संक्रमण बढिरहेकाले प्रदेश १ का जिल्लाहरूमा सतर्कता अप्नाइएको छ । ठाउँ–ठाउँमा क्वारेन्टाइनको व्यवस्था गरिएको छ । हातबजार बन्द गरिएका छन् भारतसंगको नाका बन्द गर्न स्थानीयले सुझाब दिएका छन् । शैक्षिक संस्थाहरू विदा भएकाले विद्यार्थी घरैमा बसिरहेका छन् ।

ठाउँ–ठाउँमा क्‍वारेन्टाइन 

सहरमा मास्क अभाव भएपछि गाउँ–गाउँमा बनाएर प्रयोग गर्ने क्रम बढेको छ । कतिपय स्थानका साप्ताहिक हाटबजार बन्द गरिएका छन् । सवारी साधन अघिल्ला दिनको तुलनामा कम गुडिरहेका छन् । बजारमा सर्वसाधारणको चहलपकलमा पनि कमी

देखिएको छ ।


प्रदेश यातायात व्यवस्था कार्यालय तथा यातायात सेवा कार्यालयहरूबाट सम्पादन हुँदै आएको सवारी र सवारी चालक अनुमतिपत्र दर्ता, नवीकरणको काम चैत मसान्तसम्मका लागि बन्द गरिएको छ । कोरोनाको सम्भावित संक्रमण जोखिमलाई ध्यान दिंदै संघीय सरकारले २५ जनाभन्दा बढी मानिस एकठाउँ जम्मा हुन नपाइने निर्देशनको पालना गरिएको छ ।

क्वारेन्टाइनहरू बनाइयो


कोरोना भाइरस संक्रमितलाई राख्न झापाको भद्रपुरस्थित कलवलगुडीमा ३२ शैय्याको क्वारेन्टाइन बनाइएको छ । मेचीनगरको सतिघट्टा क्षेत्रमा क्वारेन्टाइन निर्माण सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी उदयवहादुर राना मगरका अनुसार जिल्ला सुरक्षा समितिको बैठकले कलवलगुडी प्रशिक्षण केन्द्रलाई आपतकालीन क्वारेन्टाइन केन्द्र बनाउने निर्णय गरेको हो ।


मानव वस्तीभन्दा अलग रहेको उक्त स्थानमा केन्द्रका प्रयोगविहीन २२ वटा पुराना भवन रहेकामध्ये तीन कोठाको एउटा भवनमा क्वारेन्टाइन राखिने छ । रानाले करिव ३२ वेडको क्वारेन्टाइन निर्माण गरिसकिएको जनाए । यसैगरी, मोरङको बेलबारी नगरपालिकाले १५ शैय्याको आइसोलेसन वार्ड तयार गरेको छ । नगरपालिकाले आफनै भवनका दुई वटा कोठामा आइसोलेसन तयार गरिएको हो । वार्डमा ६ जना स्वास्थ्यकर्मी राखिने मेयर ज्ञानेन्द्र सुवेदीले बताए ।


आइसोलेसनको तयारी


भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा आइसोलेसन वार्ड राख्ने काम सुरु भएको छ । कोरोना भाइरसका सम्भावित संक्रमितको उपचार गर्ने उद्देश्यले बनाइने आइसोलेसन कक्ष अस्पतालनजिकको भवनमा रहने छ । जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पतालका अध्यक्ष सोमनाथ पोर्तेलले व्यवस्थापक समिति तथा डाक्टरहरूको वैठकपछि आइसोलेसन निर्माणको काम अघि वढेको जनाए ।


कोरोना संक्रमणको आशंका भएमा विरामीलाई अईसोलेसनमा राखी चिकित्सकद्वारा नमुना संकलन गरिने छ । संकलित नमुना केन्द्रीय प्रयोगशाला पठाइने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट पिताम्वर ठाकुरले जनाए । उनका अनुसार तत्काललाई सर्जरी वार्डलाई २ वटा आईसीयु सहितको कक्ष निर्माण गर्ने र पछि अर्को भवनमा सुविधासम्पन्न २ भेन्िंटीलेटर सहितको आईसीयु बनाइने छ ।


साप्ताहिक हाटबजार बन्द


कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न धनकुटाका सबै साप्ताहिक हाटबजार बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा स्थानीय तहका प्रमुख तथा प्रतिनिधिको भेलाले यो निर्णय गरेको हो । धेरै मानिसहरूको जमघट हुने हाट बजार चैत मसान्तसम्म बन्द गरिने प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले बताए । ‘अत्यधिक मानिस जमघट हुन निषेध गरिएको छ’, उनले भने, ‘हाटबजार सभा सम्मलेन नगर्न सार्वजनिक सुचना र निगरानी गरिएको छ ।’ धनकुटा र हिले बजारमा बिहीबार र जिल्लाका सबैजसो स्थानमा साप्ताहिक हाट लाग्दै आएको छ ।


बीपीमा चिकित्सा पढाइ बन्द


संक्रमणको जोखिमले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्साशास्त्रका स्नातक तहका सबै पठनपाठन स्थगित गरेको छ । प्रतिष्ठानका शैक्षिक डिन प्रोफेशर डा चन्द्र भुषण झाले सूचना जारी गर्दै अर्को सुचना जारी नभएसम्मका लागि स्नातकका एमविविएस, विडिएस, विएमआइटी, विएस्सी नर्सिङ, सवै पठन पाठन बन्द गरिएको जनाए । प्रतिष्ठानका सहप्रवक्ता डा अशोक ऐयरले भने, ‘चिकित्सा शास्त्रका स्नातकोत्तर तह अध्ययरत विद्यार्थी भने मेडिकल काउन्सिलमा रजिष्टर्ड चिकित्सकहरू हुने भएकाले उनीहरूलाई भने विदा दिइएको छैन ।’ प्रतिष्ठानले कोरोना भाइरस संक्रमण हुन नदिन सर्वसाधारणलाई अति जरुरी र सिकिस्त अवस्थामामात्र अस्पताल आउन आग्रह गरेको छ ।

नाका बन्द गर्न सुझाव


झापाका सीमा नाका बन्द गर्नुपर्ने स्थानीयले सुझाव दिएका छन् । काँकडभिट्टा, भद्रपुर, केचना, घेराबारी, कुमरखोद, फत्तेपुरलगायत सीमा नाका खुला छन् । यी नाकाबाट नेपाल–भारत आवतजावत गर्ने क्रम जारी छ । भारतमा कोरोना संक्रमित बढ्दै गएकोले सीमा नाका बन्द गर्नुपर्ने स्थानीयको माग छ । स्वास्थ्यकर्मीसहितको हेल्थ डेक्स राखेर भारतबाट नेपाल प्रवेश गर्नेको ज्वरो नाप्ने काम मात्र गर्ने गरिएको छ । नाका बन्द गर्न चौतर्फी दबाब बढेपछि जिल्लाको सर्वदलिय बैठकले पूर्वी नाका काँकडभिट्टा बाहेक अन्य सबै नाका बन्द गर्न संघीय सरकारसंग लिखित माग गरेको जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले बताए ।


‘शुक्रबारै नाका बन्द गर्न माग गर्दै सरकारलाई लिखित पत्र पठाएका छौं । माथिबाट जवाफ आउन ढिलाई भए आइतबारदेखि स्थानीय प्रशासनको अगुवाईमै नाका बन्द गर्ने तयारीमा छौं’ उनले भने । काँकडभिट्टा नाका पनि बिहान ८ देखि साँझ ६ बजेसम्म मात्र खुल्ला राख्ने सर्वदलिय बैठकले निर्णय गरेको उनले बताए । जिल्लामा कोभिड–१९ को संक्रमण फैलिन नदिन साप्ताहिक हाटहरू बन्द गर्न सबै १५ वटै पालिकालाई लिखित आग्रह गरिएको छ । खुल्ला रुपमा माछा, मासु पसल सञ्चालन गर्न रोक लगाएको पोर्तेलले बताए । सम्भावित जोखिमलाई ध्यानमा राख्दै जिल्लामा ५० लाख रुपैयाँको आपतकालीन कोष स्थापना गरिएको छ । कोषमा गाउँपालिकाले जनही २ लाख तथा नगरपालिकाले जनही ३ लाख रुपैयाँका दरले बुझाउनुपर्ने बैठकले निर्णय गरेकोछ ।

सर्वसाधारण सचेत, मास्क अभाव


धनकुटा नगरपालिका ४ देब्रेबासकी उमा भट्टराईले बजारभरी मास्क खोज्दा पाइनन् । कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न मास्क खोज्दा नभेटेकी हुन् । पहिले सहज पाइने मास्क पछिल्ला दिन अभाव भएको छ । औषधि व्यवसायी सुमन श्रेष्ठका अनुसार सातायता मास्क, सेनिटाइजर, हात धुने तरल साबुनलगायत वस्तु अभाव छ । माग बढेको तर आयात नभएकाले यस्तो भएको उनले बताए । काठमाडौं, विराटनगरलगायत सहरबाट ल्याउन खोज्दा मास्क नपाइएको व्यवसायी हरि श्रेष्ठले बताए ।


बजार क्षेत्रमा अभाव भए पनि गाउँतिर भने पाइने गरेको छ । ग्रामीण क्षेत्रमा उत्पादन गर्न थालिएकाले सहज उपलब्ध भइरहेको महालक्ष्मी नगरपालिका ३ डाँडागाउँकी जानुका थापाले बताइन् । वडा कार्यालयले पनिसर्वसाधारणका लागि मास्क वितरण गरेका छन् । स्थानीय कृष्ण पाँचकोटीले हालसम्म तीन हजार थान मास्क उत्पादन गरिसकेका छन् । हिलेमा पनि मातृभूमि महिला समाज, महिला सशक्तीकरण र हिले बचत तथा ऋण सहकारी संस्थाको सहयोगमा करिब २ हजार मास्क उत्पादन गरिएको छ ।

धनकुटा जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. पुजन विश्वकर्माले संक्रमणको जोखिमबाट बच्न सकेसम्म घरैमा सुरक्षित भएर बस्नुपर्ने बताए । अत्यावश्यक परे मास्क लगाएरमात्र बाहिर निस्कनुपर्ने उनको सुझाव छ ।

यात्रुको स्वास्थ्य परीक्षण


भोजपुर भित्रने यात्रुको स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ । विभिन्न सार्वजनिक स्थानहरूमा ‘हेल्थ डेस्क’ सहित स्वास्थ्यकर्मी खटिएका छन् । भोजपुर विमानस्थलमा हेल्थ डेस्क राखिएको छ । स्वास्थ्यकर्मी राजु श्रेष्ठका अनुसार कोरोनाको जोखिम बढेकाले घर फर्किने यात्रुको स्वास्थ्य परीक्षणका लागि डेस्क राखिएको हो । स्वास्थ्य परीक्षणपछि टिकट रुजु गर्ने र जाँचका साथै परामशै दिइने उनले बताए । कसैलाई लक्षण देखिए परीक्षणका लागि क्वारेन्टाइन हुँदै आईसोलेसन कक्षमा राखिनेछ उनले जनाए ।


अरुण गाउँपालिकाको जरायोटारस्थित इलाका प्रहरी अगाडि पनि हेल्थ डेस्क राखेर स्वास्थ्यकर्मी खटाइएका छन् । भोजपुर नगरपालिकाले सार्वजनिक स्थानमा हात धुन तर साबुनको व्यवस्था गरेको छ । जिल्ला अस्पताल गेट, जिरो प्वाइन्ट, बैंकरोड, चारभञ्ज्याङ, पानीटंयाकी, देउराली, बसपार्कलगायत १० स्थानमा यस्तो राखिएको हो ।

आन्तरिक नाकामा जाँच


खोटाङ, हलेसी तुवाचुङ नगरपालिकाको जयरामघाट र रेग्मीटारमा हेल्थ डेस्क राखिएको छ । जयराममा करिब १५ सय जनाले स्वास्थ्य परीक्षण गरेको प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेलले बताए । ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्क बजार, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल रत्नपार्क र दक्षिणी नाका बङ्सिलाघाट र रसुवाघाटमा पनि स्वास्थ्यकर्मीसहितको डेस्क राखिएको छ । हलेसी गुफामा सामूहिक पूजामा रोक लगाइएको छ । चैत २० को रामनवमी मेला आयोजना नगर्ने निर्णय नगरपालिकाले गरेको छ ।


महानगरमा सतर्कता


प्रदेश १ को राजधानी विराटनगर महानगरपालिका क्षेत्रमा लाग्ने साप्ताहिक हाटबजार बन्द गरिने भएको छ । शनिबार महानगरले आयोजना गरेको सर्वपक्षीय छलफलमा यस्तो जानकारी दिइएको हो । महानगर मेयर भीम पराजुलीले साताका विभिन्न बार लाग्दै आएका हाटबजारमा धेरै भीड हुने भएकाले तत्कालका लागि बन्द गर्न लागिएको बताए । महानगरका विभिन्न वडामा साताका हरेकजसो बार हाटबजार लाग्दै आएका छन् । पराजुलीका अनुसार सयभन्दा बढी स्वास्थ्य स्वयंसेवकहरूलार्य महानगरका विभिन्न स्थानमा स्वास्थ्य जाँच र निगरानीका लागि परिचालन गर्ने तयारी भइरहेको छ । महानगरले पसलहरूमा देखिने गरी साबुनपानीको व्यवस्था गर्न आग्रह गरेको छ ।


चार एम्बुलेन्स तैनाथ


कोरोना भाइरस संक्रमणको आशंका भएकाहरूलाई क्वारेन्टाइनसम्म पुर्याएन लागि धरानमा ४ वटा एम्बुलेन्स चौबीसै घण्टाका लागि तैनाथ गरिएको छ । एम्बुलेन्स चालक संघ, धरान उपमहानगरपालिका, रेडक्रस सोसाइटी र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहलमा चार एम्बुलेन्स तैनाथ गरिएको हो । धरानका मेयर तिलक राईका अनुसार संक्रमण भएको पाइए उपचारका लागि प्रतिष्ठानमा आइसकेपछि आइशोलेसन वार्ड र प्रदेश सरकारले तोकेको क्वारेन्टाइनमा पुर्‍याउन एम्बुलेन्स प्रयोग हुनेछन् । एम्बुलेन्सले कोरोनाका शंकास्पद विरामी नबोक्ने भएकाले बेग्लै व्यवस्था गरिएको उनको भनाइ छ ।


कोरोनाका शंकास्पद विरामी बोक्ने एम्बुलेन्स चालकलाई व्यक्तिगत सुरक्षा सामग्री उपलव्ध गराउने, मनोवैज्ञानिक परामर्श दिने काम भइरहेको राईले बताए । यसैबीच प्रतिष्ठानका चिकित्सकले कोरोनाबाट बच्ने उपायबारे सर्वसाधारणलाई जानकारी दिएका छन् । डा. समिर चौधरी, डा. प्रमोद वराल, डा. राधा चौधरी, डा. अनिमेष दाहालले उपाय सिकाएका छन् । उनीहरूले घरैमा क्वारेन्टाइनमा बस्ने, साबुनपानीले हात धुने, अरुसँग सम्पर्क नगर्नेजस्ता उपाय बालबालिकालाई सिकाएका छन् ।

प्रकाशित : चैत्र ९, २०७६ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?