कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

चैतमा रोप्न सकिने जुट बीउ उत्पादन

सुम्निमा चाम्लिङ

इटहरी — जुटबाली अनुसन्धान केन्द्र इटहरीले चैतमा रोप्न सकिने नयाँ जातको जुट बीउको सफल परीक्षण उत्पादन गरेको छ । जुटको गुणस्तर र उत्पादन वृद्धि गर्ने उदेश्यले रानी र जेआरओ २०४ प्रजातिको बीउ तयार गरिएको हो । सामान्यतया वैशाखमा रोपिने जुट अब चैतमा पनि रोप्न सकिनेछ ।

पूर्वी तराईको प्रमुख नगदेबालीको रूपमा चिनिएको जुट खेतीमा किसानको आकर्षण बढाउन जुटको नयाँ बीउ विकास गरिएको जनाइएको छ । अन्य जातको तुलनामा नयाँ जातको जुटको रेसा उपयुक्त मानिन्छ । भारतबाट ५० ग्राम बीउ ल्याएर १० धुर जग्गामा केन्द्रले गत साउनमा रोपेको थियो । लक्ष्य अनुसार बिउ उत्पादन गर्न सफल भएको जुटबाली अनुसन्धान केन्द्रका संयोजक डा. गोविन्द तिम्सिनाले बताए । पाँच केजी बीउ उत्पादन गर्ने लक्ष्य राखेकामा पहिलो चरणमा २० किलो बीउ उत्पादन गर्न सफल भएको उनले जनाए ।


संयोजक तिम्सिनाका अनुसार किसानको आवश्यकतालाई मध्यनजर गर्दै चैतमा रोप्न सकिने बिउ उत्पादन गरिएको हो । नयाँ जातको बीउ रोपेको १ सय २० दिनमा काट्न सकिन्छ । बीउ उत्पादन गर्ने हो भने जेठ र असारमा रोपेर पुसमा तयार हुन्छ । नयाँ जातको यस बीउ १ कठ्ठामा तीन मनसम्म जुट उत्पादन हुन्छ । बाक्लो छर्दा पनि राम्रो उत्पादन हुने भएकाले किसानलाई फाइदा पुग्ने विश्वास केन्द्रको छ ।


उत्पादन भएको नयाँ बीउ किसानको जग्गामा रोप्ने र किसानको प्रतिक्रिया लिइनेछ । प्राविधिकले जाँच गरेपछि भने बीउ बिक्री गरिनेछ । केन्द्रले १२ हेक्टरमा जुट खेती गर्दै आएको छ । यस चालु आर्थिक वर्षमा ८ टन बीउ र ३ टन सुक्खा रेशा उत्पादन गर्ने लक्ष्य राखेको छ ।


किसानको माग बढी भएकाले उत्पादनमा केन्द्रले जोड दिएको छ । केन्द्रले गत वर्ष ५ लाख २५ हजार रुपैयाको जुटको बिउ र सुक्खा रेशा २ लाख ६३ हजार रुपैयाँको बेचेको थियो । उत्पादित जुटको सन्ठीबाट रेसा छुट्याउने प्रविधि जुट पिलिङ मेसिन चीनबाट भित्र्याइएको केन्द्रले जनाएको छ । सन्ठीलाई टुक्राएर रेसा अलग गर्ने काम पिलिङ मेसिनले गरेपछि सानो पोखरीमा रेसालाई डुबाएर १० दिनसम्म कच्चा जुट तयार हुने गर्छ । सन्ठीसँगै पानीमा राखेर रेसालाई अलग गर्नुपर्ने काम किसानका लागि जटिल र समस्या बन्ने गरेको थियो ।


परम्परागत तरिकाबाट जुट कुहाउँदा जुटको गुणस्तर घट्ने गरेको थियो । मेसिनबाट उत्पादन गरिएको रेसाले उचित मूल्य पाउने भएकाले यो प्रविधि फाइदाजनक भएको केन्द्रको भनाइ छ । प्रदेश १ का जिल्लाहरूमध्ये मोरङमा सबैभन्दा बढी जुट उत्पादन हुने गरेको छ । नेपालमा वािर्षक कुल २५ हजार मेट्रिक टन सुक्खा रेशा उत्पादन हुने गरेको छ ।

प्रकाशित : चैत्र ३, २०७६ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?