कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

आफैंले थालेको कार्यालय भवन निर्माणमा बेवास्ता

ताप्लेजुङ — स्थापना कालदेखि नै घरभाडामा बस्दै आएको फुङलिङ नगरपालिकाले आफैंले थालेको भवन निर्माणमा बेवास्ता गरेको छ । भवनका लागि चालु आर्थिक वर्षमा छुट्याएको मध्ये दुई तिहाईभन्दा बढी रकम संशोधन गरी अन्तै लगाएको छ ।

२ करोड १० लाख रुपैयाँ छुट्याएकामा ८ लाख रुपैयाँ संशोधन गरी मन्दिर निर्माणका लागि खर्चिने भएको छ । शुक्रबार सम्पन्न सातौं नगरसभाले बजेट संशोधन गरेको हो । संशोधित बजेटमा ५७ लाख रुपैयाँ मात्रै भवनमा खर्चिने उल्लेख छ । हेलिप्याड–बसपार्क सडक निर्माणको बिल भुत्तानीकालागि ४३ लाख रुपैयाँ छुट्याइएको छ । संसारी माइ मन्दिर निर्माणमा ४ लाख ५० हजार, अम्विका कालिकादेवी मन्दिर निर्माणमा ३ लाख ५० हजार छुट्याइएको छ ।


जलकन्या प्रावि घेराबारामा १ लाख ५० हजार र मेवाराजा आधारभूत बिद्यालय खेलमैदान पर्खाल निर्माणमा ५० हजार छ । बाँकी १ करोड रुपैंया शहरी स्वास्थ्यकेन्द्र भवनहरू निर्माणमा लगाइने भएको छ । प्रमुख प्रशासकिय अधिकृत महेश तिमल्सिना शहरी स्वास्थ्य केन्द्रको भवन निर्माणमा साझेदारी गर्ने र हेलिप्याड–बसपार्क सडकलाई छुट्याएको रकम नपुगेपछि यही रकम संशोधन गर्नुपरेको बताए । फुङलिङ नगरपालिका ७ दोखुमा नगरपालिकाका लागि एक तलाको भवन निर्माण भइसकेको छ ।


दोश्रो तला निर्माणको क्रममा छ । निर्माण भएको भवनलाई सदुपयोग नगरी नगरपालिका कार्यालय भने वीरेन्द्रचोकमा दुईवटा घरमा भाडामा बसेको छ । सरकारी भवनहरू प्रशस्त हुँदाहुँदै भाडामा नबस्न महालेखाको कार्यालयले सुझाव दिइसकेको छ । तिमल्सिना निर्माणाधिन भवनमा आगामी आर्थिक वर्षदेखि सर्ने योजना रहेको बताउँछन । ‘यो पुरै भवन निर्माणमा ५ करोड लाग्छ, केन्द्रको समपूरक रकमवाट समेतगरी आगामी तीन वर्षमा सक्नेगरि टेण्डर आब्हान गरेका छौं’ उनले भने ।


अहिलेसम्म सम्झौतागर्न नआएका योजनाहरूपनि संसोधन गरेको छ । राजश्व बाँडफाँड केन्द्रको कर्मचारी पारिश्रमिक शिर्षकको ३ करोड ३५ लाख मध्ये २० लाख १० हजार पदाधिकारीको अन्य सुविधा र १० लाख मशलन्द तथा कार्यालय सामग्रीका लागि छुट्याइएको छ । प्रदेशको राजश्व बाँडफाँडको १० लाख विविध, केन्द्रको समानीकरण अनुदानको ७ लाख आवधिक योजना र समानिकरण अनुदानको १८ लाख सुकेटारको सानो पाथीभरा मन्दिर निर्माणमा ६ लाख र बिपद् ब्यवस्थापनमा ९ लाख छुट्याइएको छ । समपूरक कोषको ५० लाखमध्ये ३० लाख रुपैंयाँ निगिजुङ, मेल्लुङ, नाङगे, बरडाँडा, थाङने सडकमा लगाइएको नगर प्रमुख प्याकुरेलद्धारा प्रस्तुत वजेट पुस्तकमा उल्लेख छ ।


प्याकुरेलले बिरेन्द्रमाविकालागि घेराबारामा छुट्याइएको ४ लाख फुङलिङ खेलमैदानको जग्गा खरिदमा र वालमन्दिर प्राविको छाना मर्मतको २ लाख बाटो मर्मतमा लगाइएको उल्लेख गरेका छन । बाँझोगरा निमाविको भवन निर्माणको तीनलाख खानेपानी ट्यांकीको धारा निर्माणका खर्चनेगरी संशोधन गरिएको छ । अन्तिम चौमासिकमा पुग्दा नगरपालिकाले चालु तर्फ ५४.७२ र पूँजीगततर्फ ४३.६२ प्रतिशत प्रगती भएको उल्लेख छ । आन्तरिक आयभने फागुन मसान्तसम्म १ करोड २४ लाख ३७ हजार संकलन भएको छ । यो ९२.१३ प्रतिशत हो । नगरपालिकाले १ करोड ३५ लाख संकलन गर्ने लक्ष राखेको छ । २ सय ५९ मध्ये १ सय १३ योजना फरफारकको अवस्थामा छन् ।

प्रकाशित : चैत्र ९, २०७६ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?