हलेसी गुफामा पूजा आराधना बन्द

डम्बरसिं राई

खोटाङ — कोभिड–१९ महामारीबाट जोगिन हलेसी गुफामा पूजा आराधनामा रोक लगाइएको छ । हलेसी तुवाचुङ नगरपालिका, हलेसी मन्दिर व्यवस्थापन समिति र सुरक्षा निकायको शुक्रबार बसेको संयुक्त बैठकले तीर्थालुलाई गुफाभित्र प्रवेश गरेर पूजा आराधना गर्न रोक लगाएको हो ।

हलेसी गुफामा पूजा आराधना बन्द

हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले भने, ‘कोरोना भाइरस महामारीबाट जोगिन अर्को व्यवस्था नभइन्जेलसम्म गुफामा प्रवेश गरेर पूजाआराधना गर्न रोक लगाइएको हो ।’ उनले भने, ‘तर बाल पूजारीबाट हुने नित्य–नैनित्य पूजा भने हुनेछ ।’

महामारीका कारण आगामी चैत २० गतेको रामनवमी मेला समेत बन्द गरिएको नगरप्रमुख राईले सुनाए । ‘अहिलेलाई मेला बन्द गरिएको छ ।’ राईले भने, ‘अर्को सूचना नभइन्जेलसम्म मेलाहरु पनि बन्द गरिएको छ ।’

हलेसीमा हेल्थ डेस्क

कोभिड–१९ बाट जोगिन हलेसीमा हेल्थ डेस्क सुरु गरिएको छ । हलेसी मन्दिर परिसरमा शुक्रबारदेखि हेल्थ डेस्क राखिएको नगर प्रमुख राईले सुनाए । यसबाहेक हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाडाँको जयरामघाट र ११ राजापानीको रेग्मीटारमा समेत हेल्थ डेस्क राखिने राईले बताए । दुवै ठाउँ नाका भएकाले यात्रुको स्वास्थ्य चेक जाँचका लागि शनिबारदेखि हेल्थ डेस्कको व्यवस्था गरिने छ । ती ठाउँमा सुरक्षाकर्मीहरु समेत खटाइने छ । यसका लागि प्रशासन र प्रहरीसँग समन्वय गरिएको राईले सुनाए ।

प्रकाशित : चैत्र ७, २०७६ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?