‘प्रसारण लाइन बनाउँदागुराँस वन जोगाऊ’

पर्यटकीय क्षेत्र र खानेपानीका मुहान नासिने भन्दै वन क्षेत्रभन्दा बाहिरबाट लैजान सांसदको दबाब
देवनारायण साह

मोरङ — प्रदेशसभा सांसदहरूले ‘गुराँसको राजधानी’ तीनजुरे–मिल्के–जलजले क्षेत्र बाहिरबाट कोसी कोरिडोर २२० केभिए विद्युत प्रसारण लाइन निर्माण गर्नुपर्ने बताएका छन् । प्रदेशसभाको आइतबारको बैठकमा उनीहरूले यस्तो माग गरेका हुन् । संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णु तुम्बाहाम्फेले तीनजुरे–मिल्के–जलजले क्षेत्रमा २८ प्रजातिका लालिगुराँसलगायत बहुमूल्य रुखबिरुवासँगै जैविक विविधता संरक्षण गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराइन् । 

‘प्रसारण लाइन बनाउँदागुराँस वन जोगाऊ’

‘प्रसारण लाइन निर्माण गर्दा तीनजुरे–मिल्के–जलजले क्षेत्रका १० हजार लालीगुराँसको रुख काट्न लागिएकाले यो तत्काल रोक्नुपर्छ,’ उनले भनिन्, ‘प्रसारण लाइन निर्माणका लागि गरिएका प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनसमेत सार्वजनिक नगरी काम थालिएको छ ।’ प्रसारण लाइन निर्माणले वन नष्ट भएपछि गुराँस हेर्न आउने पर्यटक घट्नुका साथै पर्यावरणमा समेत असर पर्ने र पानीका मुहान सुक्ने भएकाले रुट परिवर्तन गर्नुपर्ने उनले बताइन् ।


‘निर्माण कम्पनीले एकलौटी रूपमा लालिगुराँस वन क्षेत्रमा डोजर चलाएर रुखबिरुवा नष्ट गर्दै बाटो बनाउने काम गरेको छ,’ उनले भनिन्, ‘प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनअनुसार वन, सिम, पानी मुहान, पोखरी भएको क्षेत्रमा डोजर चलाउन मिल्दैन ।’ उक्त कोरिडोर निर्माणले वन विनाश हुँदा वसन्तपुर, लसुने, देउरालीलगायत १७ वटा खानेपानीका मुहानहरू सुक्न सक्ने भएकोले त्यसतर्फ सोच्नु आवश्यक रहेको तुम्बाहाम्फेले बताइन् ।


पाँच पोखरीलगायतका ६ वटा पोखरी, ४ वटा धाप र ५ वटा सिम पानीविहीन भएर सुक्खाग्रस्त हुने उनले सुनाइन् । लालिगुराँस नगरपालिका, सामुदायिक वन उपभोक्ता समूहलगायत नागरिक समाजले गुराँस क्षेत्र बाहिर प्रसारण लाइन निर्माणको माग गरी विरोध गर्दै आएका छन् । ताप्लेजुङको तमोर तथा मेवा खोला क्षेत्रमा उत्पादित र उत्पादन हुने तयारीमा रहेको एक हजार मेगावाट विद्युत वसन्तपुरको टुटे सबस्टेसन हुँदै सुनसरीको इनरुवास्थित सबस्टेसनमा जोड्ने गरी प्रसारण लाइन निर्माण भइरहेको छ ।


उक्त प्रसारण लाइनले तेह्रथुमका ६ वटा सामुदायिक र केही राष्ट्रिय वनका गरी १५ हजारभन्दा बढी रुख काटिने आयोजनाले जनाएको छ । लालीगुराँस नगरपालिकाको चैते, तीनजुरे रातपोखरी र चित्रे सामुदायिक वन क्षेत्र भएर प्रसारण लाइन निर्माणका लागि काम भइरहेको छ । वसन्तपुर ढुंगेसाँघु क्षेत्रको प्रसारण लाइनमा पर्ने चैते सामुदायिक वन लगायतका क्षेत्रमा गुराँससहितका रुख कटानका लागि संघीय सरकारले निर्णय गरेको हो ।


एकै स्थानमा २८ प्रजातिका गुराँस फुल्ने यो क्षेत्र गुराँसको राजधानीको रूपमा चर्चित छ । आयोजनाले तेह्रथुमका चार, संखुवासभाका चार र ताप्लेजुङको एक गरी नौवटा सामुदायिक र केही निजी जग्गाको समेत रुख काट्ने तयारी गरिरहेको छ ।

तमोर नदी र मेवाखोला क्षेत्रमा उत्पादित बिजुली टुटेमा बनिरहेको सबस्टेसन हुँदै सुनसरीको इनरुवामा लगेर ढल्केबरबाट आएको ४०० केभीए क्षमताको राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । भारतीय एक्जिम बैंकको ९० मिलियन डलर ऋण सहयोगमा पूर्वका पाँच जिल्लालाई समेट्ने गरी कोसी करिडोर प्रसारण लाइन निर्माण भइरहेको छ ।


उक्त प्रसारण लाइनबाट अरुण–३ बाहेक संखुवासभा, भोजपुर, तेह्रथुम र ताप्लेजुङमा उत्पादन भएको विद्युत राष्ट्रिय प्रसारणमा जोडिनेछ । निजी क्षेत्रका २८ आयोजनाले उत्पादन गरेको ५१६ मेगावाट विद्युत् पनि सोही प्रसारण लाइनमा जोड्ने गरी विद्युत् खरिद सम्झौता गरिएको छ ।

प्रकाशित : चैत्र ३, २०७६ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?