मनकारीले बनाइदिए असहायलाई घर

डिल्लीराम खतिवडा

उदयपुर — पिनटिके र लोबहादुर कार्की शारीरिक रूपले अपांग छन् । २० र १४ ववर्षीय पिनटिके र लोकबहादुर दुवै बौद्धिक अपांगता भएका हुन् । उनीहरूकी ४३ बर्षीया आमा गीता बोल्न, हिँड्न र काम गर्न सक्छिन् । तर उनी पनि अपांगता भएकी महिला हुन् ।

मनकारीले बनाइदिए असहायलाई घर

पिनटिके र लोकबहादुरकी ८७ बर्षीया हजुरआमा धनमाया आङ्ग खस्ने समस्याबाट पीडित छिन् । राम्ररी हिँडडुल गर्न सक्दिन । काम गरेर खर्च जुटाउँदै आएका कटारी नगरपालिका २ कल्याणपुरका उनीहरूका पिता डुकबहादुरको जेठमा मृत्यु भएपछि असहाय भए ।


लोकबहादुर उठेर हिंड्न सक्दैनन् । ओछ्यानमै सुतिरहन्छन् । पिनटिके र उनकी आमाको अवस्था पनि उस्तै छ । खोटाङबाट झरेर डुबहादुरले किनेको माटो र काठले बनेको घर भत्किएको छ । घरसगैको ९ कठ्ठा १० धुर जग्गा बाँझै छ ।


उनीहरूको दुःख देख्न नसकेर छिमेकी सावित्रा कार्कीको घर बनाइदिने अठोट गरिछन् । सहयोगी भावना भए पनि एक्लै गर्न सक्ने अवस्था थिएन । त्यसैले उनले सहयोग जुटाउन अभियानै चलाइन् । ‘कहिलेकाहिं घरमा दाल भात पकाएर लगिदिन्थें’, सावित्राले भनिन, ‘पानी पर्‍यो कि उनीहरू भिजे होलान् भनेर ओत लगाइदिन जान्थें ।’ उनले आफूजस्तै मनकारीहरूबाट जुटाएर टिनले छाएको पक्की दुई कोठे घर बनाइदिएकी छन् । घर निर्माण अन्तिम चरणमा पुगेको छ । सवित्राको आग्रहअनुसार साउदी अरबमा रहेका राजन सापकोटाले २८ हजार रुपैयाँ सहयोग गरे । त्यसैबाट घर बनाउन सुरु गरेको सावित्राले सुनाइन् ।


त्यसपछि नगरपालिकाले इँटा र जस्तापाता सहयोग गर्‍यो’ उनले भनिन्, ‘गाउँलेले पनि सहयोग गरे, अनि उनीहरूका लागि घर तयार हुने अवस्थामा आइपुगेको छ ।’ करिब २ लाख रुपैयाँको लागतमा घर निर्माण गरिएको छ । घरसँगै शौचालय बनाउने तयारी छ ।


स्थानीय चिनिमाया कार्कीले सावित्राको सहयोगी मन र आफूहरूको पनि भरथेगले अपांग परिवारका लागि घर बन्न सकेको बताइन् । ‘ओत लाग्ने घर त बन्यो’ उनले भनिन, ‘अब खाने र लाउने समस्या टार्नुपर्ने छ ।’ असहाय परिवारको घर बनाउन गाउँले जुटेको थाहा पाएर इँटा र जस्तापाता सहयोग गरेको कटारीका मेयर ज्ञानेन्द्र श्रेष्ठले बताए ।

प्रकाशित : चैत्र ५, २०७६ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?