कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

प्रसारण लाइन लालीगुराँस क्षेत्र बाहिर निर्माण गर्न सांसदको माग

देवनारायण साह

मोरङ — प्रदेशसभा बैठकमा आइतबार सांसदहरुले लालीगुराँसको राजधानी तीनजुरे–मिल्के–जलजले क्षेत्र बाहिरबाट राष्ट्रिय गौरवको आयोजना कोशी कोरिडोर २२० केभिए विद्युत प्रसारण लाइन निर्माण गर्न माग गरेका छन् ।

प्रसारण लाइन लालीगुराँस क्षेत्र बाहिर निर्माण गर्न सांसदको माग

संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी नेतृ विष्णु तुम्बाहाम्फेले तीनजुरे–मिल्के–जलजले क्षेत्रमा २८ प्रजातिका लालिगुराँस लगायतका बहुमूल्य प्रजातिका रुख बिरुवासँगै त्यस क्षेत्रका जैविक विविधताको संरक्षणका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराएकी हुन् । ‘प्रसारण लाइन निर्माणले तीनजुरे–मिल्के–जलजले क्षेत्रको १० हजार लालीगुराँसको रुख काटिरहेकाले तत्काल रोक लगाउनुपर्छ,’ उनले भनिन्, ‘कोशी कोरिडोर निर्माण गरिरहेका निर्माण कम्पनीले प्रसारण लाइन निर्माणका लागि गरिएका प्रारम्भिक वातावरणी परीक्षण प्रतिवेदनसमेत सार्वजनिक नगरी निर्माण काम थालेको छ ।’


प्रसारण लाइन निर्माणले लालीगुराँसको जंगल नष्ट भएपछि वर्षेनी गुराँस हेर्न आउने हजारौं पर्यटकका साथै पर्यावरणमा समेत ठूलो ह्रास आउनुका साथै खानेपानीको मुहान सुकेर पानीको हाहाकार हुने भएकाले तत्काल रुट परिवर्तन गरेर प्रसारण लाइन निर्माण गर्नुपर्ने तुम्बाहाम्फेको भनाइ थियो ।


‘निर्माण कम्पनीले एकलौटी रुपमा लालीगुराँस वन क्षेत्रमा डोजर चलाएर रुखबिरुवा नष्ट गरी बाटो बनाउने काम गरेको छ,’ उनले भनिन्, ‘प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन अनुसार वन, सिम, पानी मुहान, पोखरी भएको क्षेत्रमा डोजर चलाउन मिल्दैन ।’


कोशी कोडोरी प्रसारण लाइन निर्माण आयोजना निर्माण गर्नैपर्ने भएको तर त्योसँगै तीनजुरे–मिल्के–जलजले क्षेत्रस्थित लालिगुराँसको जंगल पनि संरक्षण आवश्यक हरेको तुम्बाहाम्फेको भनाइ थियो । त्यसैले लालीगुराँसको जंगल संरक्षणका लागि प्रसारण लाइनको रुट परिवर्तन अपरिहार्य रहेको उनले बताइन् । ठूला आयोजना सञ्चालनका लागि संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य गर्न, प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन सार्वजनिक, डोजर आतंक बन्द गर्न र जैविक विविधताको संरक्षणका लागि सरकारले तत्काल अनुगमन गरी आवश्यक पहलका लागि उनले ध्यानाकर्षण गराइन् ।

उक्त कोरिडोर निर्माणले वन विनास हुँदा बसन्तपुर, लसुने, देउरालीलगायत १७ वटा खानेपानीका मुहानहरु सुक्न सक्ने भएकोले त्यसतर्फ सोच्नु आवश्यक रहेको तुम्बाहाम्फेले बताइन् । पाँच पोखरीलगायतका ६ वटा पोखरी, ४ वटा धाप र ५ वटा सिम पानीविहिन भएर सुख्खाग्रस्त हुने उनले सुनाइन् ।


लालिगुराँस नगरपालिका, सामुदायिक वन उपभोक्ता समूह लगायत नागरिक समाजले गुराँस क्षेत्र बाहिर प्रसारण लाइन निर्माणको माग गरी विरोध गर्दै आएका छन् ।


ताप्लेजुङको तमोर तथा मेवा खोला क्षेत्रमा उत्पादित र उत्पादन हुने तयारीमा रहेको एक हजार मेगावाट विद्युत् बसन्तपुरको टुटे सबस्टेसन हुँदै सुनसरीको इनरुवास्थित सबस्टेसनमा जोड्ने गरी प्रसारण लाइन निर्माण भइरहेको छ ।


उक्त प्रसारण लाइनले तेह्रथुमका ६ वटा सामुदायिक र केही राष्ट्रिय वनका गरी १५ हजार बढी रुख काटिने आयोजनाले जनाएको छ । लालीगुराँस नगरपालिकाको चैते, तीनजुरे रातपोखरी र चित्रे सामुदायिक वन क्षेत्र भएर प्रसारण लाइन निर्माणका लागि काम भइरहेको छ । वसन्तपुर ढुंगेसाँघु क्षेत्रको प्रसारण लाइनमा पर्ने चैते सामुदायिक वन लगायतका क्षेत्रमा गुराँससहितका रुख कटानका लागि संघीय सरकारले निर्णय गरेको हो ।


एकै स्थानमा २८ प्रजातिका गुराास फूल्ने यो क्षेत्र गुराँसको राजधानीको रूपमा चर्चित छ । आयोजनाले तेह्रथुमका चार, संखुवासभाका चार र ताप्लेजुङको एकगरी नौवटा सामुदायिक र केही निजी जग्गाको समेत रुख काट्ने तयारी गरिरहेको छ ।

आयोजनाले तमोर नदी र मेवाखोला क्षेत्रमा उत्पादित बिजुली टुटेमा बनिरहेको सबस्टेसन हुँदै सुनसरीको इनरुवामा लगेर ढल्केबरबाट आएको ४०० केभीए क्षमताको राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । भारतीय एक्जिम बैंकको ९० मिलियन डलर ऋण सहयोगमा पूर्वका पाँच जिल्लालाई समेट्ने गरी कोसी करिडोर प्रसारण लाइन निर्माण भइरहेको छ । उक्त प्रसारण लाइनबाट अरुण–३ बाहेक संखुवासभा, भोजपुर, तेह्रथुम र ताप्लेजुङमा उत्पादन भएको विद्युत राष्ट्रिय प्रसारणमा जोडिनेछ । निजी क्षेत्रका २८ आयोजनाले उत्पादन गरेको ५१६ मेगावाट विद्युत् पनि सोही प्रसारण लाइनमा जोड्ने गरी विद्युत् खरिद सम्झौता गरिएको छ ।

प्रकाशित : चैत्र २, २०७६ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?