सुक्खा क्षेत्रमा खेती नभएपछि पशुपालन
(कुम्यायक, पाँचथर) — कुम्यायक–१ का गनबहादुर घिमिरेको घरको दायाँपट्टि काठ र बाँसले बनाएको खोर छ । फराकिलो यो खोर खसी र बाख्राका लागि बनाएका हुन् । २३ वटा खसी–बाख्रा उनी बिहान–बेलुका खोर र दिउँसो बारीमा बाँधेर राख्छन् ।
घटबढको क्रम चलिरहन्छ । तौल पुगेका खसी बेच्छन् । पाठा ल्याएर बाँध्छन् । तिनलाई हुर्काईबढाई फेरि बजार पुर्याउँछन् । धेरै त घरैबाट बिक्छ । मतानको फेदमा एक माउ भैंसी र गाई पालेका छन् । दुवै दुहुना हुन् । दूध बेच्न टाढा पुग्नुपर्ने भएकाले घिउ बनाउँछन् र बेच्छन् । यहाँका भक्तबहादुर कार्कीले पनि १७ वटा बाख्रा पालेका छन् । एक माउ भैंसी, गाई, हल गोरु पनि उनको गुवालीमा छन् । प्रत्येक बिहान खेती र जंगलबाट घाँसको भारी ल्याउने कार्की दिनभर भने जंगलमा चरनमा लैजान्छन् । तमोर नदीको तीन/चार किलोमिटरमाथि घर भएका उनी पशुचौपाया चराउन नदी किनारसम्म पनि पुर्याउँछन् । खासगरी पानी पिलाउनका लागि नदीसम्म पुर्याउनैपर्छ ।
गाउँभरिका हरेकजसो घरले कम्तीमा एउटा भैंसी, एक/दुई गाई, एक हल गोरु र एक/डेढ दर्जन खसी, बोका, बाख्रा पालेका छन् । सुक्खाग्रस्त यो क्षेत्रमा खेतबारीमै पनि खेती लगाउन नसक्ने अवस्था भएपछि पशुपालनलाई प्राथमिकतामा राखेका हुन् । सबैले बिहान–बेलुका घाँस दिन्छन् । दिउँसो खेतबारीमा चराउँछन् । चैत/वैशाखजस्तो खडेरीका लागि रूखरूखमा खरुकीजस्ता घाँस टाँगेका छन् । डाले घाँस यो सिजनमा मात्रै खुवाउँछन् । पानी परेर खेती लगाइहाले त्यसको नरुवालाई जोगाएर राख्छन् । खेती नभए पशुचौपाया त्यही ठाउँमा लगेर चराउँछन् । डाले र खरुकीजस्ता काटेको घाँस अलिअलि पानीमा भिजाएर दिन्छन् । ‘जिउनु त पर्यो नि होइन हजुर,’ गनबहादुरले भने, ‘यिनै बाख्रा ब्याउँछन्, पाठा हुर्कायो, खसी पार्यो, हुर्कायो बेच्यो गर्छौं ।’
हरेकजसो घरले पशुपालन बढाएको उनले सुनाए । यो क्षेत्रमा टाँकी, कुटमिरो, बडहरजस्ता डाले घाँसका बुटाहरू प्रशस्तै छन् । खानेपानीका पनि समस्या रहेको क्षेत्रमा डेढ दुई घण्टासम्म धाएर पानी बोकेर पिउनु र पिलाउनुपर्ने बाध्यता छ । अहिले भने लिफ्टिङ प्रविधिबाट पानी ल्याइएको छ ।
प्रत्येक घरमा जडान गरिएको मिटरका आधारमा पानीको बिल तिर्नुपर्ने प्रावधान छ । तमोर नदीबाट ल्याइएको पानीले अब मान्छे र बस्तुभाउलाई काम दिने हर्कबहादुर कार्की बताउँछन् । सुक्खाले ग्रस्त भएको ठाउँमा त्यति मात्रै भए पनि राम्रै मान्नुपर्ने उनले सुनाए । ठूलाठूला टार बारी र खेत रहेको क्षेत्रमा पशुपालन मात्रै गर्न सके पनि खानका लागि मागी हिँड्नु नपर्ने बुझाइ स्थानीयको छ ।
प्रकाशित : फाल्गुन २८, २०७६ १०:०२